'वन डे'मा पारसको पहिलो शतक

|
Photo : thenational.ae

काठमाडौं : युएईविरुद्धको पहिलो एकदिवसीय सिरिजमा नेपालले जित हासिल गरेको छ। 

दुबईस्थित आइसिसी एकेडेमीमा भएको सिरिजको तेस्रो खेलमा नेपालले सोमबार युएईलाई चार विकेटले पराजित गरेको हो। यो जितसँगै नेपालले सिरिज २-१ ले जितेको हो।

नेपालको जितमा कप्तान पारस खड्काको उल्लेखनीय योगदान रह्यो। उनले १५ चौका र एक छक्काको मद्दतले १०९ बलमा ११५ रन बनाएका थिए। एकदिवसीय क्रिकेटमा पारसको यो पहिलो शतक हो।

नेपाललाई युएई २५५ रनको चुनौती दिएको थियो। उक्त चुनौती नेपालले ३२ बल बाँकी छदै पूरा गरेको हो। 

नेपालका लागि ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ३५ बलमा ३१, अर्का ओपनर बसन्त भण्डारीले १७ बलमा ९ रन बनाएका थिए। त्यस्तै, दिपेन्द्रसिंह ऐरीले ६ रन तथा सन्दिप जोराले २० बलमा १९ रन, रोहित पौडेलले २४ बलमा १६ रन बनाए।

अन्तिममा क्रिजमा रहेका सोमपाल कामी र आरिफ शेखले क्रमशः २६ र २१ रन बनाएका थिए।

बलिङतर्फ युएईका इमरान हैदर र अस्फाक अहमदले समान २-२ विकेट लिएका थिए। त्यसैगरी मोहम्मद नाविद र कदार अहमदले समान १-१ विकेट लिएका थिए।  

सुरुमा ब्याटिङ गरेको युएईले पछिल्ला ओभरहरूमा अत्यन्तै आक्रमक ब्याटिङ गरेको थियो। त्यसक्रममा युएईका साइमन अनवरले सर्वाधिक ८७ रन प्रहार गरेका थिए। मोहम्मद बुटा ५९ रनमा नटआउट रहे भने सिपी रिजवानले ४५ रन जोडे। मोहम्मद उस्मानले भने २६ रन बनाएका थिए।

 टस जितेर बलिङ रोजेको नेपालका लागि करण केसी र पारस खड्काले समान २-२ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले १-१ विकेट लिएका थिए।

तीन एकदिवसीय श्रृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको थियो। पहिलो खेलमा यूएईले नेपाललाई तीन विकेटले पराजित गरेको थियो। त्यसैगरी दोस्रो खेलमा नेपालले युएईलाई शानदार रूपमा पराजित गरेको थियो। दोस्रो खेलमा नेपालका लागि रोहित पौडेल र सोमपाल कामीले महत्वपूर्ण योगदान दिएको खेलमा नेपाल १४५ रनले विजयी भएको थियो। 

नेपाल र युएईले अब तीन टी-२० श्रृंखला खेल्नेछन्। जसको पहिलो खेल माघ १७ गते बिहीबार हुनेछ।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.