|

काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र टयाक्सी चालकबाट तपाईं ठगिने गर्नुभएको वा टयाक्सी नपाएर हैरान हुनुहुन्छ? अब तपाईं यो झन्झटबाट चाडै मुक्त हुनुहुँदैछ। यसको व्यवस्थापन गर्न महानगरपालिकाले हेल्प डेस्क राख्ने भएको छ।

काठमाडौं महानगरपालिकाभित्र सञ्चालित टयाक्सी व्यवसायीबाट ठगिएको र रातिको समयमा ग्राहकले भनेको ठाउँमा ट्याक्सी नजाने गरेको गुनासो आएपछि महानगरपालिकाले हेल्प डेस्क राख्‍न लागेको हो। यात्रुले फोन गरेको आधारमा टयाक्सी उपलब्ध हुने गरी डेस्कको व्यवस्था गर्न खोजेको महानगरले जनाएको छ। 

महानगरबासीको सुविधाको लागि टयाक्सी व्यवसायीसँग सहकार्य गरी यस्तो सेवा दिन लागेको काठमाडौं महानगरपालिकाका सहरी व्यवस्था विभागका प्रमुख हरि कुँवरले बताए। उनका अनुसार पहिलो चरणको वार्तामा कति टयाक्सी आबद्ध हुन्छन् त्यसअनुसार हेल्प डेस्क कसरी र कहाँ राख्ने भनेर सल्लाह भएको हुने छ। टयाक्सीको आवश्यक पर्नेले महानगरको हेल्प डेस्कमा फोन गरी टयाक्सी मगाउँन सक्छन्। 

हेल्प डेस्क राखिएपछि ग्राहक टयाक्सी चालकबाट नठगिने उनले बताए। उनले भने, 'हेल्प डेस्क राखेपछि टयाक्सी चालकबाट ग्राहक ठगिन्दैनन्। हेल्प डेस्क राख्नुको मुख्य उद्देश्य टयाक्सी चालकले यात्रुलाई नठगुन भन्ने हो।' ग्राहकले फोनबाट सम्पर्क गरी टयाक्सीको सेवा पाउने उनले बताए। फोन गर्नेबित्तिकै टयाक्सी चालकलाई ग्राहकले कति पैसा तिर्ने हो ग्राहकले उतिखेर जानकारी पाउने उनको भनाइ छ। 

स्थानीय तहबाट नेपालमा पहिलोपटक यस्तो सेवा सुरु गर्न लागिएको उनले बताए। निजी क्षेत्रबाट टुटल, पठाओजस्ता कम्पनीले मोटरसाइकल र टयाक्सीबाट सेवा दिइरहेको उदाहरण दिँदै उनले भने, हेल्प डेस्कबाट ग्राहक र टयाक्सी चालक दुवैलाई फाइदा हुन्छ। यसबाट महानगरपालिकालाई केही फाइदा हुँदैन। महानगरबासीको फाइदाकै लागि नयाँ सेवा दिन लागेको हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.