'सबैले जस पाउनुपर्छ' : देवेन्द्र पौडेल, 'आफ्नो पालामा किन नक्सा नछापेको ?' : सूर्य थापा

|

काठमाडौं : देशको नयाँ नक्सालाई समेत सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विवादको विषय बनाएको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतद्वारा अतिक्रमित कालापानी क्षेत्र समेटेर जेठ ५ गते जारी भएको नेपालको नयाँ नक्साको जस सिंगो पार्टीलाई हुनुपर्ने बताएका छन्‌ भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरू यसैलाई लिएर प्रचण्डमाथि खनिएका छन्‌। 

पुष्पलाल श्रेष्ठको ४०औं स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रचण्डले नक्सा जारी गर्ने प्रकृया ओलीले नभई पार्टीको निर्देशनमा भएको बताएका थिए। पार्टीको निर्देशनपछि मात्रै सरकारले अतिक्रमित भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेको उनको भनाई थियो।

प्रचण्डको प्रश्‍न : नक्सा निकाल्न ६ महिना लगाउने राष्ट्रवादी, अरू चाहिँ दलाल ?

प्रचण्डको यो अभिव्यक्ति आउनुअघि ओलीको समर्थनमा उत्रिएका व्यक्तिहरूले 'प्रधानमन्त्री ओली राष्ट्रवादी, प्रचण्ड भारतीय दलाल' लेखिएका प्लेकार्ड बोकेर काठमाडौंको माइतीघर मण्डलालगायत विभिन्न जिल्लामा प्रदर्शन गरेका थिए।

भारतद्वारा अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गर्नुमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष भूमिका रहेको भनेर केहि दिन पहिले सडकमा नारा जुलुस नै भएको थियो। यस्ता गतिविधिबाट चिढिएका प्रचण्डले पार्टी बैठकको निर्देशनअनुसार सरकारले नक्सा सार्वजनिक गरिएको, तर कसैलाई देवत्वकरण गर्ने र कसैलाई राष्ट्रघाती भन्नु गलत रहेको बताएका थिए।

कार्यशैली र आचरणलाई लिएर पार्टीभित्र विवाद झेलिरहेका र राजीनामा समेत मागिएका प्रधानमन्त्री ओली पक्षधर नेताहरूले पूर्वअनुमान गरिएझैं अन्तत: नक्सालाई नै पार्टी विवादमा आफू हावी हुने आधार बनाइदिएका हुन्‌। ओलीका पक्षमा सडक प्रदर्शन हुँदै आफूलाई 'भारतीय दलाल' करार गरेपछि प्रचण्डले यस्ता गतिविधिमाथि आलोचना गर्दा ओली पक्षका नेताहरू शुक्रबार बेलुकीदेखि नै उनीमाथि खनिन थालेका थिए। 

दाहालविरुद्ध ओलीपक्षका नेताद्वय एवम्‌ नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा विद्युतीय सामाजिक सञ्‍जालको फ्रन्टलाइनमा उत्रिएका छन्‌। उनीहरूले सामाजिक सञ्जालमै प्रचण्डमाथि कटाक्ष गरेका हुन्‌।

प्रदेश नम्बर-५ का मुख्यमन्त्रीसमेत रहेका पोखरेलले कालापानी क्षेत्रको सीमा विवाद पुरानै रहेको उल्लेख गर्दै 'आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले उहाँले होइन, मैले हो भन्न कसरी सकेको?' भनी प्रश्न गरेका छन्। यस्तै, नेकपा प्रचार विभागका उपप्रमुखसमेत रहेका थापाले अध्यक्ष दाहालप्रति लक्षित प्रश्न गरेका छन्, ‘यसरी दिउँसै रात पार्ने तथ्यहीन कुरा गर्नुको साटो बरु आफू प्रधानमन्त्री रहेको बेला पहिल्यै यो नक्सा यसैगरी प्रकाशित गरेर इतिहास रचेको भए हुँदैनथ्यो होला र? निर्देशन दिएको भरमा हुने यति सजिलो काम किन आफैंले किन नगरेको होला?

सूर्य थापाको आरोप : 'प्रचण्डले दिउँसै रात पार्ने कुरा गर्दै हुनुहुन्छ'

उनले केन्द्रीय कमिटीले सरकारलाई नक्सा प्रकाशन गर्न निर्देशन दिएको प्रचण्डको भनाइको खण्डन गर्दै सो कुरा गलत भएको दाबीसमेत गरेका छन्‌। बैठकको निर्णय नै सार्वजनिक गरिदिएका छन्। 'विपक्षी दलका नेताको यसमा कुनै गुनासो र हीनता प्रकट नहुने, तर सत्ताधारी दलभित्रै किन उछिनपाछिनको होडबाजी चलिरहेको छ?' थापाले फेसबुकमार्फत प्रश्न सोधका छन्। पोखरेल र थापाले प्रधानमन्त्री ओली भएकै कारण नक्सा छापिएको भन्दै बचाऊ गरेका छन्।

उनीहरूको यस्तो प्रतिक्रियाले नेकपाभित्र चुलिएको विवादले झनै उग्ररूप लिने अनुमान हुन थालेको छ।

जस सबैले पाउनुपर्छ : देवेन्द्र पौडेल

नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल भने नेकपा र सरकार एक्लैले मात्र नक्सा जारी नगरेको बताउँछन्। थाहाखबरसँग कुरा गर्दै उनले नक्सा सार्वजनिक गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेपनि यो सबैको साझा मुद्दा भएको बताए।

अतिक्रमित भूमि समेटेर नक्सा सार्वजनिक गर्ने कार्यमा नेकपा र सरकार मात्र नभइ प्रतिपक्षी पार्टीहरू र आम नेपाली जनता सबैको शतप्रतिशत साथ सहयोगमा भएकाले जस पनि सबैले पाउनुपर्ने उनी बताउँछन्‌।

‘नेपाल र नेपालीको साझा मुद्दा, साझा विषय प्रधानमन्त्री मार्फत अभिव्यक्त भएको हो,' उनले भने ‘त्यस (नक्सा छाप्ने काम)मा प्रधानमन्त्री ओलीले नेतृत्व गर्नुभयो, त्यसमा हामी साथ दिन्छौं, समर्थन गर्छौं, सम्मान गर्छौं, तर यो बिषय पार्टी, प्रतिपक्षीलगायत मधेसवादीदेखि लगेर नागरिक समाज र सबै नेपालीको साझा मुद्दा र एजेण्डा हो, त्यसमा सबैले जस लिनुपर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.