|

धनगढी: ‘तपाईंलाई त अल्लि सन्की स्वभावको भन्छन् नि’ मैले सोधेँ, उनी मुस्कुराइन्। पहिलो भेटको पहिलो प्रश्न नै सायद चित्त बुझेन होला तर पनि कुराकानीको सुरुवात यही प्रश्न र प्रसङ्गबाट सुरु भयो। ‘सिधा सिधा कुरा भन्छु। गलत सहन सक्दिन। राम्रोको लागि लड्छु त्यसैले सायद त्यस्तो भनेका होलान्।’ उनले हाँसेरै उत्तर दिइन्।

मुख्यमन्त्री कप खेल्न प्रदेश १ बाट सुदूरपश्चिम पुगेकी थिइन् रुविना क्षेत्री। ७ वर्षदेखि नेपाली महिला राष्ट्रिय टोलीको कप्तानी गरेकी रुविना सुदूरपश्चिममा क्रिकेट क्रेज देखेर औधी खुसी भइन्। ‘यहाँ त क्रिकेटको ठुलो सम्भावना रहेछ' उनले भनिन्- 'खासमा देशैभर यस्तो भइदिए हामी कहाँ पुग्नेथियौं।’ 

पुरुष टोलीमा उत्कृष्ट खेलाडी जन्माएको सुदूरपश्चिमले महिलाहरू पनि कैयौँ जन्माएको छ। पहिलो खेलमा कर्णाली प्रदेशलाई २२७ रनले पन्छाएको सुदूरपश्चिमको महिला क्रिकेट टोलीले अन्तिम खेलमा रुविनाको टोलीलाई पन्छाउँदै उपाधि चुम्यो। ‘यहाँ त क्रिकेटको क्रेज रहेछ’ फेरि रुविनाबाट त्यही शब्द दोहोरियो।

यसरी उदाइन् उनी

सानैदेखि भलिबल र टेबल टेनिसमा रुचि राख्ने रुविनाको क्रिकेट मोह उनका दाजुका कारण सुरु भएको हो। उनका एक्ला दाजु पवन क्षेत्रीले पनि पूर्वाञ्चलबाट राष्ट्रिय प्रतियोगिता खेलेका छन्। सधैँ उनीहरू खेलेको हेरिरहने रुविनालाई एक दिन उनकै दाजुले बल र ब्याट दिए। ‘कति हेर्छेस् मात्रै हिँड् खेल्न दाइले भन्यो’ उनले भनिन्, ‘त्यसपछि म नियमित खेल्न थालेकी हुँ।'

कक्षा ५ मा पढ्दादेखि रुविनालाई क्रिकेट मोहले छुन थाल्यो। त्यो बेला केटीहरू कसैलाई यसको चासो थिएन। उनी एक्लै दाजुहरूको टिमबाट केटाहरूसँग खेल्न थालिन्। सुरुसुरुमा त जिस्काए। बिल्ला गरे। पछि त जिस्काउन पनि छोडे।

कैयौँ दिन खाना छोडेर सानातिना प्रतियोगितामा भाग लिन उनी पुग्छिन्। बाजी लगाएर खेल्थिन्। उनलाई दाइको टिमबाट मलाई बलिङ गराउँथे। खेल हो, कहिले हार त कहिले जित हुन्थ्यो।

क्रिकेट मोह बढ्दै गएपछि मिलन क्रिकेट एकेडेमी र मेची क्रिकेट एकेडेमीबाट उनी व्यवसायिक रूपमा खेल्न थालिन्।

विस्तारै पूर्वाञ्चलको टिममा परिन्। पाँचौँ राष्ट्रिय खेलकुदमा पूर्वाञ्चलबाट नेपालगन्ज आएकी रुविनाले त्यतिबेला बलियो रहेको नेपालगन्जको महिला टोलीविरुद्ध ६ विकेट लिएकी थिइन्। उनको त्यो खेलले उनी राष्ट्रिय टोलीमा छनोट भइन्। 

अन्तर्राष्टिय डेब्यूमै ह्याट्रिक

सन् २००९ मा मलेसियामा एसीसी महिला टी–२० प्रतियोगिता थियो। १६ वर्षमै राष्ट्रिय टिममा स्थान बनाइन्। नेपाल र सिङ्गापुरबीचको खेल निकै रोमाञ्चक भइरहेको थियो। खेलको अन्तिम ओभरमा सिङ्गापुरलाई जितको लागि ६ बलमा दुई रन आवश्यक थियो। उता सिङ्गापुरसँग ५ विकेट बाँकी थियो। यस्तो अवस्थामा क्याप्टेन रितु बनौजियाले उनलाई बलिङ गर्न दिइन्। उनी सङ्कटमा परिन् कसरी रोक्ने २ रन! उनले पहिलो बलमा रन दिइनन्। अनि दोस्रो, तेस्रो र चौथो बलमा लगातार विपक्षी खेलाडीलाई आउट गरी ह्याट्रिक गरिन्। पाँचौँ बल वाइड फ्यालेपछि खेल बराबरीको स्थितिमा पुग्यो। अनि बाँकी दुई बलमा पनि उनले दुवै विकेट लिइन्। 

खेल टाई भएपछिको सुपर ओभरमा नेपालले खेल जित्यो। पहिलो अन्तर्राष्ट्रिय सहभागितामा पाँच बलमा पाँच विकेट लिएर नेपाललाई खेल जिताउने खेलाडी हुन् रुविना। 

सन् २००९ मा अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेकी रुविना सन् २०१२ देखि महिला क्रिकेटलाई सम्हालिरहेकी छन्। 

नयाँ पुस्ताको चिन्ता

उनलाई आफ्नो पुस्तापछि राष्ट्रिय टोली कता जाने हो भन्ने चिन्ता छ। सन् २००९ मा अन्तर्राष्ट्रिय खेल खेल्न थालेकी रुविना र त्योभन्दा पहिले सन् २००६ देखिएका नेरी थापा, सिता राना मगर, सरिता मगर जस्ता खेलाडीहरूले सम्हालिरहेको क्रिकेटलाई अब कसले सम्हाल्ला भन्ने उनको चिन्ता छ। 

सन् २०१० को एसीसी यु–१९ महिला क्रिकेट प्रतियोगितामा उपकप्तानको भूमिकामा रहेकी रुविनाले सन् २०१२ मा नेरी थापाको स्थानमा महिला टी–२० एसिया कपमा राष्ट्रिय टोलीको नेतृत्व हात पारिन्। ७ वर्षसम्म सफल कप्तान रहेकी रुविनालाई अबको बाटो भने सहज छैन। पुरानै पुस्तामा रहेको महिला क्रिकेटलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैभन्दा ठुलो चुनौती हो। ‘२/३ वर्ष भित्रै सन्न्यास लिने सोचमा छु’ गम्भीर हुँदै उनले भनिन्, ‘तर, नयाँ जेनेरेसनलाई महिला क्रिकेटमा खासै चासो छैन।’

सरकारले महिला क्रिकेट प्रवर्द्धनमा चासो नदेखाएको उनको आरोप छ। ‘अझै पनि २ वर्ष हामी धान्न सक्छौँ त्यसपछिको पुस्तालाई कसले तयार गरिदिँदै छ। सरकारले चासो दिनु पर्‍यो ’ उनले भनिन्, ‘राष्ट्रिय खेलाडी उत्पादनमा ध्यान नदिने हो भने केही वर्षपछि आईसीसीले नेपालमा महिला खेलाडी खोज्दा सहभागी हुन पनि नसकिँने अवस्था आउन सक्छ।’

रुविनाको विश्वकप सपना

सन् २०२० मा विश्वकप खेल्ने महिला टोलीको ठुलो सपना अधुरै रह्यो। तर, रुविना ढिलो चाँडो नेपाली महिला टोलीले विश्वकप खेल्नेमा विश्वस्त छिन्। उनी भन्छिन्, ‘हिजोको भन्दा आजको हाम्रो खेलमा निकै सुधार आएको छ। अब हामी छनोट चरण पार गर्न सक्छौँ।’

नेपाली महिला टोलीले हङकङमा आयोजना भएको महिला ट्वान्टी–२० राम्रै प्रदर्शन गरेको थियो। तर पनि छनोट भने हुन सकेन। यस पटक पनि थाइल्यान्ड नै बाधक बन्यो। ‘ट्रफि नउचाले पनि दोस्रो भयौँ। ४ वर्षदेखि थाइल्यान्ड नै हाम्रो बाधक भएको छ' रुविनाले भनिन्, 'हामी स्कीलले हारेको होइनौँ, फिटनेस र एक्सपिरियन्सले हारिरहेका छौँ।' सरकारी स्तरबाट सहयोग भए महिला क्रिकेटले फड्को मार्ने उनको विश्वास छ। 

हङकङमा एसिया कप र विश्वकपको छनोटका लागि प्रतियोगिता भएको थियो। प्रथम हुनेले दुवै खेल्ने र दोस्रो हुनेले एसिया कप खेल्ने प्रावधान छ। नेपाल दोस्रो भयो र एसिया कपको छनोट चरण खेल्ने अवसर पायौँ। त्यो खेल सम्झँदै रुविनाले भनिन्, ‘त्यो खेल हाम्रो इतिहासको सबैभन्दा खराब खेल हो। यस्तो दिन त कहिले पनि नआओस्।’ एसिया कपका ५ खेल खेल्दा नेपाल ५ खेलमै पराजित भयो। ‘त्यो बेला ५० रन ६० रन पनि बनाउन सकेनौँ’ मन खिन्न पार्दै उनले भनिन्। उनी भन्छिन्, ‘अब ९ महिनापछि एसिया कपको छनोट सुरु हुँदैछ यस पटक हामी छनोट हुनेमा निर्धक्क छौँ।’  

२०२१ को विश्वकपमा सहभागिता जनाउने उनको ठुलो रहर छ। खेलाडीहरू आफ्नै बलबुताले मेहनत गरेर यो स्थानमा पुगेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘राज्यले थोरै पनि गरिदियो भने हामी २०२१ को विश्वकप खेल्न सक्छौँ।’ 

विभेदको पीडा

महिला क्रिकेटलाई राज्यले नहेरेको उनी बताउँछिन्। ‘सरकारले मात्रै होइन कहिलेकाहीँ त आयोजकहरूले पनि त्यस्तै व्यवहार गर्छन्’ उनले भनिन्, ‘मुख्यमन्त्री कप खेल्दा केटाहरूलाई लिन गाडी आउथ्यो। हामी आफैँ खेलमैदानमा पुग्नु पर्‍यो।’   

पुरुष खेलाडी वार्षिक रूपमा स्वदेशमै दर्जनौँ खेल खेलिरहँदा आफूहरूले आराम गरेर बस्नु परेको दुखेसो उनले गरिन्। उनलाई सेवा सुविधामा पनि विभेद गरेको आभास हुन्छ। ‘केटाहरूलाई तलब छ। प्रतियोगिता खेलेर आएपछि प्रोत्साहन पाउँछन्, हामीलाई केही दिँइदैन', मन अमिलो पार्दै उनले गुनासो पोखिन्।

‘हामी दुई खेलमा लगातार दोस्रो भएर आएका छौँ तर, कसैले कुनै चासो दिएन’ उनले भनिन्, ‘त्यो खेलमा एउटा मात्रै छनोट हुन्थ्यो। उनीहरू हामीभन्दा राम्रा थिए, छनोट भए। तर, त्यत्रो देशलाई बिट गर्नु भनेको पनि त जोक होइन नि त्यति हुँदा पनि प्रोत्साहन छैन। त्यस्तै व्यवहारले हामीलाई कमजोर बनाउँछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.