काठमाडौँ : संसारमै उत्कृष्ट सावित भएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै फालेर राजतन्त्र फर्काउन लागेकाहरूको अभियान अलपत्र अवस्थामा पुगेको छ। राजतन्त्र र हिन्दुराष्ट्र पुनःस्थापनार्थ आन्दोलन हाँक्ने गरी कमान्डर तोकिएकादेखि अन्य अग्रमोर्चामा खटिने अन्य व्यक्तिहरू नै नजरबन्द तथा प्रहरी हिरासतमा पुगेपछि राजतन्त्र फर्काउने अभियान तुहिएको आमबुझाइ छ।
पछिल्लो प्रजातन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिपछि व्यवस्था नै ढाल्ने भन्दै हौसिएका राजावादीहरू चैत १५ गते तीनकुनेमा आफैले मचाएको अराजकताको शिकार बनेका हुन्। ठूलो जनधनको क्षति हुने गरी भएको उक्त हिंसात्मक आन्दोलनपछि प्रहरीको फन्दामा पर्ने त परिगए‚ जोगिएका राजावादीहरू पनि आफैँ त्रस्त र सशंकित देखिन्छन्।
तीनकुने आन्दोलनको कमाण्डर तोकिएका दुर्गा प्रसाईं अहिले प्रहरी हिरासतमा छन्। आन्दोलन अराजक बनेसँगै ठूलो मानवीय तथा भौतिक क्षति भएपछि फरार भएका उनलाई केही दिनअघि प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको हो।
उक्त आन्दोलनलाई लालमोहर लगाउने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी अहिले नजरबन्दमा छन्। पूर्वराजा शाहले नै उनलाई सबै राजावादीका लागि स्वीकार्य हुने बुझाइका साथ उक्त जिम्मेवारी दिएका बताइएको थियो। तर सुवेदी नजरबन्दमा परेपछि संयुक्त समितिको जिम्मेवारी डा. जगमान गुरुङले सम्हालिरहेका छन्।
आन्दोलनकै साँझ पक्राउ परेका संयुक्त जनआन्दोलन समितिका दुई सदस्य रवीन्द्र मिश्र र धवलशमशेर राणा पनि प्रहरी हिरासतमै छन्। राप्रपा वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्र समितिका सदस्य सचिव हुन् भने राप्रपा महामन्त्रीसमेत रहेका राणा संयुक्त समितिअन्तर्गतकै आन्दोलन परिचालन समिति संयोजक हुन्।
यसबाहेक आन्दोलनका नाममा अराजकता मचाउने दर्जनौं आन्दोलनकारीहरू प्रहरी नियन्त्रणमै छन्। उनीहरूले सार्वजनिक सम्पत्ति, दलका पार्टी कार्यालय र निजी घर तथा पसलहरूमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए। उनीहरूमाथि विभिन्न कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
यसरी आन्दोलनको अग्रमोर्चामा खटिएका र दर्जनौं आन्दोलनकारीलाई पक्राउ गरेर अनुसन्धान थालिएपछि राजावादी आन्दोलन तुहिएको टिप्पणी हुन थालेको छ।
त्यसो त पूर्वराजा शाह पनि संयमित सुनिन थालेका छन्। तीनकुने घटनामा प्रत्यक्ष संलग्न रहेको भन्दै उनीमाथि पनि अनुसन्धान हुनुपर्ने बलियो मत व्यक्त भइरहँदा उनी थप आक्रामक भएनन्।
नयाँ वर्ष २०८२ को शुभकामना दिँदा शाहले ७ फागुनमा जस्तो राजावादीलाई हौस्याउ अभिव्यक्ति दिएनन्। बरु यसपटक उनले मुलुकको अवस्था र सुधारका सम्भवानाबारे लामो समय खर्चिए ।
राजावादी भन्छन्– प्लानिङ र नेटवर्किङमा छौं, छिट्टै एक्सनमा जान्छौं
राजावादीहरू आन्दोलन तुहिएको भन्ने टिप्पणी अस्वीकार गर्छन् । राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनार्थ गठित संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक डा. जगमान गुरुङ राजावादीहरूमै पनि त्यो आन्दोलन तुहिएका बुझाइ भए पनि त्यस्तो नभएको बताउँछन्।
उनी भन्छन्, ‘१५ गतेको आन्दोलनदेखि राजावादीहरूको आन्दोलन तुहियो भन्ने व्यापक छ। राजावादीहरूमध्यकै कतिपयमा पनि यो हो कि त भन्ने परेको छ तर त्यस्तो होइन।’
गुरुङले देशका विभिन्न ठाउँमा आन्दोलन भइरहेको सुनाए। संयुक्त आन्दोलन समिति पनि ‘प्लानिङ र नेवर्किङ’मा रहेको भन्दै उनले अब छिट्टै ‘एक्सन’मा उत्रने बताउँछन् ।
‘आन्दोलन निरन्तर अघि बढिरहेकै छ। धनगढीतिर समिति बनेको छ, झापामा बनेको छ र कतिपय ठाउँमा समिति बन्ने क्रम जारी छ। कार्यक्रमहरू पनि भइरहेकै छन्’, उनी भन्छन्, ‘हाम्रो संयुक्त जनआन्दोलन समितिको मुख्य आन्दोलनका लागि चाहिँ हामी प्लानिङ र नेवर्किङमा छौं । छिट्टै एक्सनमा जान्छौं।’
गुरुङका अनुसार राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थपनार्थ पोखराको मुस्ताङ चोकमा युवाहरू धर्ना बसिरहेका छन् । आज २ गते तीनकुनेमा महिलाहरूले कालो वस्त्र लगाएर थाल ठटाउने कार्यक्रम थियो, विस्केट जात्राले गर्दा ५ गतेलाई सरेको छ ।
यस्तै भोलि नेपाल प्राज्ञिक मञ्चले युवा प्राज्ञिक प्रतिबद्धता भनेर आगामी योजनाबारे वैचारिक मन्थन गर्दै छन् । ४ गते धनगढीमा मोटरसाइकल र्याली आयोजना गरिएको छ भने सर्लाही र सिराहातिर पनि कार्यक्रम भइरहेको संयुक्त आन्दोलन समितिका संयोजक गुरुङले बताए।
राजावादीहरू एकै ठाउँ रहेको दाबी
एजेन्डा एउटै भए पनि राजावादीहरू विभाजित देखिन्छन्। राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको वकालत गर्ने राप्रपासहित दर्जन सानातिना संगठनहरू छन् तर उनीहरू आ-आफ्नै ढंगले चलिरहेका छन् भने एकअर्काको आलोचना पनि गर्ने गरेका छन्।
तर पूर्वराजा शाहको स्वागतका नाममा फागुन २५ मा एकसाथ विमानस्थलमा उत्रिँदा ठूलै देखिएको छ। त्यही भीड देखेर झन् उत्साहित भएका पूर्वराजा शाहले राजावादी आन्दोलनलाई एकीकृत गर्न पञ्चनेता नवराज सुवेदीलाई जिम्मेवारी दिए पनि असफल भयो। बरु त्यहीँबाट झन् राजावादीहरू विभाजित छन् भन्ने स्पष्ट सन्देश गयो।
तर संयुक्त जनआन्दोलन समितिका संयोजक गुरुङ भने आफूहरू एकै ठाउँ रहेको दाबी गर्छन्। बाहिर देखिँदा विभाजित जस्तो देखिए पनि राजावादीहरू एउटै मञ्चमा आउन लागेको बताउँछन्।
‘जब नवराज सुवेदीजीको नेतृत्वमा समिति बन्यो, त्यसमा केही नेताहरूले सहमति जनाएनन्, त्यसकारण मात्र यिनीहरूमा एकता रहेनछ भन्ने परेको हो। तर बाहिर देखिएको मात्र त्यस्तो हो। यथार्थमा त्यो होइन’, उनी भन्छन्, ‘अस्ति चैत २७ गते धुमवाराहीको स्मार्ट दरबारमा प्रतिबद्धता कार्यक्रम भयो। जहाँ केशरबहादुर विष्ट, कमल थापा आएर बोल्नुभयो। राप्रपाबाट लिङ्देन नआए पनि वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी आएर बोल्नुभयो। बिपी नेपालका सुशीलमान शेरचनले नभ्याएपछि कर्ण मल्ल, शिवसेनाबाट गंगा चौधरी आउनुभयो । हामी यसरी एक हुँदै छौं, एउटै मञ्चमा आउँदै छौँ।’
तीनकुने घटनामा मुख्य जिम्मेवार ठानिएका प्रसाईं भेट्न अन्य राजावादीहरू नगएको विषयलाई पनि विभाजनसँगै जोड्ने गरिएको छ तर गुरुङ प्रसाईंप्रति सद्भाव र सहानुभूति भएको दर्शाउँछन्।
‘कतिपय व्यक्ति वारेन्टेड छन्, उहाँ (दुर्गा)लाई भेट्न जाँदा च्याप्पै समाउला भन्ने त्रास पनि होला’, उनी भन्छन्, ‘तर उहाँप्रति हाम्रो सद्भाव र सहानुभूति छ । उहाँको पृष्ठभूमि जस्तो भए पनि तीनचार वर्ष यता राजा र धर्म पुनःस्थापनाका लागि जे भूमिका खेलिराख्नुभएको छ, त्यो सह्रानीय छ।’
के भन्छ राप्रपा ?
पूर्वराजकै नाममा राजनीति गर्दै आएको राप्रपा पनि आन्दोलन अलपत्र नपर्ने दाबी गर्छ। प्रवक्ता मोहन श्रेष्ठ ४ गते पार्टीको बैठक बसेर आगामी आन्दोलनबारे योजना बनाउने बताउँछन्।
‘आन्दोलन अलपत्र हुँदैन। हामी ४ गते पार्टीको बैठक बस्दै छौँ। त्यसपछि सम्भवतः ७ गतेदेखि फेरि अर्को आन्दोलन सुरु गर्छौं’, उनी भन्छन्‚ ‘कस्तो खाले आन्दोलन भनेर मोडालिटीबारे चाहिँ बैठकपछि नै स्पष्ट हुन्छ।’
राजावादीहरूको संयुक्त जनआन्दोलन समितिप्रति भने राप्रपा संस्थापन पक्ष सुरुदेखि नै त्यत्ति सकारात्मक छैन। राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना एजेन्डा बोक्ने सबैभन्दा ठूलो संगठन भए पनि संयुक्त जनआन्दोलनको जिम्मेवारी नवराज सुवेदीलाई दिइएपछि अध्यक्ष राजेन्द्र लिङ्देन सुरुदेखि नै रुष्ट छन्।
अध्यक्ष लिङ्देनले संयुक्त समितिको सदस्य पद सुरुमै अस्वीकार गरेका थिए भने पार्टीले छुट्टै कार्यक्रम गर्ने निर्णय पार्टीमा गराएका थिए। तर पछि पार्टीमै अल्पमतको अवस्था आउने भएपछि दुर्गा प्रसाईं कमाण्डर तोकिएका १५ गतेको आन्दोलनमा पनि समर्थन जनाएको थियो।
यद्यपि उक्त आन्दोलन हिंसात्मक बनेपछि राप्रपा आफ्नै ढंगले अघि बढ्न खोजेको देखिन्छ। प्रवक्ता श्रेष्ठ संयुक्त समितिले ‘स्वरूप ग्रहण गरिनसकेको’ प्रतिक्रिया दिन्छन्। उनी भन्छन्, ‘संयुक्त रूपमा अघि बढ्ने सन्दर्भमा (समितिले) अलि स्वरूप ग्रहण गरिसकेको छैन।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।