|

  • विदुर कटुवाल-

उदयपुर :  उदयपुरमा चुरेको घना जंगल रहेको क्षेत्र मासेर एयरपोर्ट बनाउने योजना बनाइएको छ। जोगीदह गाविस ६ र ९ वाडाको जंगल फडाँनी गरेर सगरमाथा आन्तरिक विमानस्थल (एयरपोर्ट) बनाउन लागिएको हो।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआइए) का अनुसार एयरपोर्ट निर्माण गर्ने भनिएको जग्गामध्ये १५६. ११ हेक्टर क्षेत्रफलमा पुरै जंगल पर्नेछ। एयरपोर्ट निर्माण गर्दा कंग र मोथिया सामुदायिक वन उपभोक्ता समूहको १ सय २४ हेक्टर र बाँकी ३२ हेक्टर राष्ट्रिय चुरे वन फडाँनी गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

एयरपोर्ट निर्माण गर्दा जोगिदहको ६ र ९ पर्ने मोथिया र कंग सामुदायिक वन क्षेत्रका ३५ हजार ५ सय १४ रुख काट्नुपर्नेछ। जसमा मोथिया सामुदायिक वन समूहमा पर्ने १५ हजार ९७ र कंग सामुदायिक वन समूहमा २० हजार ४ सय ४८ रुख काटेपछि मात्र एयरपोर्टलाई जग्गा पुग्नेछ। काट्नुपर्ने ९२ प्रतिशत साल जातका रुखहरु छन्। जंगल फडानी गरेपछि अहिलेको वन ऐन अनुसार वातावरण प्रदुषण न्युनीकरणको लागि ८ लाखभन्दा बढी विरुवा रोप्नुपर्ने पनि प्रतिवेदनले देखाएको छ।

ईआइए प्रतिवेदन वातावरण मन्त्रालय हुँदै वन मन्त्रालयमा पुगेर स्वीकृत भएपछि जग्गा प्राप्तिको प्रक्रिया सुरु हुने नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ इन्जिनियर सत्यनारायण दुलालले जानकारी दिए। ‘जग्गा वन क्षेत्रमा मात्र परेकाले केही झन्झटिलो भएको छ’ईआइए प्रतिवेदनमाथि शनिबार जोगिदहमा आयोजित सार्वजनिक सुनवाईमा उनले भने, ‘वातावरण मन्त्रालय हुँदै वन मन्त्रालयबाट स्वीकृत नहुन्जेल जग्गाको टुंगो लाग्दैन।’

एक सय ७५ मिटर लम्बाई र ३० मिटर चौडाई भएको रनवे,  दुईवटा ट्याक्सी वे रहनेछ। प्रतिवेदनमा उल्लेख भए अनुसार टर्मिनल बिल्डिङ तथा स्टाफ क्वार्टर २६ सय ६५ वर्गमिटरको हुनेछ। नागरिक उड्डयन प्राधिकरणको लक्ष्य अनुसार प्रस्तवित बिमानस्थलको धावनमार्ग विराटनगर र भैरहवा विमानस्थलको भन्दा ठूलो हुने इन्जिनियर दुलाले बताए।

२०३१ सालदेखि निर्माण गर्ने भनिएको एयरपोर्टको नाममा त्रियुगा नगरपालिका २ मा जग्गासमेत छ। एयरपोर्टको नाममा भएको जग्गामा रंगशाला बनाई अन्य जग्गाको विकल्प खोज्नु साटो जंगलमा पुर्‍याइएको जानकारहरु बताउँछन्।

नेकपा माओवादी केन्द्र उदयपुरका प्रवक्ता जीवनकुमार कार्की कुशलले जंगलभन्दा अन्य स्थानमा एयरपोर्ट बनाउन विकल्प हुँदाहुँदै जंगलमा लैजान नहुने बताए।

सगरमाथा विमानस्थल निर्माण उपभोक्ता समितिका महासचिव मीनकुमार राउतले एयरपोर्ट बनाउन कतै पनि जग्गा नभेटेपछि जंगलमा पुर्‍याइएको बताए। ‘ईआइए प्रतिवेदनकै अनुसार जग्गा मन्त्रालयबाट तोकिएर आउँछ’महासचिव राउतले भने, ‘निर्माणको सबै काम नागरिक उड्ययन प्रधिकरणले गर्नेछ।'  नागरिक उड्ययन प्राधिकरणका अनुसार एयरपोर्ट निर्माणमा ९० करोड रुपैयाँ लागत अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.