|

भक्तपुर : भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि २ अर्ब १३ करोड १० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको पाँचौ नगरसभामा उपप्रमुख रजनी जोशीले मंगलवार सो बजेट सार्वजनिक गरेको हो।

बजेटको चालु खर्चतर्फ ४६.८३ प्रतिशत अर्थात ९९ करोड ८० लाख र पुँजीगत खर्चतर्फ ५३.१७ प्रतिशत अर्थात १ अर्ब १३ करोड ३० लाख रुपैंया विनियोजन गरेको छ। विनियोजित बजेटको आयतर्फ ६२ करोड आन्तरिक आम्दानीबाट र बाह्य स्रोतबाट १ अर्ब २२ करोड २४ लाख र बाँकी नपुग आन्तरिक नगद मौजदातबाट परिपुर्ति गर्ने व्यवस्था गरेको छ।

बजेट शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ। भक्तपुर नगरपालिका विद्यालय र कलेज सञ्चालन गर्ने पहिलो र एक मात्र स्थानीय तह हो। भक्तपुर नपाले ख्वप मावि, ख्वप बहुप्राविधिक शिक्षालय, ख्वप कलेज, ख्वप कलेज अफ ईञ्जिनियरिङ, ख्वप ईञ्जिनियरिङ कलेज, शारदा कलेजलगायत सञ्चालन गरिरहेको छ भने बागेश्वरी, बासुलगायतका विद्यालयको व्यवस्थापनको कार्य गर्दै आइरहेको छ। त्यसैगरी २५ शैयाको ख्वप अस्पताल, छाती रोग अस्पताल निर्माण गरिरहेको भक्तपुर नपाले घरघरमा नर्सिङ सेवा, जनस्वास्थ्य केन्द्र र आँखा अस्पताल सञ्चालन गरिरहेको छ।

उपप्रमुख जोशीले सार्वजनिक गरेको बजेटमा शिक्षा क्षेत्रलाई ३० करोड ७३ लाख ९६ हजार विनियोजन गरिएको छ जुन कुल बजेटको १४.४२ प्रतिशत हो। नगरपालिकाले आगामी आ.व.मा नगरको कुनै एक सामुदायिक विद्यालयलाई नमूना विद्यालयको रुपमा संचालन गर्ने नीति लिएको छ। सोहीबमोजिम बजेट विनियोजन गरिएको छ। त्यस्तै सामुदायिक विद्यालयहरुमा कार्यरत वालविकास सहजकर्ता (इसीडी शिक्षक)लाई नगरपालिकाको आफ्नै स्रोतबाट व्यहोर्ने गरी प्रति व्यक्ति मासिक ४ हजार रुपैयाँ थप पारिश्रमिक दिने व्यवस्था गरिएको छ।

आर्थिक अवस्था कमजोर भएका तर शैक्षिक स्तर राम्रो भएका जेहेन्दार एवं मेधावी विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने हिसावले नगरपालिकाले शैक्षिक ऋण कोषको व्यवस्था गरेको छ। नयाँ आ.व.का लागि नगरपालिकाले उक्त कोषमा ४ कारेड ९९ लाख ९० हजार रकम विनियोजन गरेको छ।

स्वास्थ्य क्षेत्रका लागि २५ करोड ५४ लाख ६२ हजार रुपैंया विनियोजन गरिएको छ जुन कुल बजेटको ११.९९ प्रतिशत हो। नगरपालिकाले ख्वप अस्पताल निर्माण कार्यलाई निर्धारित समयमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ २० करोड विनियोजन गरेको छ। त्यस्तै घरदैलो नर्सिङ सेवालाई थप प्रभावकारी बनाउने तथा विद्यालय तहमा बिस्तार गर्ने र च्याम्हासिंहमा निर्माणाधीन छाती पुनःस्थापना केन्द्र आगमी आ.व.मा निर्माण सम्पन्न गरिसक्ने उल्लेख छ।

भक्तपुर नगरलाई आन्तरिक तथा वाह्य पर्यटकहरुको लागि उत्कृष्ट गन्तव्यस्थल बनाउने उद्देश्यसहित आगामी वर्ष भक्तपुर महोत्वस आयोजना गर्ने र त्यसका लागि १ करोड रुपैंया विनियोजन गरिएको छ। पर्यटन पूर्वाधार विकासका लागि ४ करोड ८६ लाख ९० हजार बजेट व्यवस्था गरेको छ।

भक्तपुरका परम्परागत साँस्कृतिक विधाहरुलाई जीवन्त बनाउन तथा साँस्कृतिकर्मी कलाकारहरुलाई जीवन जिउने आधारको रुपमा विकास गर्न साँस्कृतिक प्रदर्शनी केन्द्र संचालन गर्ने तयारीसहित बजेट विनियोजन गरिएको छ।

नगरको प्रमुख समस्याको रुपमा रहेको खानेपानी समस्या न्यूनीकरण गर्न नगरपालिकाको तर्पmबाट पहल गर्ने र नगरका ठाउँ ठाउँमा भूमिगत पानीको स्रोत पहिचान गरी खानेपानीको व्यवस्था एवं खानेपानीको पाइप सुधारको लागि ३ करोड ८१ लाख बजेट विनियोजन गरिएको छ।

बजेटमा नगरको सम्पदा संरक्षण र विकास निर्माणलाई विशेष प्राथमिकता दिइएको छ। सम्पदा संरक्षण तथा विकास निर्माणको लागि ७२ करोड ९१ लाख १० हजार अर्थात २४.२१ प्रतिशत विनियोजन गरेको छ। विश्व सम्पदा सूचिमा रहेको ऐतिहासिक ङातापोल मन्दिर जीर्णोद्वार आगामी वर्ष गर्ने तयारीसहित ५० लाख विनियोजन गरिएको छ। प्रसिद्ध भैरवनाथ मन्दिर पुनर्निर्माण कार्य तीब्र रुपमा अघि बढिरहेको छ भने भैरब मन्दिरको प्रवेशद्वार एवं बेतद्योछें पुनर्निर्माणका लागि ६० लाख विनियोजन गरेको छ। 

भनपा–१ स्थित ऐतिहासिक भाज्या पोखरी र पोखरीको मध्य भागमा अवस्थित जलेश्वर मन्दिरलाई मौलिक शैलीमा पुनर्निर्माण गर्न १ करोड ९ लाख ३२ हजार ५ सय ८५ रुपैया बजेट विनियोजन गरिएको छ

त्यस्तै सैनिक आवासिय महाविद्यालय परिसरभित्र रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको रानीपोखरी पुनर्निर्माण कार्यलाई निरन्तरता दिन १ करोड विनियोजन गरेको छ।

भनपा–२ स्थित औद्योगिक क्षेत्रलाई साना तथा घरेलु उद्योगमा आधारित वातावरणमैत्री तथा पर्यटकीय केन्द्र बनाउन ६० लाख विनियोजन गरेको छ।

त्यस्तै दरबार क्षेत्र परिसरमा जनज्योति पुस्तकालय रहेको पुरानो भवनलाई स्तरोन्नती गरी आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि कोसेली पसः बनाउने कार्यक्रम सहित २५ लाख बजेट विनियोजन गरिएको छ।

बजेटमा खेलमैदान सुधार, व्यवस्थित कभर्ड हल तथा खेल मैदान निर्माण, बालोद्यान निर्माण र वडा वडामा शारीरिक व्यायाम स्थल विस्तार तथा व्यवस्थापनका लागि युवा तथा खेलकुद शिर्षकमा ५ करोड ५७ लाख विनियोजन गरेको छ।

आगामी वर्ष नगरपालिकाले नगरबासी ज्येष्ठ नागरिकका लागि आदर निकेतन संचालन गर्न ५० लाख व्यवस्था गरिएको छ।  किसानहरुको उत्पादनलाई व्यवस्थित रुपमा सुपथ मूल्यमा विक्री वितरण गर्न तथा उपभोक्ता हितमा व्यवस्थित तरकारी बजार निर्माण गर्ने समेत बजेटमा उल्लेख छ।

नगरपालिकाले आधुनिक सुविधा सम्पन्न अरनिको सभाभवनको विस्तृत डिजाइन तथा लागत इष्टिमेट गरिसकेको अवस्था नयाँ आ.व.मा सभाभवन निर्माण कार्यलाई अगाडि बढाउन १ करोड बजेटको व्यवस्था गरिएको छ।

त्यसैगरी फोहर मैला व्यवस्थापन तथा वातावरण सुधारका लागि १३ करोड ५७ लाख ५० हजार, साँस्कृतिक प्रवर्द्धनका लागि २ करोड ३० लाख, कृषि तथा पशु सेवाको लागि १ करोड ६४ लाख, जग्गा तथा भवन खरिदको लागि ५ करोड ५० लाख, देको मिवा इटापाके जग्गा एकीकरण आयोजनाका लागि २५ करोड, सवारी साधन खरिदका लागि ८० लाख, मेशिनरी औजार खरिदका लागि २ करोड, पूंजीगत अनुसन्धान तथा परामर्शका लागि २० लाख, पुरानो नपा भवन (थंथु दरबार) पुनःनिर्माण कार्य (दरबार स्क्वायर)का लागि १ करोड, नरसिंह मन्दिर पुनः निर्माण कार्यका लागि ५० लाख, सिद्धपोखरी उत्तर तर्फको खेलमैदान ब्यवस्थापनका लागि ७७ लाख, आकाशे पानी संकलनका लागि २६ लाख, सडक कलोपत्रे गर्न एक करोड ७९ लाख, पार्किङ स्थल निर्माणका लागि ५० लाख, महेश्वरी खेल मैदान स्त्तोरन्नती गर्न एक करोड ५० लाख, शहिद स्मृति खेल मैदानका लागि एक करोड, पशु बधशालाका लागि ५० लाख विनियोजन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.