|

उदयपुर : स्थानीयस्तरबाट विरोध भएपछि वर्षौंदेखि सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी कमला डाइभर्सन परियोजना गुमनाममा परेको छ। नेपाल-भारत सरकारको संयुक्त योजनामा सम्पन्न हुने सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी कमला डाइभर्सन परियोजनाको डिपिआर गर्ने काम गुमनाममा परेको हो।

सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी कमला डाइभर्सन परियोजनका नेपाल तर्फबाट प्रमुख परियोजना संयाेजक प्रदीपकुमार साहका अनुसार स्वर्गीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणका बेला सन् १९९१ डिसेम्बरमा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्ने सहमति गरेका थिए। त्यही परियोजना गुमनाममा परेको साहको भनाइ छ। सन् २००४ देखि डिपिआर गर्ने काम भएपछि सकिएको छैन।

पछि नेपाल भारतका विभिन्न छलफलमा सन् २०१३ फेब्रुअरीभित्र सक्ने भनेपछि अहिले सन् २०१९ भित्र पनि नसकिएको उनले बताए। सन् २००४ मा विराटनगरमा नेपाल-भारत दुवै मुलुकका प्राविधिकको संयुक्त अन्वेषण कार्यालय स्थापना गरेको छ। उनका अनुसार पुनः पछिल्लो पटक सन् २०१७ को जुन महिनामा म्याद थप गर्दा पनि डिपिआर हुन नसकेकाे हो। 

यस्तो छ विरोधको रहस्य

उदयपुरको बेलाका नगरपालिका र सुनसरीको बराहा नगरपालिका बीचमा पर्ने सप्तकोसीमा २६९ मिटर अग्लो बाँध बनाउन सप्तकोही पूरै थुनिन्छ। पूर्वी नेपालका कोसी क्षेत्रका १० जिल्लाका करिब साविकका ७० गाउँ विकास समिति प्रभावित हुने भएपछि विरोध भएको थियो। जसको कारण सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी कमला डाइभर्सनको काम प्रभावित भएको साहको भनाइ छ। स्थानीय जयकृष्ण राईले आयोजनाको अध्ययन कार्यमा प्रारम्भदेखि नै स्थानीय तहमा विरोध भएको बताउँछन्। उनले भने, ‘२०६४ साल जेठ महिनादेखि विभिन्न संगठित समूह र सरोकालवाला समूहको विभिन्न मागसँगै विरोध गरेँ, त्यही कारण रोकिएको हो।’ विरोधकै कारण दुवै देशले एकसाथ डिपिआरका लागि अन्वेषण गर्ने कार्य पटक पटक रोकिएको छ।

नेपाललाई के हुन्छ फाइदा

उच्च बाँध बहुउद्देश्यीय परियोजना तथा सुनकोसी कमला डाइभर्सनबाट नेपालको करिब ४६ लाख र भारतको ७६ लाख हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने छ। ‘भारतले सन १९९१ मा गरेको प्रारम्भिक प्रतिवेदनअनुसार सोही परियोजनाबाट तीन हजार ३०० मेघावाट विद्युत उत्पादन हुने र कमला नदीमा निर्माण हुने बाँधबाट ३२ मेघावट उत्पादन हुने उल्लेख गरेको छ।

सप्तकोसीमा २६९ मिटर अग्लो बाँध बनाउँदा भारतलाई धेरै फाइदा हुने भएपछि विरोध भएको थियो। साहका अनुसार वातावरण संरक्षण ऐन २०५३ र वातावरण संरक्षण नियमावली २०५४ अनुसार वातावरणीय अध्ययन गरिने तयारी थियो। स्थानीय तहको आर्थिक, सामाजिक, सांस्कृतिक, स्वास्थ्य, बसोबास, खेतीयोग्य जमिन, सामुदायिक वन, मठमन्दिर, जीविकोपार्जन, पुरातात्त्विक संरचना तथा भौतिक र जैविक वातावरणीय पक्षहरू कुरा उठाउँदै विरोध भएको थियो। 

यस्तो छ जाइकाले तयारी पारेको प्रतिवेदन

सप्तकोसी उच्च बाँधमै पुनः अर्को जाइका नाम प्रतिवेदनसमेत जोडिएको छ। १९८१ मा केन्द्रीय जल आयोग भारतबाट यो आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारिएपछि नेपाल सरकारको अनुरोधमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले कोसी नदी बेसिनको जलस्रोत विकाससम्बन्धी गुरुयोजना तयार पारेको प्रमुख साह बताए। ‘१९८३ देखि १९८५ सम्मको दुई वर्षको अवधिमा नेपाल सरकारको अनुरोधमा जापानको जाइका कम्पनीले कोसी नदी बेसिनको जलस्रोत विकाससम्बन्धी गुरु योजना छ’, उनले भने, ‘नेपाल सोही जाइकाको सम्भाव्यता अध्ययन प्रतिवेदनको आधारमा गर्ने छ।’

जुन जाइकाले तयार पारेको प्रतिवेदनले २४० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना र सुनकोसी बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउन सुझाव दिँदै कोसी बेसिनमा रहेका ५२ वटा जल विद्युत आयोजनाबाट नेपालले १० हजार ९०९ मेगावाट विद्युत उत्पादन गर्न सक्ने सम्भावना देखाएको छ। त्यसमध्ये १३ वटा आयोजनालाई पहिलो प्राथमिकतामा राखेको छ।

प्रतिवेदनअनुसार सप्तकोसी नदीमा २३९ मिटर अग्लो बाँध निर्माण गरी त्यसबाट ३ हजार ४८९ मेगावाट क्षमताको विद्युत् निकाल्न सकिने प्रष्टयाएको छ। त्यसैगरी, दूधकोसी र सुनकोसीको दोभानभन्दा डेढ किलोमिटर तल्लो तटमा ४९ मिटर अग्लो बाँध निर्माण गरी सुनकोसी नदीलाई कमला नदीमा मिसाउने योजना पनि समावेश गरिएको थियो। प्रतिसेकेण्ड ७२ घनमिटर पानीको वहाव रहेको आयोजनालाई सुनकोसी स्टोरेज कम डाइभर्सन आयोजना भन्ने नाम दिइएको छ। 

के हो सुनकोसी कमला डाइभर्सन परियोजना

सुनकोसी कमला डाइभर्सन १६.६ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माण गरी उदयपुरको कटारी नगरपालिकास्थित खाडीखोप भन्ने स्थानमा पानी पुर्‍याउने भनिएको छ। जहाँबाट ६१.४ मेगावाट क्षमताको विद्युत उत्पादन गर्न सकिने भए पनि सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी कमला डाइभर्सन परियोजना हो। यसका साथै उदयपुरको तिम्नाई र बलौटे गाउँनजिकै कमला नदीमा ५१.५० मिटर अग्लो बाँध निर्माण गरी ४२.५८३ वर्गकिलो मिटरको क्षेत्रफलमा फैलिन सक्ने जलाशयबाट पनि ३२ मेगावट क्षमतमको विद्युत आयोजना सञ्चालन गर्न सकिने जाइकाको प्रतिवेदनमा भएको साहले जानकारी दिए। 

उक्त आयोजनाबाट कमला नदीदेखि पूर्वतर्फ सप्तरीको खाडो नदीसम्मको भूभाग तथा कमला नदीदेखि पश्चिमतर्फ पर्सा जिल्लाको उडिया नदीसम्मको सुख्खा जमिनमा सिँचाइ पुग्ने जनाइएको छ। सप्तकोसीमा २६९ उच्च बाँध निर्माण गरेपछि मात्र सुनकोसी कमला डाइभर्सन निर्माणमा सहयोग पुग्ने भएकाले सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी कमला डाइभर्सन परियोजना नाम दिइएको बताइन्छ।

कहाँ कति मेघावटाका जलविद्युत

सोही प्रतिवेदनका अनुसार १४७ मिटर अग्लो बाँध सुनकोसी १ जलाशयबाट एकहजार ३५७ मेगावाट, १६६ मिटर अग्लो बाँधको सुनकोसी २ जलाशयबाट एकहजार ११० मेगावाट, १४० मिटर अग्लो बाँध बाँधी सुनकोसी ३ बाट ५३६ मेगावाट, १५३ मिटर अग्लो बाँध बाँधी तमोर १-बाट ६९६ मेगावाट, अरुण-१ बाट १४६ मेगावाट, अरुण-२ बाट  २३९ मेगावाट, अरुण-३ बाट २४० मेगावाट विद्युत उत्पादन गर्न सकिने प्रतिवेदन जाइकाले दिएको थियो। 

यता, भोटेकोसी-१ बाट १४६ मेगावाट, तामाकोसी-२ बाट १९६ मेगावाट, तामाकोसी-३ बाट १२३ मेगावाट, दूधकोसी-१ बाट २२८ मेगावाट, खिम्तिखोला १४९ मेगावाट क्षमताका विद्युत् आयोजना सञ्चालन गर्न प्रतिवेदनमा देखाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.