नेपालविरोधी गतिविधि गरे गैर आवासीय नेपाली नागरिकता खारेज

|

काठमाडौं : गैर आवासीय नागरिकता लिन चाहने व्यक्तिले नेपाली वा नेपालमा बोलिने कुनै एक मातृभाषा जानेकै हुनुपर्ने भएको छ।

नेपालको संविधानको धारा १४ मा गैर आवासीय नेपाली नागरिकता दिनपर्ने प्रावधान रहेको र उक्त व्यवस्थालाई कार्यान्वयन गर्नका लागि ऐन निर्माण गर्न आएको 'नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ को संशोधन'मा उक्त प्रकारको नागरिकता लिनका लागि नेपाली वा नेपालमा बोलिने मातृ भाषा जानेकै हुनुपर्ने व्यवस्था गरिएको छ।

उक्त विधेयकमा सम्बन्धित पक्ष र सरकारसँग छलफल गरेर संघीय संसद प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा 'गैर आवासीय नेपाली नागरिकता पाउने व्यक्तिले नेपाली वा नेपालमा बोलिने अन्य कुनै मातृभाषा जानेको हुनुपर्नेछ' लेखिएको छ।

वि. स.२०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा १२३ भाषा प्रचलनमा रहेका छन्। यी भाषा जानेको गैर आवासीय नेपालीलाई गैर आवासीय नागरिकता प्रदान गरिन लागेको हो।

गैर आवासीय नेपाली नागरिकता सार्क सदस्य राष्ट्र बाहेकका गैर आवासीय नागरिकले प्राप्त गर्नेछन। संविधानको धारा १४ मा उक्त प्रकारको नागरिकतासम्बन्धी व्यवस्था गरिएको छ। संविधानमा लेखिएको छ, 'विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको आमा, बाजे वा बजै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैर आवासीय नागरिकता प्रदान गर्न सकिनेछ।'

विदेशमा नै जन्मिएका गैर आवासीय नेपाली नागरिकका सन्तानलाई नेपाली भाषा नआउने भएकाले गैर आवासीय नागरिकताका लागि भाषाको बाध्यात्मक व्यवस्था राख्न नहुने लबिङ भएको थियो। सांसदहरूमार्फत नै भएको त्यस्तो लबिङलाई अस्वीकार गर्दै नेपाली पहिचान हुनुपर्ने भन्दै नेपाली वा नेपालमा बोलिने मातृभाषा जानेकै हुनुपर्ने व्यवस्था गरिएको एक सांसदले बताए।

विधेयकको दफावार छलफलका क्रममा सांसदहरू यशोदा गुरुङ, अन्जना विसंखे, बिन्दा पाण्डे, छक्कबहादुर लामा, रामसहायप्रसाद यादव, झपट रावल, रामकुमारी झाँक्रीले नेपालमा बोलिने कुनै एक भाषा जानेकै हुनुपर्ने व्यवस्था कानुनमा गर्नुपर्ने माग गरेका थिए।

नेपालविरोधी गतिविधि गरे खारेज हुने

गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताविपरीत काम गरे कारबाहीको व्यवस्था गरिएको छ।

सरकारले त्यस्तो गैर आवासीय नागरिकता लिएको व्यक्तिले नेपालको विरुद्धमा काम गरेको सरकारलाई लागेको खण्डमा त्यस्तो नागरिकता सरकारले स्वतः रद्द गर्नेछ। 'नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताविपरीत कार्य गरेको ठहरर्मा नेपाल सरकारले त्यस्तो व्यक्तिले प्राप्त गरेको गैर आवासीय नेपाली नागरिकता रद्द गर्न सक्नेछ/गर्नेछ' भनेर विधेयकमा लेखिएको छ। विदेशमा रहेर नेपालविरोधी गतिविधि हुने गरेका र भविष्यमा पनि यस्ता गतिविधि हुने आशंकामा गैर आवासीय नेपाली नागरिकता खारेजीको प्रावधान राखिएको हो।

कसरी लिने गैर आवासीय नेपाली नागरिकता?

गैर आवासीय नेपाली नागरिकता गृहमन्त्रालय वा तोकेको निकायबाट प्रदान गरिनेछ। सांसदहरूले भने 'तोकिएको निकाय' नभनेर गृह मन्त्रालय मातहतका निकाय नै लेख्नुपर्ने माग गरेका थिए।  

दफावार छलफलका क्रममा सांसदहरूले गैर आवासीय नागरिकता लिन नेपाल नै आउनुपर्ने व्यवस्था राख्नुपर्ने माग गरेका थिए। सांसदहरूले विदेशस्थित नेपाली राजदूतवास वा कुटनीतिक नियोगबाट गैर आवासीय नेपाली नागरिकता दिन नहुने व्यवस्था ऐनमा नै राख्नुपर्ने धारणा राखेका थिए।

सम्बन्धित समाचारः 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.