|

सिन्धुली : सडक सवारी दुर्घटना कम गर्न भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सवारी साधनका चालकको स्वास्थ्य चेकजाँचलाई तीव्रता दिएको छ। समुदाय प्रहरी साझेदारी अभियानअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सवारी साधनका चालक, सहचालक र गाडीको यान्त्रिक अवस्थाको चेकजाँचलाई अभियानकै रुपमा संचलान गरेको हो। 

अहिलेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले विपी राजमार्गअन्तर्गत संचालन हुने सवारी साधनका चालक, सहचालक र यात्रुको दुई पटक स्वास्थ्य चेकजाँच गरी सकेको छ। सडक दुर्घटना हुने कारण मध्ये चालकको स्वास्थ्यले पनि असर गर्ने भएकाले सवारी साधनका चालक, सहचालकको स्वास्थ्य चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

विपी राजमार्गमा संचालन हुने सवारी साधनका चालक, सहचालकको ब्लड प्रेसर र आँखाको चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी नायव निरीक्षक बिष्णुबहादुर बस्नेतले बताए। उनले भने, ‘सवारी साधनका चालक, सहचालकको ब्लड प्रेसरेको अवस्था, डाक्टर नै राखेर आँखा पनि चेकजाँच गरेका छौं। आँखाको चेकजाँच गर्दा सामान्य भए औषधि निःशुल्क दिन्छौं। ब्लड प्रेसर हुनेलाई पानी खान दिन्छौं। फ्रेस बनाएर फेरि ब्लड प्रसेर जाँच गरेर गन्तव्यमा पठाउने गरेका छौं।'

चालकको आखाँ जाँच गर्दा चस्मा लगाउनुपर्ने देखियो भने अनिवार्य रुपमा चस्मा लगाउन आग्रह गर्ने उनको भनाई छ । पूर्वी तराईलाई राजधानी काठमाडौंसँग जोड्ने राजमार्गको रुपमा रहेको विपी राजमार्ग साँघुरो, घुमाउरो भएकाले चालकहरू अलि बढी ब्लड प्रेसर भएर चलाउदा दुर्घटना बढ्न सक्ने भएकाले दुर्घटना कम गर्न ब्लड प्रसेर चेकजाँच गरिएको उनको भनाई छ। यसरी चालक र सहचालकको स्वास्थ्य चेकजाँच गर्दा ९० प्रतिशत दुर्घटना न्यूनीकरण हुने उनको दावी छ।

प्रहरीले अभियानअन्तर्गत अहिलेसम्म विपी राजमार्गमा संचालन हुने सवारी साधानका ४०० भन्दा बढी चालक, सहचालकको स्वास्थ्य जाँच गरिसकेको छ। शुक्रबार मात्रै विपी राजमार्गमा संचालन भएका सवारी साधानका १८८ जना चालक सहचालकको स्वास्थ्य जाँज गरिएको उनले बताए। पुष १७ गते २१८ जनाको चेकजाँचमा गरिएको उनले बताए। यो अभियानले चालकहरू र सहचालकलाई फाइदा नै पुग्ने भन्दै हप्तैपछि स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था मिलाउने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.