|

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–२ कारीगाउँ जाने मुख्य प्रवेशद्वार निर्माण सुरु भएको ५ वर्ष पूरा हुँदासमेत अलपत्र परेको छ। शहीद भीमदत्त पन्तको जन्मथलो कारीगाउँमा आर्थिक वर्ष २०६९/०७० देखि शहीद भीमदत्त स्मृति प्रतिष्ठानले उक्त प्रवेशद्वार निर्माणको काम सुरु गरेको हो। तर अहिले प्रवेशद्वार निर्माणको काम अलपत्र परेको छ। नेपाल पर्यटन बोर्डको २ लाख, अमरगढी नगरपालिकाको १ लाख सहयोग र शहीद भीमदत्त स्मृति प्रतिष्ठानको ५० हजार गरी जम्मा ३ लाख ५० हजारको लागतमा प्रवेशद्वार निर्माण कार्य सुरु भएको थियो।

उक्त प्रवेशद्धार शहीद भीमदत्त स्मृति प्रतिष्ठानले निर्माण गरिएको हो। आर्थिक स्रोत कहिँकतैबाट नजुटेपछि निर्माण कार्य रोकिएको शहीद भीमदत्त स्मृति प्रतिष्ठानका कार्यवहाक अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए। ‘हामीले यहाँ प्रवेशद्धार निर्माण गरिरहेका थियौं। उनले भने,–‘बीचमा कहिँकतैबाट आथिर्क सहयोग भएन र बीचमै निर्माणको काम रोकियो।’

आर्थिक अभावका कारणले गर्दा बाँकी निर्माण रोकिएको हो। प्रवेशद्धारको माथि भीमदत्तको सालिकसहित बनाउने योजना रहेको भए पनि आर्थिक अभावले गर्दा पूर्ण काम हुन सकेको छैन। अमरगढी नगरपालिकाले शहीद भीमदत्त पन्तको जन्मथलो कारीगाँउलाई आदर्श वस्तीका रुपमा विकास गर्दै जाँदा ५ वर्ष अगाडि सुरु भएको प्रवेशद्धारको निर्माण सक्दो चाँडो हुनुपर्ने स्थानीय प्रदीपकुमार पन्तको माग छ।

‘भीमदत्त आर्दशबस्तीका नाममा नगरपालिकाल विभिन्न कार्यक्रमहरु ल्याएको छ। भीमदत्त पन्तकको प्रवेशद्धारको अवस्था ५/६ वर्षदेखि निर्माणधीन अवस्थामै छ।’ उनले भने, ‘अहिले कुनै पनि निकायबाट यसको काम सुचारु गर्न पहल भइरहेको छैन। चाँडोभन्दा चाँडो नगरपालिकादेखि लिएर सम्बन्धित निकायले यसको काम सुरु गरोस् र पूर्णता दिइयोस्।’

बजेट अभावका कारण निर्माण सुरु गरिएको प्रवेशद्धार बिचमै अलपत्र परेको यहाँका स्थानीय बासिन्दा बताउँछन्। स्थानीय तहमा स्थानीय सरकार आइसके पनि प्रवेशद्धार निर्माणमा कसैले चासो नदिएको स्थानीय डम्मरुदेवी पन्तको गुनासो छ। निर्माण सुरु भएको पाँच बितिसक्दा पनि प्रवेशद्धार निर्माण हुन नसक्नु दुःखद भएको उनको भनाइ छ।

‘भीमदत्तको नामबाट यो बनेको हो। अहिलेसम्म पनि काम अधुरै अवस्थामा छ। यहीँ बाटो भएर यताउता जाने मान्छेले पनि अधुरै काम देख्छन्।’ उनले भनिन्–‘यो समयमै बनिदिएको भए हामीलाई पनि खुशी लग्थ्यो। आहा! भीमदत्तको बस्तीमा राम्रो गेट बनेको छ भनेर नाम पनि हुन्थ्यो।’

पहल भइरहेको छ : स्थानीय सरकार

यस विषयमा अमरगढी नगरपालिकाले भने प्रवेशद्धारा निर्माण सम्पन्न गर्नका लागि पहल गर्ने जनाएको छ। यस वर्ष नै शहीद भीमदत्त पन्तको जन्मस्थानलाई आदर्श बस्तीका रुपमा घोषणा गरेकाले प्रवेशद्धार निर्माणसंगै अन्य गतिविधि समेत संञ्चालन गरिने अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए।

‘भीमदत्त जन्मेको कारीगाउँलागयत समग्र वडा नं. २ लाई आदर्श वडाका रुपमा विकास गर्ने योजना बनाएका छौं। योलगायत अन्य अधुरा विकासका पूर्वाधारहरुलाई विशेष योजनाका साथ अगाडि बढाउँछौं।’ नगरप्रमुख ओझाले भने,–‘यो भीमदत्तको गेट निर्माण पाँच वर्षदेखि अधुरै रहेको रहेछ। नगरपालिकाबाट आवश्यक बजेटको व्यवस्था मिलाएर यसको बाँकी रहेका कामलाई अगाडि बढाउँछौं।’

को थिए भीमदत्त?

नेपाली किसान आन्दोलनका शहीद भीमदत्त पन्त डडेल्धुराको अमरगढी–२ कारीगाउँमा १९८३ मंसिर १० गते जन्मिएका हुन्। उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत विषयमा हाइस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो। यसले नै उनमा राजनीतिक चेतना बढायो। सामन्ती संस्कारका विरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पनि थिए भीमदत्त पन्त।

‘ठालु खान्ना आलु गरिब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात, भकारी फोड’ अभियान चलाएका थिए पन्तले। भीमदत्त पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्वपूर्ण विद्रोही नाम पनि हो। ‘जसको जोत, उसको पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’, ‘कि त जोत हलो, कि त छोड थलो– यदि हैन भने हुने छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका थिए उनले।

किसान योद्धाका रूपमा चिनिने पन्तको वि.सं. २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो। वि.सं. २०७२ फागुन १९ गते मात्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रूपमा भीमदत्त पन्तलाई शहीद घोषणा गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.