फिचर

सहज यात्रा गर्न ‘दादा’को सूत्र पच्छ्याउनूस्
SHARES

कात्तिक ७, २०७६

    सञ्जय नेपाल

    हरेक वर्ष लाखौं मान्छे चाडबाड मनाउन काठमाडौंबाट बाहिरिन्छन्। समाचारहरूमा आएअनुसार, यसपटकको दशैँमा झण्डै २५ लाखले राजधानी छाडे। तिनैमध्ये हामी पनि थियौं।

    दशैँ आरम्भ भएसँगै निजी गाडीमा सरर्र बिपी राजमार्ग हुँदै सिन्धुलीको बाटो रमाइलोसँग घर जाने योजनाअनुरुप कोटेश्वरबाट निस्कियौँ। हाम्रो गन्तव्य थियो, सर्लाही। पहिलो ट्राफिक जामको सामना कोटेश्वरमै गरियो। त्यसलाई सामान्य ठान्यौं, हामी अगाडिको बाटो सम्झेर रोमाञ्चित भइरहेका थियौं। जापान सरकारको सहयोगमा निर्मित एशियाकै नमूना बाटो बिपी राजमार्गको रोमाञ्चक यात्राले गाडीमा सवार सबैलाई उत्साहित बनाइराखेको थियो।

    तर हाम्रो उत्साह लामो समय टिकेन। कोटेश्वरदेखि सुर्यविनायकसम्मको निरन्तर जाम र सुर्यविनायकबाट एक्कासी साँघुरिएको सडकले हामीलाई अत्याउन थाल्यो। जसोतसो बनेपा कट्यौं, मनमनै ढुक्क थियौं, अब अगाडिको यात्रा सहज र रमाइलो हुनेछ।

    बनेपा छाडिसक्दा पनि जामले हामीलाई छोडेन। काभ्रे बुचाकोट सडकको जाम त झन् ठ्याम्मै सरेन। माइक्रोबसका चालकहरू हामीलाई अत्याइदिन्थे, भन्थे, ‘यो जाम ३–४ घण्टा रहन पनि सक्छ, बाटैमा रात पर्न सक्छ।’ अझ कसैकसैले त अगाडि झन् ठूलो जाम भएको बताउँथे। सबै यात्रुहरु हतास र अत्यासमा देखिन्थे। कोहीकोही त खराब यातायात व्यवस्थापनका लागि सरकारलाई सरापिरहेका थिए।

    त्यही अत्यासपूर्ण जामका बीच मैले देखें, एकजना अग्लो मान्छे गाडीबाट झरे, र ‘जाम खोल्न कोशिश गर्ने’ भन्दै लमक–लमक अगाडितिर हान्निए। ती मान्छे ओझेल परेको केही समय बित्न नपाउँदै गाडीहरु सर्न थाले। केहीबरेमै ‘यहाँ भर्खरै जाम भएको थियो र!’ भन्नेजस्तो स्थिति बन्यो। हामी पनि हुइँकियौं।

    अगाडि बढ्दै गर्दा हामीले देख्यौं, तिनै अघिका मान्छे हात हल्लाई–हल्लाई गाडीहरू ओहोर–दोहोर गराइरहेका रहेछन्। अन्य चालकहरूले जस्तै हामीले पनि उनलाई धन्यावाद दिन कञ्जुस्याईं गरेनौं। जाम खोल्न उनले गरेको पहल साँच्चिकै प्रशंसायोग्य थियो। तिनीसँग थप कुरा गर्न मन लागेको थियो, तर जुरेन। हामी तिनकैबारेमा गफ्फिँदै ओह्रालो झर्न थाल्यौं।

    संयोग कस्तो, हामी केही पर पुगेर जहाँ चिया खान रोकियौं, ती व्यक्तिसवार गाडी पनि त्यहीँ आएर अडियो। हामीले दोस्रोपटक धन्यवाद दिँदा उनले हाँस्दै भने, ‘आफूले जानेको सीप प्रयोग गर्दा सबैलाई सहज हुन्छ भने किन नगर्ने!’

    हामीले बुझिहाल्यौं, उनी यातायात व्यवस्थापनका अनुभवी हुन्। नाम सन्तोष न्यौपाने, भक्तपुरस्थित दादा ड्राइभिङ इन्स्टिच्युट एण्ड सेफ्टी स्कुलका निर्देशक रहेछन्। ड्राइभिङ स्कुलको नामकै कारण धेरैले उनलाई ‘दादा’ भन्दारहेछन्। यातायात व्यवस्थापन र सडक सुरक्षाबारे जापनिजहरूबाट प्रशिक्षित उनले विभिन्न संघसंस्थाबाट तालीम पनि लिएका रहेछन्।

    सिन्धुलीकाे जाम र जाममा भेटिएका 'दादा'

    [तस्वीरमा सिन्धुलीकाे जाम र जाममा भेटिएका 'दादा']

    उनले आफ्नो अनुभव सुनाए, ‘नेपालमा ड्राइभिङ शिक्षाका क्रममा व्यवहारिक तालिम कम दिइन्छ। चालकहरूसँग पनि धैर्य र संयमको अभाव छ, खासगरी सार्वजनिक यातायातका चालकहरूमा। अघि, सानो दुर्घटनाका कारण जाम भएको रहेछ। म त्यहाँ पुग्दा विपरीत दिशाबाट आएका दुई ठूला बसका चालकहरू कसले पहिले दुर्घटनास्थल पार गर्ने भन्नेबारे घम्साघम्सी गर्दै थए। हेर्नुस् त, दुईजनाको होडले त्यत्रा यात्रुलाई सास्ती भयो!’

    उनी कतै हिँड्दै गर्दा जाममा परे भने ओर्लिएर खटिइहाल्दा रहेछन्। ‘यसलाई स्यंमसेवा भन्नुस् न!,’ उनले भने, ‘काठ्माडौंको जाम भिन्दै हो, तर राजमार्गका अधिकांश जाम चालकहरुको जुँगाको लडाईंकै कारण हुनेगर्छ। एउटाले अर्को गाडीलाई छुस्स छोयो भने महाभारत भइहाल्छ, सरक्क किनारा लागेर आपसी समझदारी गर्दैनन्, त्यहीँ गाडी रोकेर झगडा गर्न थाल्छन्। छिनमै दुवैतिर गाडीको लाइन रेलजस्तो देखिन थालिहाल्छ। ट्राफिक नआइ कुरो मिल्दैन।’

    त्यसपछि उनले भर्खरै गाडी हाँक्न थालेका नयाँ चालकको चरित्रचित्रण गरे। ‘भर्खरै गाडी किनेकाहरुलाई याद गर्नुभएको छ?,’ उनले सोधे, ‘तिनीहरुलाई हाइवेमा गाडी हाँक्न रमाइलो हुन्छ भन्नेमात्रै थाहा छ। म यसो हेर्छु, कोही नालीमा चक्का फसाएर बसेका हुन्छन्, कोही गाडी बिग्रेर रोऊँ कि हाँसौं भएर बसिरा’ख्या हुन्छन्, कोही उकालो–ओह्रालोको मुखमा गम खाएर बसिराखेका हुन्छन्। तपाईं याद गर्नुहोला, नयाँ चालक सजिलै छुट्याउन सक्नुहुन्छ। जाम गराउनमा दोस्रो हात तिनको हुन्छ। म तिनीहरुलाई पनि मद्दत गर्छु।’

    उनी अब गम्भीर भए, भने, ‘इमान्दार तरिकाले लाइसेन्स लिइएन भने भोलि दु:ख पाइन्छ, पाइन्छ। शहरमा हाँक्ने तरिकाबारे बुझ्नुस्, राजमार्गमा हाँक्ने तरिका सिक्नुस्। आजकल इन्टरनेटबाट पनि धेरै कुरा जानिन्छ नि! त्यसो भयो भने न दुर्घटनाको जोखिम हुन्छ, न नै बाटोमा गाडी बिग्रँदा ट्वाल्ल परेर बस्नुपर्छ।’

    ‘बाटाहरू साँघुरा र जीर्ण छन्, यो अर्को समस्या हो। यो तीतो यथार्थलाई नकार्न मिल्दैन। अधिकांश स्थानमा ट्राफिक चिन्हहरू पनि व्यवस्थित छैनन्। भएका पनि मेटिएका छन्, छोपिएका छन्। विदेशतिर हेर्नु न! सिग्नल पछ्याएकै भरमा हजारौं किलोमिटर बाटो पार गर्न सकिन्छ। हाम्रोमा त दुर्दशा कस्तो छ भने सिन्धुलीको बाटो काठ्माण्डौं आउँदै गरेको मान्छेले खुर्कोट पुलमा उभिएर सोध्नुपर्ने हुन्छ, ‘काठ्माण्डौं जाने बाटो कुन हो?’ नत्र एकातिर हिँडेको मान्छे अर्कैतिर पुग्ने डर हुन्छ,’ काठमाडौं–सिन्धुली सडक किनारको पसलमा चिया सुर्क्याउँदै उनले बाटोको हाल सुनाए।

    ‘हाइवेमा गाडी हाँक्ने सबै चालकलाई बाटोको पूर्ण ज्ञान नहुन सक्छ। रातविरात पर्‍यो भने झन् आपत! सम्बन्धित निकाय यसबारे संवेदनशील हुनैपर्छ,’ उनले भने।

    चियाको कप रित्तिनै आँटिसकेको थियो, तर ‘दादा’का कुरा बाँकी नै थिए। मैले सोधें, ‘यो बाटोमा अहिल्यै हाम्रो गाडी बिग्रिइहाल्यो भने कुनै उपाय छ?’

    ‘उपाय छ कि छैन, हिँड्नुभन्दा पहिल्यै जानकारी लिनुपर्दैन?,’ उनले उल्टै सोधे, अनि भने, ‘धेरै चालकहरु यसबारे जानकारी नै नलिई बत्तिन्छन्, अनि ठाउँ–कुठाउँ दु:ख पाउँछन्। टायर पञ्चर भइहाल्यो भने पनि आपत पर्छ।’

    ‘अनि त!’, मैले मेरो साथीतिर हेरें।

    ‘हाइवेमा विभिन्न चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी बिक्रेताहरुले आपतकालीन सेवा प्रदान गर्ने गरेका छन्। हिँड्ने मान्छेले बुझेर हिँड्नुपर्‍यो। सम्बन्धित कम्पनीले पनि प्रचार–प्रसार गर्नुपर्‍यो, सरकारी निकाय पनि संवेदनशील हुनुपर्‍यो। हिँड्ने मान्छेले पनि यस्ता किसिमका जानकारी एकआपसमा साटासाट गर्नुपर्‍यो, अनि पो त कसैले पनि दु:ख पाउँदैन।’

    हाम्रो चियाको कप रित्तिइसकेको थियो। हामी उठ्यौं, छुट्टिनुअघि उनलाई तेस्रोपटक धन्यवाद दिन बिर्सेनौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]