|

कपिलवस्तु : पूर्वपश्चिम लोकमार्गमा चल्ने ट्रक र टिपरले बढी दुर्घटना गराएपछि कपिलवस्तुमा टाइम कार्ड लागू गरिएको छ। जिल्लाको चन्द्रौटादेखि रुपन्देहीको मुर्गियासम्म ‘टाइम कार्ड’ लागू गरिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले लोकमार्गमा अत्यधिक गतिमा चल्ने यस्ता सवारी साधनबाट दुर्घटना बढी हुने गरेको गुनासो आउन थालेपछि टाइम कार्डको प्रयोग गरिएको जनाएको छ। 

चालु आवमा भएका सवारी दुर्घटनामा ६० प्रतिशत बढी दुर्घटना ट्रक र टिपरबाट भएकाले सोमबारदेखि टाइम कार्ड लागू गरिएको हो। जसअनुसार ती सवारीले शिवराज नगरपालिका ५ चन्द्रौटादेखि कृष्णनगरसम्म २० किलोमिटर ३० मिनेटमा पुग्नु पर्नेछ। यस्तै चन्द्रौटादेखि कपिलवस्तुको गोरुसिंगेसम्म १९ किलोमिटर ३० मिनेट, गोरुसिंगेदेखि पिपरा १६ किलोमिटर ३० मिनेट र पिपरादेखि रुपन्देहीको मुर्गियासम्म १६ किलोमिटर ३० मिनेटमा पुग्नुपर्ने व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक बाबुराजा पन्तले जानकारी दिए।

टाइम कार्डको चन्द्रौटा,गोरुसिंगे र पिपरा प्रहरीले निगरानी गर्ने पन्तले बताए। टाइम कार्डको उल्लंघन गर्नेलाई सवारी यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने उनले जानकारी दिए। चालु आवको मंसिरसम्ममा ५४ वटा दुर्घटना भएको कार्यालयको तथ्यांकमा उल्लेख छ। यी दुर्घटनाबाट २९ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका थिए। जसमध्ये ११ वटा दुर्घटनामा ट्रक र टिपरको संलग्नता रहेको प्रमुख पन्तले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.