|

मुगु : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सिमी जोन कार्यालयका लागि साविकको जिल्ला कृषि विकास कार्यालयका आफ्नै तीनवटा भवन हुँदा हुँदै अर्को घर भाडामा लिएको पाइएको छ।

कृषि ज्ञान केन्द्रका तीनवटा भवन भए पनि सिमी जोन कार्यालयका निमित्त कार्यालय प्रमुख रामदरेश रायले गमगढीको नयाँ सडकमा मासिक २७ हजार तिर्ने गरी आठ कोठा भाडामा लिएका हुन्। कृषि ज्ञान केन्द्रसँग भएका भवन खाली नभएको तथा कार्यालयका लागि गाडी राख्ने ठाउँ समेत नभएका कारण कार्यालय भाडामा लिनु परेको रायले बताए। 

'नियम अनुसार जता जोन क्षेत्र छनोट गरिएको छ। उतै कार्यालय रहनु पर्छ। तर हामीले जनतालाई सहज होस भनेर बजारमा नै कार्यालय स्थापना गरेका हौं' रायले भने। 

पहिलो चरणमा सिमी जोन क्षेत्र छायानाथ रारा नगरपालिका ९ मुर्मालाई छनोट गरिएको छ। तर आफूसँग कोही कसैले भवनका लागि कुरा नगरेको कृषि ज्ञान केन्द्र सम्पर्क केन्द्रका निमित्त कार्यालय प्रमुख सुकिराम नेपालीले जानकारी दिए। 

सम्बन्धित विषयगत कार्यालय एकै स्थानमा हुँदा सेवाग्राहीलाई सेवा दिन सहज हुने भए पनि सिमी जोन कार्यालय अलग हुँदा सेवाग्राहीलाई केही असुविधा हुने नेपालीको भनाई छ। 

कार्यालय प्रमुख रायले दुई जना कार्यालय सहयोगी समेत भर्ना गरीसकेका छन्। उनले एकजना विजयकुमार यादवलाई आफू सरुवा भएर आउँदा उतैबाट सँगै लिएर आएका हुन्। 

दुईजना प्राविधिक सहायक भर्ना गर्नु पर्ने छ भनेर आफूलाई जानकारी रायले गराए। तर कार्यालय सहयोगी बाहिरैबाट नियुक्त गरी ल्याएका विषयमा जानकारी  दिइएन। त्यस विषयमा तत्काल बुझ्ने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.