|

दमक : स्वतन्‍त्र विद्यार्थी यूनियनको चुनाव नजिकिंदै गर्दा झापाको गौरादह बहुमुखी क्याम्पसका एक प्राध्यापक अनेरास्ववियूका पक्षमा भोट माग्दै हिडेंका छन्।

क्याम्पसको कक्षा ११ र १२ मा विज्ञान संकाय अन्तर्गत बायोलोजी विषयका प्राध्यापक मित्रदेव काफ्ले अनेरास्ववियूको चुनावी प्रचारमा लागेपछि अन्य विद्यार्थी संगठनहरुले विरोध गरेका छन्।

उनले डिप्लोमा पढ्ने विद्यार्थीहरुलाई नजिकैको निजी विद्यालय ज्ञानज्योती माविमा लगेर स्ववियू चुनावमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनलाई भोट हाल्न अनुरोध गरे। भिडियो हेर्नुस् 

'देशमा केही गर्छ त एमालेले गर्छ। केपी ओलीले ल्याएको कार्यक्रमलाई कसैले काट्न सकेन। ओलीले एक वर्ष भित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका थिए, त्यो लगभग अन्त्य भई सकेको छ,' निजी विद्यालयमा लगेर क्याम्पसका विद्यार्थीहरुलाई प्रशिक्षण दिने क्रममा काफ्लेले भनेका छन्।

उनले ओलीका योजनाहरुलाई हाँसोमा उडाउन नमिल्ने बताएका छन्। विद्यालय तहदेखि नै अनेरास्ववियूमा संलग्न रहेको उनले बताए। उनी नेकपा एमाले गौरादह नगर अध्यक्ष समेत हुन्। 

क्याम्पसमा क्रियाशिल अन्य तीन विद्यार्थी संगठनहरुले काफ्लेको हर्कतप्रति आपत्ति जनाएका छन्। नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले यस कार्यको विरोध गरेका छन्।

नेवि संघका झापा कोषध्यक्ष भवनी काफ्लेले पठन पाठन छाडेर प्राध्यपकले अखिलको भोट माग्न नमिल्ने बताए। ' भोट माग्ने हो भने क्याम्पस समयभन्दा बाहिर पठन पाठन नरोकी माग्नुहोस् होईन भने यस्तो गर्न पाईदैन,' उनले भने। 

अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य युवराज खनालले प्राध्यापन पेशा छाडेर राजनीतीमा आउन समेत सुझाव दिए। 'प्राध्यापकको मर्यादाभन्दा बाहिर नजानुहोस्, कि त प्राध्यापन पेशा छोडेर राजनीति गर्न मैदानमा आउनुहोस्।'

क्याम्पस प्रशासनलाई यस विषयमा कुनै जानकारी नभएको क्याम्पस प्रमुख हिम्द बहादुर दाहालले बताए। 'बिहान दोश्रो घण्टी पढाई भएपटछ सबै विद्यार्थी मिटिंङ्ग छ भन्दै गए, यसमा मलाई अरु थाहा छैन्। मित्र सरको एउटा पिरियड मात्र हो, मलाई अरु जानकारी छैन।' 

काफ्ले भने आफु  क्याम्पस नआएको दाबी गर्छन्। उनले थाहा खबरसँग कुरा गर्दै विद्यार्थीले आयोजना गरेको भेलालाई सम्बोधन मात्र गरेको बताए। 'म आज क्याम्पस गएको थिईन विद्यार्थीले आयोजना गरेको कार्यक्रमलाई मात्र संबोधन गरेको हो, तपाईहरुले यो कुरालाई ठूलो नबनाईदिनु होला यो कुरा ठूलो होईन,' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.