|

दमक : २०२० सालमा विराटनगर छोडेर दमक आउँदा झापा दमक–१४ का दहाउर ठाकुरको हातमा २ रुपैया ४५ पैसाको कैँची र ४५ पैसाको छुरा थियो।

अहिले दमक बजारमा किनेको १० धुर जग्गामा घर बनाउने तयारीमा छन्। यसमा दहाउरसँगै उनको छोरा र नातीको नाइ (कपाल काट्ने) पेशाको योगदान छ। उनका छोरा विनोद र नाती सन्तोष पनि अहिले यही पेशालाई निरन्तरता दिइरहेका छन्। हजुरबाले काठको पिरामा राखेर कपाल काट्नेदेखि सुरु भएको यो पेशा अहिलेसम्म आइपुग्दा दमक–११ मा संगम हेयर ड्रेसर सैलुनको नामले परिचित भइसकेको छ।

उमेरले ७० बर्ष पुगेका दहाउर दमक आउँदा यहाँ धेरै बाक्लो बस्ती थिएन। अहिलेको विकास देखेर उनी छक्क पर्छन्। यही विकाससँगै कपाल काट्ने तरिका र शैलीमा समेत विकास भएको उनी बताउँछन्। ठाकुर भन्छन्,‘पहिला हाम्रा पालामा बंगला कट, ब्रस कट र इंग्लिस कट थियो, अहिले आएर के–के हो के–के, कसैले रोनाल्डो त कसैले मग कट भन्छन्।’

आफूले कैची र छुराले मात्र कपाल काटेकोमा अहिले मेसिन हुनाले धेरै सजिलो हुने गरेको उनको भनाइ छ। ‘विकास धेरै भयो यो पेशामा, अबका पुस्तालाई हाम्रो जस्तो दुःख गर्नु पर्दैन’  दहाउर भन्छन्।

दहाउरका छोरा ४२ बर्षीय विनोद आफ्नो समयमा भने अलि फरक रहेको बताउँछन्। उनका पालामा हिन्दी फिल्मका हिरोहरु अजय देवगान, सञ्जय दत्त र मिथुनको हेयर स्टाइलको बढी प्रचलन थियो। अहिले यो सैलुनमा दैनिक जसो न्युनतम १५–२० जना कपाल काट्न आउने गरेका छन्ल। दिनको १५ सय जस्तो बस्ने गरेको विनोदले बताए। खासै कमाई नभए पनि जिविका चलिरहेकोले यही पेशालाई निरन्तरता दिने उनको भनाइ छ।

अहिले कपाल काट्ने बिधि र प्रयोगमा आधुनिकिकरण आएको उनले बताए । विनोदले भने,‘बुवा त अहिलेको परिवेशमा चल्न गाह्रो छ, कतिपय हेयर स्टाइल उहाँलाई थाहा छैन तर पनि सामान्य कपाल काट्ने गर्नुहुन्छ, बसेर खाने उमेरमा पनि सैलुनमा सहयोग गरिरहनु भएको छ,धेरै खुशी लाग्छ।’ 

२२ बर्षका सन्तोष भने अहिलेको पुस्ताका लागि सुहाउने कपाल काट्छन्। उनले कुनै ब्यवसायिक तालिम लिएका छैनन् तै पनि उनलाई कपाल काट्ने नयाँ नयाँ प्रविधि र स्टाइलका बारेमा जानकारी छ। अहिले दमकमा चलेको हेयर स्टाइलमा हाफ स्टेप, मग, रोनाल्डो तथा सेग्गी लगायतका रहेको उनी बताउँछन्।

कपाल काटेरै अहिलेको समयमा जीवन धान्न सकिने कुरामा सन्तोष विश्वस्त छन्। आफू संगैका साथी विदेशी गएका छन् तर पनि उनी यही पेशालाई निरन्तरता दिँदै अध्ययन पनि अगाडि बढाउने सोँचमा छन्। उनी भन्छन्,‘साथीभाई विदेश गएर पैसा कमाएको देख्दा कहिलेकाहीँ त विदेश जाउँ जस्तो लाग्छ तर फेरि वरिष्ठ हेयर डिजाइनर निल डेबिडलाई सम्झिन्छु, आखिर गर्दा त यो पेशाले पनि त संसार चिनाउँदो रहेछ।’

दहाउर ठाकुर भने आफ्नो नाती पुस्ताले समेत यही पेशा अंगालेकोमा अत्यन्तै खुशी छन्। आफूले दुःख गरेर अहिले यो स्थानसम्म परिवार आइपुगेको बताउदै उनले छोरा र नातीले पनि सक्दो साथ दिएको बताए । आफूले काम गर्दाको बेला र अहिले यो पेशामा धेरै परिर्वतन भएको दहाउरले बताए।

उनले भने,‘मेरो पालामा कपाल काट्ने लाई ज्यादै हेप्ने गरिन्थ्यो तर अहिले यो पेशामा सबैले सम्मान नै गर्छन्।’ यही पेशाले ठाकुरले अहिले ८ सदस्य सहितको परिवार चलाइरहेका छन्। रासन पानी, कोठाभाडा, लत्ताकपडा, स्वास्थ्य र शिक्षाका लागि समेत पुगिरहेको उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.