|

काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि सरकारले दोषीलाई कानुनको कठाघारमा ल्याउन नसकेको भन्दै सरकारलाई दबाब दिन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको जनसम्पर्क मञ्च केन्द्रीय समन्वय समितिले आइतबार देशैभर प्रदर्शन गरेको छ। र्‍यालीसहित गरिएको बृहत् प्रदर्शनमा सयौँको सहभागिता रहेको थियो।

हातहातमा सरकार भेटियो न्याय भेटिएन, निर्मलालाई न्याय दे, बलात्कारीलाई फाँसी दे, दोषीलाई छिटो पक्राउ गर, निर्मला पन्तको हत्यारालाई कारवाही गर, वैज्ञानिक समाजवाद स्थापना गरौँ, महिला हिंसा अन्त्य गर, बलात्कारीलाई संरक्षण गर्ने सरकार मुर्दावाद जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका प्रदर्शनकारीको र्‍याली गरेर देश भरका मुख्य शहरमा कोणसभा समेत गरेका थिए। त्यस्तै प्रदर्शनमा सयौँ विद्यार्थीले सहभागीता जनाएका थिए।

तनहुँको दमौलीमा भएको कोणसभामा बोल्दै विप्लव नेतृत्व नेकपाका नेताले वर्तमान सरकारको कडा आलोचना गर्दै निकम्मा र नालायक सरकारको संज्ञा दिएका थिए। बलात्कारीलाई पक्रेर कारवाही गर्न नसक्ने सरकारले ‘निर्मलालाई न्याय दे’ भन्दै टाँसिएको पोस्टर च्यातेर पुरुषार्थ देखाएको नेताले आरोप लगाएका थिए।

दुई तिहाईको ओली सरकार इतिहासकै सबैभन्दा कमजोर र निरीह सरकार भएको उनीहरूले टिप्पणी समेत गरेका थिए। कोणसभामा बोल्ने वक्ताहरुले यस्ता क्रियाकलापले गर्दा नेपाल प्रहरीको क्षमता र कार्यकुशलताप्रति समेत प्रश्न उठाएको बताएका थिए। त्यस्तै बलात्कारपछि हत्या भएको लामो समय बितिसक्दा समेत सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै विप्लव नेतृत्वको नेकपा र अखिल क्रान्तिकारीले सल्यान श्रीनगरमा पनि विरोध प्रदर्शन गरेको हो।

विरोध प्रदर्शनमा विभिन्न विद्यालयका विद्यार्थी विद्यालय पोशाकमै सहभागी भएका थिए। विरोध प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै नेकपा सल्यान इन्चार्ज विश्वले सरकारका उच्च तहका व्यक्तिबाटै निर्मलाको बलत्कार भएकाले सरकारले तिनको बचाउ गरि रहेको आरोप लगाए।

एक बलात्कृत किशोरीलाई न्याय दिन नसक्ने सरकारले जनतालाई पनि न्याय दिनेमा आफू विस्वस्त नभएको बताए। उनले सकारले निर्मलाका हत्यारालाई कारवाही गर्न नसके आफ्नो पार्टीले हत्यारा पत्ता लगाउने र जनताकै अघि कारबाही गर्ने चेतावनीसमेत दिए। त्यस्तै निर्मलाकै न्यायकै लागि सुर्खेतमा पनि प्रदर्शन भएको छ। वीरेन्द्रनगरको मंगलगढी चौकबाट निकालिएको विरोध र्‍याली पिपल चौतारामा पुगेर कोणसभामा परिणत भएको थियो।

विरोधसभामा बोल्दै नेकपाका सुर्खेत इन्चार्ज धुव्र बोगटीले सरकारका मान्छे नै निर्मलाको हत्यामा मुछिएको आरोप लगाए। ‘सरकारका मान्छे नै निर्मलाको हत्यामा मुछिएका छन् नत्र किन सत्य तथ्य सार्वजनिक गर्न सकिरहेको छैन सरकारले,’ उनको प्रश्न थियो। बोगटीले सरकारले निर्मलाको हत्यारालाई कारबाही नगरे आफ्नो पाटीले गर्ने जिकिर गरे।

यता विरातनगरमा पनि विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुरकी निर्मलाका हत्यारा पक्राउ गर्नुपर्ने माग गर्दै विराटनगरमा र्‍याली निकालेको छ। कोशी व्यूरो स्तरीय र्‍यालीमा विप्लव नेतृत्वका नेकपाका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो। विराटनगरको संसारी माइस्थानबाट सुरु भएको र्‍यालीले बजारको विभिन्न स्थान परिक्रमा गर्दै ट्राफिक चोकमा आएर कोणसभामा परिणत भएको थियो।

त्यस्तै निर्मलाको न्यायका लागि महेन्द्रनगरमा पनि विप्लव नेतृत्वको पार्टीले बृहत प्रदर्शन गरेको छ। पुरानो जिल्ला प्रशासन कार्यालयबाट शुरु भएको विरोध प्रदर्शन महेन्द्रनगर बजारको परिक्रमा गर्दै स्मारकमा पुगेर सभामा परिणत भएको थियो।

प्रदर्शनमा शिक्षकदेखि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केही कार्यकर्ता सहभागी थिए। प्रदर्शनमा महेन्द्रनगरका विभिन्न सरकारी तथा निजी विद्यालयका शिक्षक पनि सहभागी रहेका थिए। निजी विद्यालयका शिक्षक र  विद्यार्थी विद्यालय पोशाकमै प्रदर्शनमा सहभागी भएका थिए।

सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का पोलिटव्यूरो सदस्य ओमप्रकास पुनले निर्मलाका हत्याका दोषीलाई सरकारले सुरक्षा दिएर संरक्षण गरेर राखेको आरोप लगाए। 'सरकार लाचार भएको छ' उनले भने, ‘निर्मलाको हत्या भएको चार महिना बितिसक्दासमेत सरकाले हत्यारा पत्ता लगाउन सकेन। यसको नेतृत्व अब जनसरकारले गर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.