'झिल्के टोपी लगाएका फोटो शहरमा टाँस्दैमा आफ्नो कार्यक्रम हुन्छ?'

|

काठमाडौंः सरकारले भर्खरै ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रचारप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर कोषको भड्किलो प्रचारमाथि असन्तुष्टि व्यक्त गरेका हुन्।

शर्माले सररकारले सामाजिक सुरक्षा कोषलाई आफैले ल्याएको कार्यक्रम जसरी प्रचार गरेकोमा आपत्ति जनाए। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०७४ सालमा ऐन ल्याएर सामाजिक सुरक्षा कोषको कार्यक्रम ल्याएको भए पनि ११ मंसिरमा वर्तमान सरकारले आफ्नै कार्यक्रम जस्तै पार्टीगत शैलीमा प्रचार गरेको बताए।

कोषको सफलता भड्किलो शैली र झुठो प्रचारले नहुने पनि उनले बताए। ‘नारायण गोपालको गीतको सिडी बजारबाट किनेर ल्याउने, अनि घरमा बजाएर आफैंले गाएको गीत भनेर छिमेकीलाई सुनाएको सुहाउँदैन,’ उनले भने, ‘यो नयाँ युगको सुरुवात पनि होइन, हाम्रै पालाको सरकारले ऐन ल्याएको हो।’ साथै उनले एक दशकमा पटकपटक नयाँ युग नआउने समेत बताए। नयाँ युग ०७ सालमा राणा फाल्ने बेलामा, ०४६ सालमा पञ्चायत फाल्ने बेलामा आएको उनले बताए। 'हामी हुर्कँदै गर्दा एक जुगमा एकपटक नयाँ युग आउँछ भनेर पढ्दै हुर्किएका थियौँ', उनले भने, 'अहिले सोध्ने बेला आएको छ, एक दशकमा कति पटक नयाँ युग आउँछ?' 

साथै उनले सडकमा प्रधानमन्त्रीको फोटो टाँसेर नयाँ युग नआउने बताए। ‘यो कस्तो  नयाँ युग? जहाँ सडकका पोल पोलमा र टोलटोलमा प्रधानमन्त्रीको पोस्टर सझाउन मिल्ने,’ उनले भने, ‘निर्मलाका लागि न्याय चाहियो भन्दै सडकमा पोस्टर टाँस्न पक्राउ पर्नुपर्ने पर्ने, यो कस्तो नयाँ युग?’ 

सामाजिक सुरक्षा कोषलाई कार्यान्वयनमा ल्याउँदै गर्दा स्पाइनल इन्जुरी, किड्नी र क्यान्सरका विरामीलाई जीवन निर्वाह गर्नका लागि मासिक ५ हजार रुपैयाँ दिने कांग्रेसको कार्यक्रमलाई खारेज गर्नु नपर्ने उनले बताए। 'नेपाली कांग्रेसले ल्याएको यो कार्यक्रम झिल्के टोपी लगाएका फोटो आफ्नै कार्यक्रम जस्तो गरेर सहरमा टाँस्दा हुँने', उनले भने, 'तर त्यही कांग्रेस नेतृत्वले ल्याएको जीवननिर्वाह भत्ताचाहिँ खारेज गर्ने?'

साथै उनले खास धार्मिक आस्थामा आधारित आइएनजीओले आयोजना गरेको कार्यक्रममा सरकार नै आयोजकको भूमिकामा संलग्न हुनु र राज्यको स्रोत साधानको प्रयोग हुनु गलत भएको बताए।

शर्माले अब केही समयपछि मेलम्ची आयोजना पूरा हुने र त्यो आयोजना पनि आफ्नै जस्तो गरेर अहिलेको सरकारले प्रचार गर्न सक्ने बताए। ‘मेलम्चीको पानी कृष्णप्रसाद भट्टराईको सोंच थियो,’ उनले भने, ‘अब सरकारले आफ्नै जस्तो गरेर प्रचार गर्न सक्छ। र फेरि नयाँ युगको सुरुवात भनेर प्रचार गर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.