काठमाडौं : दैनिक सयौँको संख्यामा दर्शनार्थी पुग्ने पशुपतिनाथको मन्दिरमा अहिले नित्य पूजा मात्र हुने गरेको छ। पशुपति मन्दिरमा पूजाको लागि लकडाउनको प्रभाव नपरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए।
'पशुपति मन्दिरका तीनजना भट्टले निरन्तर नित्य गरिरहेका छन्,’ उनले भने,’ मन्दिर जस्तो पवित्रस्थल भएकोले यसलाई केही प्रभाव पार्दैन। त्यसैले पूजालाई निरन्तर दिएका छौँ।' लकडाउनको समयमा दर्शनार्थी भने शून्यमा झरेको उनको भनाइ छ।
बेसहारालाई खाना
लकडाउनयता पशुपति क्षेत्रमा रहेका जीवजन्तु र बेसहारा मानिसलाई पशुपति क्षेत्र विकास कोषले नि:शुल्क खानाको व्यवस्था गरिरहेको छ। सदस्य सचिव ढकालले थाहाखबरलाई दिएको जानकारीअनुसार दैनिक ४ सयभन्दा बढी मानिसलाई भोजनको व्यवस्था गरिएको छ।
कोषले लकडाउनभर मानव र अन्य प्राणीको सेवा गरिरहने ढकालले बताए। 'धार्मिक क्षेत्र भएकोले जो कोहीले पनि यहाँ आएर सेवा लिन सक्नेछन्,’उनले भने,’ कसैलाई विभेद नगरी नि:स्वार्थ भावना राखेर सेवा गरिरहेको छौँ।' पशुपति विकास कोषलाई निरन्तर सहयोग गरिरहेका केही व्यक्ति पनि यसकार्यमा सहभागी भएको उनले जानकारी दिए।
‘विगतदेखि सहयोग गरिरहेका ६ जना व्यक्तिहरु सक्रिय रुपमा लागिरहेका छन्,’ उनले भने। दिउँसो १२ बजेदेखि २ बजेसम्म बेसहारा र खानको लागि स्रोत जुटाउन नसक्नेलाई भोजनको व्यवस्था गरिएको उनले जानकारी दिए।
आर्यघाटमा दैनिक १८ शव
आर्यघाटमा निरन्तर शवदाह गर्ने कार्य जारी रहेको पनि उनले बताए। अहिले पनि दैनिकजसो १७ देखि १८ वटा शव जलाइरहेको उनले जानकारी दिए। जस्तोसुकै कठिन परिस्थिति आए पनि शवदाह गरिने कार्य नरोकिने उनले प्रष्ट पारे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।