|
डा. लवनरसिंह जोशी।

  • जयसिंह महरा/सविना खनाल

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाको उपचारमा संलग्न चिकित्सकहरुले उनको उपचारमा ‘चमत्कार भएको’ बताएका छन्। बिहीबार साँझ ओम अस्पतालमा कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा डाक्टर लवनरसिंह जोशीले ‘चमत्कार भैरहेको हो कि’ भन्ने आफूहरुलाई लागेको बताए।

‘फास्ट रिकभरी भइरहेको छ’, पत्रकार सम्मेलनमा डा. जोशीले भने, ‘चमत्कार भइरहेको हो कि भन्ने हामीलाई लागेको छ। सबै टिम लागिरहेका छौं।‘

कोइरालाको स्वास बन्द भएपछि आधा घण्टासम्म छाती दबाएर पम्प दिँदा स्वास प्रश्वास सुरु भएको उनले बताए। ‘स्वास बन्द भएकाले आधा घण्टा छाती दबाएका थियौं। अरुलाई छोडिदिन्थ्यौँ तर उहाँको सुधार देखियो, चमत्कार जस्तो भयो’, उनले भने। बिहीबार दिउँसो ३ बजेपछि कोइरालाको भेन्टिलेटर हटाइएको छ। 

कस्तो छ अवस्था?

डाक्टर जोशीका अनुसार कोइरालाले स्वास आफै लिइरहेका छन्, सँगै बाहिरबाट अक्सिजन पनि दिइएको छ। कोइरालाको ब्लड प्रेसर १२०/८० अर्थात सामान्य छ। ‘हिजोको भन्दा धेरै सुधार भएको छ’, डा. जोशीले भने, ‘तर अहिले नै खतरामुक्त भन्न सकिने अवस्था छैन। आइसियुमा भएकाले अझ १/२ दिन खतरामुक्त भन्न सकिन्न।’

उनका अनुसार कोइरालाले मान्छे चिन्न सक्छन् तर बोल्न सक्दैनन्। उनले केही कुरा खान पनि सकेका छैनन्, खोक्न पनि सकेका छैनन्। परिवारका सदस्यबाहेक अन्यलाई कोइरालालाई हेर्न/भेट्न दिइएको छैन। बिहीबार दिउसो ३ बजेदेखि भिआइपीलाई पनि भेट्न नदिइएको डा. जोशीले बताए। ‘बाह्य संक्रमण हुन्छ कि भनेर सचेत छौं’, उनले भने।

‘बाहिर लान ठीक छैन’

चिकित्सकले कोइरालालाई उपचारका लागि बाहिर लैजान सुझाएका छैनन्। ‘बाहिर लान अझै ठीक छैन। तर हामी खुला चाहिँ छौँ, थप उपचारका लागि लान दिन्छौं’, उनले भने। डा. जोशीका अनुसार कोइरालाको तीनवटा सिटिस्क्यान गर्नुपर्ने छ। तर कोइरालाको अवस्थाका कारण तत्काल त्यो सम्भव नभएको उनले बताए। ‘भोलि बिहान अहिलेको जस्तै भए सिटिस्क्यान गर्न सकिन्छ’, उनले भने।

सम्बन्धित समाचारः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.