मूलधारमा ल्याउन सरकार कटिबद्ध

|
फाइल फोटो

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच कुनै किसिमको साँठगाँठ नरहेको प्रष्ट पारेका छन्। उनले विप्लव समूहका गतिविधिलाई कानुनअनुसार नियन्त्रण गर्ने बताए।  

प्रतिनिधिसभाको सोमबारको बैठकमा गृहमन्त्री थापाले आइतबार काठमाडौं लगायत मुलुकका विभिन्न भागमा भएका बम विस्फोटबारे जानकारी दिएपछि सांसदहरूले उठाएका प्रश्नको जवाफमा उक्त जवाफ दिएका हुन।

गृहमन्त्रीले भने, 'सरकार र विप्लवबीच साँठगाँठ त छैन? भन्ने नाजायज प्रश्न हुन्। विषय त्यो होइन।'

सांसदहरूले सरकार र विप्लवसमूहबीच साँठगाँठ त छैन भनेर प्रश्न गरेका थिए। सांसदहरूले विस्फोटमा मारिने नेपाली नागरिक नभएको भन्ने आशयको अभिव्यक्तिको पनि विरोध गरेका थिए।

जवाफमा रोष्ट्रममा उभिएर गृहमन्त्रीले भने, 'मूलभूत रूपमा शान्ति सुरक्षा दिएको छ भन्ने सरकारको निष्कर्ष हो। पूर्णसुरक्षा दिएको छ भन्ने दाबी होइन।'

विस्फोटमा मृत्यु भएकाहरू सामान्य नागरिक नभएको भन्ने आफ्नो आशय रहेको गृहमन्त्रीको भनाइ थियो। उनले भने, 'हिजो विस्फोटमा मृत्यु भएकाहरू नेपाली नागरिक होइनन् भन्ने होइन। ती सामान्य नागरिक होइनन्। ती जनता होइनन्, घटना घटाउने हुन्। विस्फोटक पदार्थ तयार पार्नेहरू मरेका हुन्।'

घट्टेकुलो र सुकेधारामा भएका विस्फोटमा ४ जनाको मृत्यु भएको थियो। जसमा बम बनाउनेहरूको नै विस्फोटमा परेर मृत्यु भएको थियो। गृहमन्त्रीको प्रष्टिकरण थियो, 'दुई ठाउँमा विस्फोट भए। बम बनाउने क्रममा नै त्योसित सम्बन्धितहरूकै ज्यान गएको छ। त्यो पुष्टि भएको छ। गिरफ्तार भएकाहरू प्रमाणसहित गिरफ्तार भएका छन्।'

गृहमन्त्रीको थप प्रष्टिकरण थियो, 'उनीहरूलाई सामान्यतया जनता भन्दैनौँ। ती घटनासँग सम्बन्धित व्यक्तिहरू हुन्। जनता नै होइनन् भनेको होइन।'

गृहमन्त्रीले सरकार सुरुदेखि वर्ताको पक्षमा रहेको बताए। उनले विप्लवका क्रियाकलापमा प्रतिबन्ध लगाएको बताए। कानुनविपरीत र संविधान विपरीत भएकाले प्रतिबन्ध लगाइएको पनि गृहमन्त्रीको भनाइ थियो।

पाँचथरमा ९ जनाको हत्या हुनुपहिले नूनमा सीसा हालेको भन्ने कुरा गृहलाई जानकारी नभएको बताए। त्यसैगरी दार्चुलामा भएको हमलामा घाइतेको सरकारले उपचार गरिरहेको जानकारी दिए।

सांसद प्रेम सुवालले जे रोपेको थियो त्यहिँ फलेको छ भन्ने व्यंगमा गृहमन्त्रीले भने, 'यो सरकारले रोपेको होइन र त्यो सोहीअनुसार फलेको होइन। जे उम्रिएको छ असंवैधानिक छ। यसलाई संविधानअनुसार मूलधारमा ल्याउनुपर्छ भन्ने लाग्छ।'

गृहमन्त्रीले हिजो राजतन्त्रको बेलाको र अहिलेको बेलाको अवस्था फरक रहेको बुझ्न सांसदहरूलाई आग्रह गरेका थिए। उनले भने, 'हिजो र आजको अवस्था फरक छ। हामी गणतन्त्रका लागि राजतन्त्र विरुद्ध उठेका थियौँ। आजको त्यो अवस्था होइन। राजनीतिक र कानुनी रूपमा आज  उठेका विषय सही हुन् भन्न मिल्दैन।'

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.