|

बैतडी : लगातार मनसुनी वर्षाका कारण बैतडीका विभिन्न ठाउँमा सञ्चार सेवा अवरुद्ध बनेको छ। जिल्लाका दुई नगरपालिका र चार गाउँपलिकामा सञ्चारसेवा अवरुद्ध बनेको हो। जिल्लाको पुर्चौडी नगरपालिका र  मेलौली नगरपालिकाका अधिकांश वडामा सञ्चार अवरुद्ध बनेको स्थानीयले बताएका छन्।

यस्तै, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा नेपाल टेलिकमको नमस्ते तथा स्काई, स्मार्ट र एनसेलको सेवा अवरुद्ध बनेको हो। घाम नलाग्दा टेलिफोनको टावरमा सोलार चार्ज हुन नपाउँदा टावरले काम नगरेको नेपाल टेलिकमले जनाएको छ। विद्युतीकरण नभएका उक्त ठाउँहरुमा घाम नलागेपछि टावरमा राखिएको सोलार चार्ज हुन नपाउँदा मोबाइल  सेवा अवरुद्ध हुने गरेको छ। विद्युतीकरण नभएका जिल्लाका अन्य क्षेत्रको  अवस्था पनि यस्तै छ।

हजारौं नागरिक सञ्चार सेवाबाट वञ्चित

जिल्लाका यी ६ ओटै पालिकामा नेपाल टेलिकमले प्रदान गर्दै आएको जिएसएम, स्काई र एनसेलको टावरले काम गर्ने गरेको स्थानीयले बताएका छन्। पुर्चौडीमा नेपाल टेलिकमले प्रदान गर्दै आएको स्काई फोन सेवा र जिएसएम मोबाइल सेवा अवरुद्ध हुँदा हजारौं ग्राहक मारमा परेका छन्। बादल लाग्नेबित्तिकै मोबाइल सेवा अवरुद्ध हुने गरेको पुर्चौडीका स्थानीयवासिन्दा  लालबहादुर भण्डारीले गुनासो गरे। ‘घाम नलागेको दिन मोवाइलमा टावर टिप्दैन।’ उनले भने। 

डिलाशैनी गाउँपालिकामा सञ्चार सेवा पूर्ण रूपमा सेवा अवरुद्ध हुँदा स्थानीयले सास्ती खेप्नुपरेको स्थानीय महेश बोहोराले बताए। ‘नेपाल टेलिकमको मठैराजमा रहेको टावरले काम नगर्दा मोबाइल सेवा अवरुद्ध छ’ उनले भने।

जिल्लाको विकट क्षेत्र तल्लोस्वारडका तीन स्थानीय तहमा पनि सञ्चार सेवा अवरुद्ध रहेको छ। ‘मोबाइलमा छिनमै टावर आउँछ छिनमै जान्छ,’ शिवनाथका गम्भीर दयालले भने, ‘हामी बर्खाभरि सञ्चार सुविधाबाट वञ्चित छौ।’

बैतडीमा नेपाल टेलिकमको नमस्ते, स्काई फोन, निजी दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल र स्मार्ट प्रयोगमा छन्। तर, पहाडी भूबनोटका कारण जिल्लाका धेरै बस्तीमा सञ्चार सेवा पुगेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.