|

काठमाडौं : नेकपा एमालेले युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेको छ।

युवा संघ नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष तथा नेकपा एमालेका क्षेत्रीय कमिटी सदस्य दुर्गा तिवारीको सोमबार दिउसो साढे ३ बजेतिर रुपन्देहीको देवदह नगरपालिका–६, खैरेनीमा गोली हानी हत्या भएको थियो। बाटोमा हिँडिरहेको बेला मोटरसाइकलमा आएका दुईजनाले गोली हानी हत्या गरेको प्रत्यक्षदर्शीलाई उद्‍धृत गर्दै प्रहरीले जनाएको छ। 

‘राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र स्वाभिमानका पक्षमा सञ्चालित आन्दोलनमा सक्रिय कमरेड तिवारीको कायरतापूर्ण हत्याको तीब्र भत्सर्ना र निन्दा गर्दै त्यसमा संलग्न अपराधीहरुलाई तुरुन्त गिरफ्तार गरी कडा कानुनी कारवाही गर्न नेकपा (एमाले) जोडदार माग गर्दछ’, एमाले महासचिव ईश्वर पोखरेलद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ।

एमालेले उक्त घटनालाई ‘षड्यन्त्रपूर्ण आक्रमण’ भन्दै घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिलाई मुछेको छ। ‘प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले नेकपा एमाले र आन्दोलनरत जनताविरुद्ध उत्तेजनापूर्ण अभिव्यक्ति दिइरहेको तथा गृहमन्त्रीले उक्साहटपूर्ण भनाइ राखिरहेको बेला देशभक्त युवा नेताको हत्या भएको छ’, महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘देश र जनताको सुरक्षा गर्नुपर्ने व्यक्तिहरुको त्यस्तो उत्तेजना र उक्साहटपूर्ण अभिव्यक्ति सार्वजनिक भएकै बेला यो देशभक्त नेपालीहरुमाथि गरिएको षड्यन्त्रपूर्ण आक्रमण हो।‘

एमालेको विज्ञप्तिमा भनिएको छ-

आन्दोलनकारी युवा नेताको हत्या गरेर एकातर्फ उक्त आन्दोलनलाई कमजोर बनाउने र अर्कातर्फ साम्प्रदायिक सद्भाव बिथोलेर मुलुकमा विखण्डन सिर्जना गर्न गम्भीर आपराधिक षड्यन्त्र भइरहेको गम्भीर आशंका पैदा भएको छ। केही दिन पहिला रुपन्देहीकै भैरहवामा एकजना व्यवसायीमाथि समेत गोली प्रहार भएको कुरा यहाँनेर स्मरणीय छ।  

हत्या र षड्यन्त्रको पर्दाफास गर्दै संयम र धैर्यका साथ राष्ट्र, राष्ट्रियता, संविधान कार्यान्वयन र अग्रगमनको यात्रामा अविचलित सक्रियताका साथ भएर लागिरहन कार्यकर्ता पंक्तिलाई हाम्रो पार्टी आग्रह गर्दछ।

तिवारीको हत्या

नेकपा एमाले निकट युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको सोमबार गोली प्रहारबाट हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र घानुकका अनुसार देवदहको खैरेनीमा उनीमाथि गोली प्रहार भएको हो। इँट्टा व्यवसाय सञ्चालन गर्दै आएका तिवारीमाथि दिउँसो साढे तीन बजे देवदह ८ कोलीय बचत तथा सहकारी संस्थादेखि १ सय मिटर दक्षिणमा गोली प्रहार भएको प्रहरीले जनाएको छ।  

प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका दुईजनाले उनलाई गोली प्रहार गरेका थिए। गोली प्रहारबाट गम्भीर घाइते तिवारीको देवदह मेडिकल कलेज पुर्‍याएपछि मृत्यु भएको हो। उनी देबदहकै बासिन्दा थिए। 

गोली लागेर ढलेका उनलाई उपचारका लागि तत्काल देवदह मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। उपचारका लागि काठमाडौं लैजाने तयारी गरिरहेको अवस्थामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

झण्डै ९ महिनाअघि पनि उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। दायाँतर्फ पछाडिबाट हानिएको गोली छातीको अगाडि बायाँ तर्फबाट बाहिर निस्किएको प्रहरीले जनाएको छ। 

फोन गरेर हत्याको 'जिम्मेवारी'

घटनापछि देवदह २ खैरेनी घर भइ हाल मलेसियामा रहेको बताउने मनोज पुन भन्ने व्यक्तिले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीलाई फोन गरेर आफूले हत्या गरेको बताएका छन्। उनले ठेक्कापट्टामा कुरा नमिलेकाले हत्या गरेको समेत बताएका छन्।

थाहाखबरमा पनि आफूलाई देबदह २ खैरेनी घर र मनोज पुन नाम बताउने ब्यक्तिले टेलिफोन गरेर ठेक्कापट्टाको विषयमा दुःख दिएको र आफ्ना सहयोगीलाई पनि विभिन्न मुद्दामा फसाएकाले तिवारीको हत्या गरेको दावी गरेका छन्। तिवारीसँगकै विवादका कारण आफू ५ महिनाअघि मलेसिया आएको पनि ती व्यक्तिले बताए।

यसअघि पनि आफूले तिवारीलाई धम्क्याउन आफ्ना साथीहरु परिचालन गरेको उनले दावी गरे। आफ्ना साथीहरु अजय र शालिग्राम चापागाईंलाई चन्दा असुली र लागू औषध कारोबारको मुद्दामा तिवारीले फसाएका कारण बदला लिएको उनले बताए। 'म नेपाल आउन खोजिरहेका बेला ममाथि इन्काउन्टर गर्ने भन्ने कुरा सुनेँ त्यसैले यो कदम चाल्न बाध्य भएँ' आफूलाई मनोज पुन बताउने ती व्यक्तिले टेलिफोनमा भने।

आफूले तिवारीमाथि ९ महिनाअघिदेखि आक्रमण गर्न खोजेको बताउँदै उनले अहिले रुपन्देहीमा आन्दोलन भएकै बेलामा घटना हुनु संयोगमात्र भएको थाहाखबरलाई बताए।

विरोधमा आन्दोलन

युवा संघ नेपालले दुर्गा तिवारीको हत्या विरोधमा मंगलबार लुम्बिनी बन्द आव्हान गरेको छ। 'क. दुर्गा तिवारीको हत्याको विरोध र सत्य तथ्य पत्ता लगाउनका लागि दबाब स्वरुप पुस ५ गते लुम्बिनी बन्दको आव्हान गरिएको छ,' युवा संघका प्रवक्ता प्रभात विक्रम कट्वालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

युवा संघ नेपालले तिवारीको हत्याको छानविनका लागि समिति बनाउने निर्णय गरेको छ। घटनाको विरोधमा प्रत्येक जिल्लामा २ घन्टा चक्का जाम गर्ने युवा संघ नेपालका केन्द्रिय पदाधिकारीहरुले बताएका छन्। त्यस्तै युवा संघ नेपालले झन्डा आधा झुकाउने निर्णय गरेको छ। युवा संघ नेपालका केन्द्रीय सदस्यहरु मंगलबार रुपन्देही जाँदैछन्।

तिवारीको हत्याको विरोधमा नवलपरासीको कावासोतीमा सोमबार १ घण्टा चक्काजाम भएको छ। हत्याको विरोधमा नवलपरासीका विभिन्न स्थानमा एमाले निकट युवा संघले चक्काजाम गरेको हो। संघका कार्यकर्ताले नवलपरासीको बर्दघाट, कावासोती, भेडाबारी लगायतका स्थानमा अपराह्न साढे ४ बजेदेखि साढे ५ बजेसम्म एक घण्टा चक्काजाम गरेका थिए। 

यसअघिको आक्रमणमा बचेका थिए तिवारी

आफ्नै भट्टामा बसिरहेको अवस्थामा गत फागुनमा तिवारीमाथि आक्रमण भएको थियो। तर, त्यतिबेला आक्रमणबाट बाँचेका तिवारीलाई सोही समूहले नै हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

तिवारीमाथि गएको फागुनको पहिलो सातामा पनि गोली हानी हत्या गर्ने प्रयास गरिएको थियो। सो आक्रमणमा संलग्नमध्ये आठ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको र सो समूहका नाइके भनिएका मनोज पुन फरार रहेका छन्। प्रहरी र मिडियाहरुमा फोन गरी हत्याको जिम्मेवारी लिने व्यक्तिले आफ्नो नाम मनोज पुन भनेका छन्। 

स्थानीय त्रसित

घटनापछि देवदहमा त्रास फैलिएको छ। यसअघि सुत्केरी महिलाको हत्या, लुटपाट र चोरीका कारण असुरक्षित मानिएको देवदहमा दिउसै गोली प्रहार भएपछि त्रास फैलिएको स्थानीयबासी समेत रहेका पत्रकार यम रानाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.