घर भत्किँदा बुबा-छोरा घाइते

|

भद्रपुर : चार दिनदेखिको अविरल वर्षाका कारण झापाको कन्काई, मेची, विरीङ, मावा, कमल, निन्दा, देउनियालगायत नदीमा पानीको बहाव बढेको छ। नदीहरूमा पानीको बहाव बढेसँगै तटीय क्षेत्र कटान सुरु भएपछि नदी आसपासका स्थानीयलाई सुरिक्षत स्थानतर्फ हटाउने काम भइरहेको छ। 

यसैक्रममा शनिबार राति कन्काईमा आएको बाढीले तटीय क्षेत्र कटान गर्दै बाँधसमेत फुटाएको छ। बाँध फुटाउँदा गौरीगञ्जका करिब ३२ घरपरिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ। साबिक महाभारा पाँच हाल गौरीगन्ज गाउँपालिका एक स्थित होकलबाडीका ३२ घरपरिवार बाढीका कारण विस्थापित भएको प्रहरी कार्यालय झापाले जनाएको छ।

विस्थापित भएका घरपरिवारलाई इन्द्रेणी प्रावि गौरीगञ्जमा राखिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। ‘कनकाईमा रहेको जनता तटबन्ध भत्किएको कारण बाँध फुटेर बस्तीमा पानी छिरेपछि उनीहरूलाई सुरक्षित स्थानतर्फ सारिएको हो', उनले भने। अहिले स्थानमा स्थानीय प्रहरी, जनप्रतिनिधि, रेडक्रसकर्मी खटिएको उनले बताए।

त्यसैगरी अविरल वर्षाले घर भत्किँदा झापा गाउँपालिकामा बुबा छोरा घाइते भएका छन्। सोही गाउँपालिका चार बस्ने ३५ वर्षीय राजकुमार कोच र उनका १२ वर्षीय छोरा रामचन्द्र कोच घाइते भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

प्रहरीका अनुसार वर्षाले फुस र टाटीको बेरा भएको एक तले घर भत्किएकोले बुबा छोरा घाइते भएका हुन्। दुवै जनाको स्थानीय प्रहरी चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.