|

तेह्रथुम : लेकाली जंगलमा पाइने लोक्ता र अर्गेलीको बोक्रालाई प्रशोधन गरेर तेह्रथुममा हाते कागज बनाउन थालिएको छ। लालीगुराँस नगरपालिका–१, गैरीगाउँका रत्न तामाङले हाते कागज उद्योग स्थापना गरेर वार्षिक छ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्।

उनले छिमेकीको जग्गा वार्षिक ४० हजार रुपैयाँ भाडामा लिएर एक वर्षअघि जलकन्या हाते कागज उद्योग दर्ता गरी कागज उत्पादन सुरु गरेका हुन्। उद्योग सुरु गरेको वर्ष दिनमै खर्च कटाएर छ लाख रुपैयाँ आम्दानी गरेको तामाङले बताए। उनको उद्योगमा पाँच जनाले रोजगार समेत पाएका छन्। 

हाते कागज बलियो र टिकाउ हुने भएकाले विशेष गरेर अड्डा अदालतमा यसको प्रयोग बढी गरिन्छ। नेपालको देवानी संहितामा नै हाते वा पहाडे कागजमा लेख्नु पर्ने व्यवस्था भएकाले यसको प्रयोग गरिएको अधिवक्ता नारायण लुइँटेलले बताए। 

यस उद्योगमा उच्च गुणस्तरको जापानी प्रविधिबाट हाते कागज उत्पादन हुँदै आएको छ। उद्योगबाट दैनिक एक हजार ताउसम्म उत्पादन हुँदै आएको सञ्चालक तामाङ जानकारी दिए। यहाँ उत्पादित हाते कागज नेपालको विभिन्न बजारका साथै जापान, सिंगापुरलगायतका मुलुकमा समेत निर्यात हुँदै आएको छ। 

दशकौं पहिले उत्पादन हुने गरेको हाते कागज पछिल्लो समय उत्पादन हुन छोडेको थियो। सोही क्षेत्रमा पछिल्लो समय पुनः सञ्चालनमा ल्याई उत्पादन सुरु गरिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.