|

उदयपुर : कुटानी, पिसानीको रुपमा प्रयोग हुने ढिकी जाँतो र ओख्ली लोप हुँदै गएका छन्। आधुनिक प्रविधिको विकाससँगै परम्परागत रुपमा प्रयोग हुने ढिकी, जाँतो ओख्ली लगायतका लोप हुँदै गएका हुन्।

मानवजीवमा प्रयोगमा आएका ढिकी, जाँतो, ओख्ली, ठेका, काठले बनेका मानामाथि लगायतका गाउँले सामानहरू लोप हुँदै गएको गाईघाटका ७५ वर्षे स्थानीय गंगाबहादुर बुढाथोकी बताउँछन्। ‘हामीले लक्काजवान हुँदा प्रयोग गरेका ओख्ली, ढिकी, जाँतो काठका मानामाथि, ठेका अहिले गाउँमा समेत पाइँदैन,’ उनले भने, ‘धान कुट्ने ढिकी, ओख्ली मकै पिस्ने जाँतो तथा पानी घट्टा लोप भइसकेका छन्, अहिले कुटानी पिसानीको लागि मिल, काठका ठेकामा प्लाष्टिका पाइन्छ।

परम्परागत रुपमा प्रयोग हुँदै आएको प्रविधि विस्तारै लोप हुँदै गएको छ। बढ्दो आधुनिकतासँगै दैनिक जीवनमा प्रयोग हुने परम्परागत ढिकी, जाँतो, ओख्लीलाई संरक्षण गर्नुपर्ने वेला आएको कटारी नगरपालिका ११ का स्थानीय शिक्षक नविक कार्की बताउँछन्। ‘भावि पुस्तालाई देखाउनको लागि भएपनि ढिकी, जाँतो, ओख्ली, काठका ठेका संरक्षण गर्नुपर्ने वेला आएको छ,’ उनले भने, ‘ग्रामिण क्षेत्रमा प्रयोग हुँदै आएको ढिकी, जाँतो, ओख्ली, सिलौटो लोप हुन थालेको छ।

मौलिकता झल्काउने गाँउले घरयासी औजार अहिले देख्न पाईदैन। कुटानी पिसानीको लागि अत्याधुनिक बिद्युतीय मिलहरु संचालनमा आएपछि ढिकी जाँतोको प्रयोग आउनु छाडेका हुन्।

‘गाँउघरमा अहिले ढिकी जाँतो पाईन्दैन।’ लिम्पाटारका स्थानीय धुर्व कार्कीले भने, ‘सबै पहाडी गाँउमा पानी र बिद्युतबाट चल्ने मिल सञ्चालनमा आएकाले ढिकी, जाँतो, ओख्ली हराएका हुन्।’

घरको ढिकी र जाँतो भन्दा गाउकै आधुनिक मिलमा धान कुटेर चामल चिउरा बनाउन थालेपछि परम्परागत औजारको लोप भएको हो। मकै, कोदो, फापर आदि पिस्ने जाँतो, धान कुट्ने ढिँकी, उखु पेल्ने कोल, तोरी पेल्ने र निबुवा, कागती, चिउरी, घोडाखरी पेल्न कोलसमेत आधुनिक प्रविधिको विकाससँगै हराउन थालेका छन। थोरै सयममा धेरै काम गर्ने मिल गाँउमा सञ्चालन हुन थालेपछि घट्टा समेत हराएको छ।

स्थानीय जंगलमा पाईने काठबाट बनाई परम्परा गत ढिकी, जाँतोमा महिलाले गर्नुपर्छ भन्ने संस्कार पनि परिवर्तन हुँदै गएको छ। कम समय लाग्ने भएकाले स्थानीय समुह, संघ सँस्थाको सहयोगमा मिल संचालनमा सर्वसाधरण आफैँ जुट्ने गरेका छन्। बुढापाकाहरु भन्छन, ‘जाँतोमा रातभरी महिलाहरुले काम गर्नुपर्ने बाध्यता थियो, अहिले त्यो हटेको छ।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.