|

सुर्खेत : नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारका जनविरोधी कार्यविरुद्ध प्रतिपक्षको भूमिका प्रभावकारी हुन नसकेको बताएका छन्। दुई तिहाई बहुमतको कम्युनिस्ट सरकार गठन भए यता उसले गरेका अनुचित कार्यहरूको जति डटेर प्रतिपक्ष भूमिका खेल्नुपर्ने हो त्यो हुन नसकेको सिटौलाको भनाई छ। 

मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा कांग्रेसको राजनीतिक प्रस्ताव मस्यौदा कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा बोल्दै नेता सिटौलाले अप्रत्यक्ष रूपमा आफ्नो पार्टीको नेतृत्वको आलोचना गरे। पूर्वगृहमन्त्रीसमेत रहेका सिटौलाले सरकारको वर्तमान कार्यशैली तानाशाही रहेको आरोप लगाए। ‘सरकार जनपक्षीय कार्यभन्दा पनि तानाशाही शैलीमा अघि बढेको छ’, उनले भने, ‘तर प्रतिपक्षको हैसियतबाट हामीले आफ्नो भूमीका निर्वाह गर्न सकेका छैनौँ।’

संविधान कार्यान्वयन गर्दै मुलुकलाई नयाँ युगमा रूपान्तरण गर्नुको साटो उल्टै सरकारले अधिनायकवादी शैली अपनाएको उनले जिकिर गरे। आगामी महाधिवेशनलाई केन्द्रित गरी प्रत्येक प्रदेशमा राजनीतिक मस्यौदा तथा आगामी कार्यदिशाका बारेमा कांग्रेसले कार्यकर्ताको सुझाव लिने उद्देश्यले सिटौला सुर्खेत आएका हुन्। उनले आगामी महासमिति बैठकले नेपाली जनताका निम्ति नयाँ सन्देश दिने दाबीसमेत गरे। 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हृदयराम थानीले विगतका गल्तीको समीक्षा गरी आगामी दिनमा पार्टी शुद्धृढीकरणमा लाग्न सबै नेता कार्यकर्तालाई निर्देशन दिए। उनले आगामी महासमिति बैठकमा कांग्रेसले तीनवटै निर्वाचनमा पराजय हुनुको कारणबारे गम्भीर छलफल गर्नुपर्ने बताए। कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.