|

संखुवासभा : खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई कार्यालयको २१ लाख रकम हिनामिना भएको पाइएको छ। खानेपानी कार्यालयका लेखापाल लक्ष्मण पराजुली, काउन्टर इन्चार्ज सुरेश ढकाल र प्रशासन सहायक जुनिता कार्की ले २१ लाख बढी रकम अनियमितता गरेको समितिको आरोप छ। 

खानेपानी कार्यालयका लेखापाल लक्ष्मण, काउन्टर इन्चार्ज सुरेश प्रशासन सहायक जुनितालाई महशुल र ५ प्रतिशत अनुदानको रकम हिनामिना गरेको भन्दै समितिले ४ महिना अघि निलम्वन गरिएको अध्यक्ष नरेन्द्र राईले बताए। निलम्वनमा परेका तिनै जना कर्मचारीलाई हिनामिना गरेको २१ लाख रकम दाखिला गर्न दिएको ४ महिनाको म्याद सकिए पछि पुनः सात दिनका लागि म्याद थप गरिएको समितिकी सदस्य सुशिला घिमिरेले बताइन्। 

खानेपानी कार्यालयमा आर्थिक रकम हिनामिना व्यापक भएको गुनासो आए पनि महशुल र उपभोक्ताबाट उठाएको रकमको बारेमा छानविन गर्न गत माघ १५ गते तत्कालीन खाँदबारी नगरपालिकाका लेखा अधिकृत रुद्रमणि श्रेष्ठलाई छानविनका लागि जिम्मेवारी दिएको थियो। उता खानेपानी समितिले समेत लाखौं रकम घोटाला गरेको लेखा प्रतिवेदन समितीले दिन अहिले दिन नमिल्ने बताउँदै प्रतिवेदन लुकाएको छ।

समितिका अध्यक्ष र सचिवको मिलेमतोमा लाखौ रकम घोटाला भएको लेखा प्रतिवेदन समितिले लुकाएको हो। लेखा समितिले बुझाएको छानविन प्रतिवेदन माग्दा समितिको अध्यक्ष नरेन्द्र राईले समितिभित्र छलफल गरेर पछि मात्र दिने बताएका छन्। रकम घोटला भएको छानविन प्रतिवेन बैशाख १५ गते नै समितिले बुझाइसकेको छ। खानेपानी महशुल लगायतको रकम हिनामिना गरेको प्रतिवेदन बैशाख १५ गते समितिलाई बुझाए पनि समितिले प्रतिवेदन पटक-पटक माग्दा समितिले दिन आलटाल गरिरहेको छ। 

आयोजना सम्पन्न नभइ सम्पन्न भएको सिफारिस 

खाँदबारी खानेपानी समितिले आयोजना सम्पन्न नभइकन सम्पन्न भइ सकेको सिफारिस गरेको पाइएको छ। निर्माण कम्पनीले पूरा धारा जडान समेत नगरेको र पानी समेत नियमित सञ्चालन गर्न नसकिरहेको अवस्थामा खानेपानी समितिले आयोजना सम्पन्न भएको सिफारिस दिएको रहस्य खुल्न आएको छ। निर्माण कम्पनीले मागअनुसार उपलब्ध गराउने उद्देस्यले मकालु गाउँपालिका ५ सिमाली खोलाबाट पानी ल्याइएको  भए पनि नियमित रुपमा पानी उपलब्ध गराउन सकेको छैन। 

तीन हजार ४०० धाराबाट पानी वितरण गर्ने सहमतिमा गरी आयोजनाले  काम सुरु गरेको थियो। तर अहिले आशिष निर्माण कम्पनीले २ हजार ७७५ धारा मात्र जडान गरेका पाइएको छ। आयोजना सञ्चालनका लागि २ हजार ९५९ घरबाट ५ प्रतिशत रकम उठाइएको थियो। रकम जम्मा गरेका उपभोक्ताका घरमा धारा जडान गर्नु निर्माण कम्पनीको जिम्मेवारी भए पनि अझै धेरै धारा जडान गर्न काम बाँकी राखेको छ।  

दुई हजार ७७५ धारा जडान भए पनि दुई हजार वटा मात्र सञ्चालनमा रहेको खानेपानी कार्यालयले जनाएको छ। आयोजना निर्माण २०७० असोजमा प्रारम्भ भएको थियो। पाँचपटक म्याद थप गरी २०७४ पुस १६ मा निर्माण कम्पनीले काम सम्पन्न गरेको समितिको दाबी छ। कम्पनीले १८ महिनामा सक्नुपर्ने काम ५१ महिना लगाएको थियो।

योजना भन्दा १ हजार ४०० कम धारा सञ्चालनमा आउँदा पनि खाँदबारीमा पानी अभाव झेल्नु परेको अवस्था छ। आयोजना सम्पन्न भएको डेढ वर्ष बित्न लागे पनि महिनामा दुईपटक मुस्किलले पानी आउने गरेको उपभोक्ताको गुनासो छ। 

आयोजनाबाट खाँदबारीका १ देखि ९ वडा, चिचिला गाउँपालिकाको चिचिला बजर क्षेत्र र कुवापनीका उपभोक्तालाई पानी वितरण गर्ने लक्ष्य थियो। यसका लागि नगर विकास कोषबाट २० करोड २ लाख ऋण लिइएको थियो। आयोजनाको निमार्ण खर्च खर्च हालसम्म ४६ करोड ५१ लाख रुपैयाँ पुगेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.