|

काठमाडौं : लामो समयदेखि बस्न नसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको तेस्रो बैठक शनिबार बस्दै छ। लामो समयपछि बस्न लागेको स्थायी कमिटी बैठकमा पार्टी एकतालगायतका विभिन्न विषयमा छलफल हुँदै छ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार मध्याह्न १ बजेदेखि बस्ने बैठकका लागि जिल्लाबाहिर रहेका स्थायी कमिटीका सदस्यहरू पनि काठमाडौं आइसकेको नेकपाले जनाएको छ। नेकपा केन्द्रीय कार्यालयबाट कृष्णगोपाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा बैठकको सम्पूर्ण तयारी पूरा भएको उल्लेख गरिएको छ।

यस्ता छन् एजेण्डा

लामो समयपछि बस्न लागेको बैठकमा छलफलमा लागि थुप्रै विषयले प्रवेश पाउने संभावना छ। खासगरी केन्द्रमा पार्टी एकीकरण भए पनि तल्ला कमिटी, जनवर्गीय संगठन, विभागको एकीकरण कार्य बाँकी नै छ।

बैठकमा अध्यक्षहरूको प्रतिवेदन प्रस्तुत हुने नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल बताउँछन्। बैठकमा अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदनमा आउने सबै विषयहरूमा छलफल हुने नेता पोखरेलले बताए। 'बैठकमा अध्यक्षको प्रतिवेदन प्रस्तुत हुन्छ। सरकार, पार्टी, संगठनका कामहरूलगायत सबै विषयहरू आउँछन्। तिनै विषयहरूमा छलफल हुन्छ', नेता पोखरेलले भने।

त्यसो त पार्टी संगठन बैठकको प्रमुख एजेण्डा बन्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश' बताउँछन्। बैठकमा सरकारको समीक्षा पनि हुनेछ।

औपचारिक एजेण्डासँगै अन्य विषयले पनि प्रवेश पाउने नेकपा प्रवक्ता श्रेष्ठ बताउँछन्। 'औपचारिक एजेण्डा त सांगठनिक एजेण्डा, सरकारको समीक्षालगायत नै हो', प्रवक्ता श्रेष्ठ भन्छन्, 'तर अरू विषयहरू बैठकमा गएपछि थाहा हुन्छ। फेरि एजेण्डाको परिमार्जन पनि हुन सक्छ। बैठकको मुख्य एजेण्डा भने सांगठनिक एकीकरण हो। सरकारको समीक्षा दोस्रो एजेण्डा हो।'

सरकारको काम कारबाहीलाई लिएर पछिल्लो समय तीब्र असन्तुष्टि बढेको छ। जनस्तरबाट हुने असन्तुष्टिसँगै सरकारको नेतृत्वमा रहेका नेकपा नेताबाहेक अन्य नेताहरूले खुलेर सरकारले कामै गर्न नसकेको प्रतिक्रिया दिँदै आएका छन्। यो विषयले बैठकमा ठाउँ लिने देखिन्छ।

गएको तिहारकै सन्दर्भमा नेकपाका शीर्ष नेतामध्येका एक वामदेव गौतमले एउटा अन्तर्वार्ता दिँदै यो सरकारले सन्तोषजनक काम गर्न नसकेको र अब सबै दलहरू मिलेर सरकार बनाउनुपर्ने प्रतिक्रिया दिएका थिए। तर तिहारको रमझमको सन्दर्भमा त्यो विषयले खासै ठाउँ पाएन।

यद्यपि, पछिल्लो समय नेकपाका वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरूले मिडियामा सरकारको कामको चर्को आलोचना गर्दै आएका छन्। यस्तो अवस्थामा सरकारको काम कारबारहीलाई लिएर बैठकमा नेताहरूले कुरा उठाउने तयारी छ।

सचिवालयको निर्णयबारे

नेकपाको सचिवालय (हाइ कमाण्ड)मा दुई अध्यक्षसहित नौ जना नेताहरू छन्। नेकपाको अन्तरिम विधानअनुसार सचिवालय कार्यकारी निकाय होइन। सचिवालयले प्रस्ताव तयार पारेर स्थायी कमिटीमा अनुमोदन गराउनुपर्ने हो तर पछिल्ला थुप्रै निर्णयहरू सचिवालयले सर्कुलर गरेपछि नेकपाभित्र असन्तुष्टि बढ्दै गएको छ।

सचिवालय सदस्य नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल विदेशमा भएको बेला नेकपा सचिवालयले सातवटै प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्जको जिम्मेवारी तोकेर अध्यक्ष र सचिव नियुक्त गरेपछि नेता नेपालले छुट्टै भेला गरेर स्थायी कमिटी बोलाउन माग गरे। यसरी बढेको असन्तुष्टि पुनः रोकिएको छ।

नेकपाको अन्तरिम विधानले सचिवालयलाई प्रस्ताव तयार पार्ने अधिकार मात्रै दिएको भए पनि केही विषयहरू सचिवालयले आफैँ निर्णय गरेर सर्कुलर जारी गरिरहेकाले यो अख्तियारको दुरूपयोग भएको नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराई बताउँछन्।

खासगरी प्रदेश कमिटीको प्रस्ताव सचिवालयले तय गरेर सार्वजनिक नै गरिसकेको भन्दै स्थायी कमिटी र केन्द्रीय कमिटीले अनुमोदन नगर्दै नामहरू सार्वजनिक गरिनु प्रक्रियागत ढंगले त्रुटिपूर्ण भएको भट्टराईको भनाइ छ। 'प्रदेश कमिटीका प्रस्तावित नाममाथि व्यापक छलफल गर्छौं। कुन मापदण्डका आधारमा प्रदेश कमिटीको इञ्चार्ज, सहइञ्चार्ज, पदाधिकारी र सदस्य चयन गरियो, त्यसबारेमा छलफल गर्छौं', नेता भट्टराई भन्छन्, 'कमिटी मापदण्डअनुसार नै बनेका छन्, देशभर एउटै मापदण्डमा टेकेर कमिटी निर्माण गरिएको रहेछ। सदस्यहरू चयन भएका हुन् भने ती नाम अनुमोदन पनि होला। अन्यथा प्रस्ताव उल्टिन पनि सक्छन्।'

चार नेताले बैठक छाडेपछि 

गएको मंसिर २२ गते प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको थियो। बैठक दिउँसो ३ बजेका लागि डाकिएको थियो तर दुई अध्यक्षले पूर्वसांसद क्यान्सरपीडित मणि खम्बुसँग भेट्दै थिए।

दिउँसो ३:१५ मा पनि दुई अध्यक्ष बैठकस्थलमा उपस्थित नभएपछि चार नेताहरू दुई अध्यक्षले कुराएर अपमान गरेको भन्दै बाहिरिए। लगत्तै बाँकी सचिवालय पाँच सदस्य बसेर मंसिर २९ गते स्थायी कमिटीको बैठक बोलाएको हो। त्यसयता अब यो विषयले पनि स्थायी कमिटीमा प्रवेश पाउन सक्ने अनुमान गरएको छ।

यो पनि हेर्नुहोस् :

अध्यक्षले कुराएको भन्दै बालुवाटारबाट बाहिरिए नेपाल, खनाल, गौतम र श्रेष्ठ

नेकपाले गराउन सकेन ३३ प्रतिशत महिला सहभागिता

नेकपाका नेताकै नजरमा सरकार

यी हुन् नेकपाका सात प्रदेशका नेता, (पूरा नामावलीसहित)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.