|

पोखरा : पोखरा महानगरलाई तिर्नुपर्ने कर नतिरेपछि पोखराको आकाशमा प्याराग्लाइडिङ उडान भर्दै आइरहेका दुई कम्पनी बन्द भएका छन्। पोखरा महानगरले पटकपटक कर तिर्नका लागि म्याद थप गरेपनि अटेर गर्ने एड्भान्स प्याराग्लाइडिङ कम्पनी र गोल्डेन हेभन प्याराग्लाइडिङ कम्पनी बन्द गरिएको पोखरा महानगरका सूचना अधिकारी गंगालाल सुबेदीले जानकारी दिए।

‘अति नै पेल्न थालेपछि महानगरले ती कम्पनीलाई बन्द गरेको हो,’ सुबेदीले भने, ‘म्याद पनि उनीहरुले भने अनुसारकै थपेकै हो तर पनि टेरेनन र बन्द नै गर्ने स्थितीमा पुग्यौँ। अरु पनि अटेर गर्ने कम्पनीहरु बन्द हुन्छन्।’ पोखरामा हाल ४० वटा कम्पनीले ब्यवसायिक उँडान भर्दै आइरहेका छन्। ३५ वटा कम्पनीले नविकरण गरेको महानगरले जनाएको छ।

प्रत्येक कम्पनीले वार्षिक रुपमा करबापत एक लाख २५ हजार रुपैयाँ पर्यटन वापत कर तिर्नुपर्नेहुन्छ। एक लाख २५ हजार रुपैयाँ मध्ये २५ हजार महानगरलाई र एक लाख प्रदेश सरकारले तोकेको पर्यटन शूल्क शिर्षकको हो। सो रकम वडा कार्यालयले वा पोखरा महानगरपालिका जहाँ बुझाएपनि हुने उल्लेख गरिएको छ।  आर्थिक वर्ष २०७२–०७३ र २०७३–०७४ मा प्रत्येक कम्पनीले नेपाल सरकारलाई कर बापत जम्मा पाँचहजार पाँचसय रुपैयाँमात्र बुझाउँथे। पछि बढेर आर्थिक वर्ष २०७४–०७५ मा बढेर वार्षिक कर ५० हजार रुपैयाँ पुगेको थियो। त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा बढेर प्रदेश सरकारले पर्यटन शूल्क शिर्षकमा एकमुष्ट एक लाख २५ हजार रुपैँया बुझाउनुपर्ने नीति ल्याएको हो।   

पोखराको आकाशमा प्याराग्लाइडिङ उँडानको लागि भने नेपाल नागरिक उड्ययन प्राधिकरण पोखरामा दर्ता हुने कम्पनीको संख्या ६० कटेको छ। यो मध्ये पनि ५६ वटाले पोखरा महानगरपालिकाबाट पनि स्वीकृत लिएका छन। महानगरपालिकाबाट स्वीकृत लिने मध्यपनि ४० वटा कम्पनीका प्याराग्लाइडिङ मात्रै पोखराको आकाशमा ब्यवसायिक उँडान भरिरहेका छन्। पोखरामा सरकाङ्कोटसँगै तोरीपानी र मान्द्रे ढुंगाबाट प्याराग्लाइडिङको ब्यवसायिक उँडान भर्दै आइरहेका छन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.