तेह्रथुम : समुद्री सतहदेखि दुई हजार ८९० मिटरको उचाइमा अवस्थित गुफापोखरी गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा पर्दछ। तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती पर्यटकीय क्षेत्रमा रहेको यो स्थानमा बाह्रै महिना चिसो हुने गर्दछ। जिल्लाकै सबैभन्दा अग्लो मेन्छ्यायेम डाँडा यस क्षेत्रमा पर्दछ। जहाँबाट सूर्याेदयको मनोरम दृश्य नियाल्न सकिन्छ।
नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस पाइने टिएमजे क्षेत्र प्राकृतिक एवं जैविक विविधताले सजिएको छ। यो क्षेत्र गुराँसका साथै प्राकृतिक ताल र पोखरीले पनि भरिपूर्ण छ। टिएमजे क्षेत्रमा गुफापोखरी, लामपोखरी, सुकेपोखरी, पाँचपोखरी, भुतपोखरी, जोरपोखरी, खोप्किनपोखरीलगायतका थुप्रै रमणीय प्राकृतिक पोखरीहरु रहेका छन्।
तेह्रथुमको वसन्तपुरदेखि माथिल्लो क्षेत्र जलजलेसम्म २० वर्षअगाडि दुई दर्जनभन्दा बढी ताल तथा पोखरीहरु रहेकोमा हाल गुफापोखरी, लामपोखरी, सभापोखरीलगायत केही पोखरी मात्रै अस्तित्वमा रहेको स्थानीयवासी बताउँछन्। यहाँका धेरै बजारहरुको नामाकरण पोखरीकै नामबाट गरिएको पाइन्छ। गुफापोखरीकै छेउमा विस्तार भएको बस्तीको नाम गुफाबजार हो।
प्राकृतिक सुन्दरताले भरिपूर्ण गुफापोखरीको सुन्दर पक्ष भनेको पोखरीमा खसेका पातहरु चराले टिप्ने गरेको गुफाबजारकी हिमा खनालले सुनाइन्। पोखरीमा खसेका पात चराले टिप्ने गरेकाले पोखरी वरिपरि रहेका बोटविरुवाका पात पोखरीमा जम्मा हुन नपाउने हुनाले पोखरी सधैं सफा रहने गरेको उनको भनाइ छ। यस पोखरीमा टाढा टाढाबाट उडेर विभिन्न प्रजातिका चरा बास बस्न समेत आउने गरेको स्थानीय बताउँछन्।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने चौरी हेर्न पाइनुका साथै मकालुलगायतका हिमालको सुन्दर दृश्य देख्न सकिने यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तव्य बन्दै गएको छ। गुराँसको राजधानी, मेन्छ्यायेम डाँडा, गुफापोखरीका साथै यहाँको प्राकृतिक सुन्दरतामा रमाउन आउनेहरुका लागि हाल तेह्रथुमको वसन्तपुरदेखि गुफाबजार हुँदै ताप्लेजुङको साँघु खण्डमा सडक निर्माण भई नियमित सवारी सञ्चालनमा छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।