|

मकवानपुर : हेटौंडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन मंगलबारदेखि सञ्चालनमा आउने भएको छ।

दिउँसो १ बजेदेखि प्रसारण लाइन सञ्चालन ल्याउन लागिएको हो। हेटौंडा–कुलेखानी दोस्रो–स्युचाटार १३२ केभी क्षमताको प्रसारण लाइन सञ्चालनमा आएपछि भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन सहज हुनेछ।

आयोजना प्रमुख केदार सिलवालले मकवानपुरको चौकीटोलदेखि कुलेखानी दोस्रो जलविद्युत् आयोजना हुँदै काठमाडौंको मातातीर्थसम्मको प्रसारण लाइन सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए।

मातातीर्थदेखि स्युचाटारसम्म जोड्न अझै १० दिन लाग्ने उनले बताए। प्रसारण लाइनको दायाँ बायाँ पर्ने घर भत्काउन शुरु भइसकेकाले सबै काम पूरा गरेपछि मात्रै स्युचाटारसम्म प्रसारण लाइन जोडिने छ।

भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन महत्त्वपूर्ण मानिएको प्रसारण लाइन २०६८ सालमा सुरु भए पनि प्रभावित जग्गाधनीले मुआब्जा एवं क्षतिपूर्ति माग्दै अवरोध पुर्याउँदै आएका थिए। प्रसारण लाइन निर्माणका लागि आयोजनाले १९ घरपरिवारलाई एक करोड ८४ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ।

भारतबाट आयात गरिएको विद्युत् ढल्केबर–हेटौंडा हुँदै काठमाडौं ल्याउन यो प्रसारण लाइन सहयोगी हुने प्राधिकरणले जनाएको छ। भारतबाट ल्याइएको विद्युत् काठमाडौं ल्याउन महत्त्वपूर्ण ठानिएको खिम्ती–ढल्केबर प्रसारण लाइन पनि एक साताभित्रै परीक्षण चार्ज गर्ने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.