बाबुरामलाई सम्झाए 'द्वन्द्ववाद'

|

काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका १५ नेताले २४ घण्टाभित्र स्पष्टीकरण दिन पार्टीले दिएको निर्देशनबमोजिम संयोजक बाबुराम भट्टराईलाई लिखित स्पष्टीकरण पेश गरेका छन्। नेता देवेन्द्र पौडेलसहितका १५ नेताले सोमबार संयोजक डा. भट्टराईलाई जवाफ दिएका हुन्।

पार्टीभित्रका असन्तुष्टिहरू पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेपछि डा. भट्टराईले आइतबार उनीहरू स्पष्टीकरण सोधेका थिए।

के थियो भट्टराईको प्रश्न?

पार्टी विचारविहीन रहेको नेताहरूको आरोपलाई भ्रामक भन्दै भट्टराईले साउन २६ गते पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको अपिलका बारेमा जवाफ मागेका थिए। असन्तुष्ट नेताहरूले साउन ९ र १० गते सम्पन्न केन्द्रीय समिति बैठक र साउन ११ देखि १३ सम्म सम्पन्न संघीय परिषद् बैठकमा भिन्न मत दर्ज नगरेको र पार्टीभित्र राख्नुपर्ने विषय बाहिर सार्वजनिक गरिएको भन्दै संयोजक भट्टराईले उनीहरूलाई अनुशासन उल्लंघनको कारबाही गर्ने चेतावनी दिएका थिए।

भट्टराईले सोधेको प्रश्नको जवाफ दिँदै १५ नेताले पठाएको स्पष्टीकरणको आधारमा अब नयाँ शक्तिले १५ नेताहरूको कदमबारे निर्णय लिने छ।

के छ १५ जनाको जवाफमा?

अनुशासनको कारबाही गर्ने पार्टीको चेतावनीको जवाफ दिँदै नेताहरूले स्पष्टीकरणपत्र र अनुशासनको कारबाही गर्ने चेतावनी रद्द गर्न माग गरेका छन्। 'हामीउपर लगाइएको दोषारोपण सहितको स्पष्टीकरणपत्र र कारबाही तत्काल रद्द गर्ने निर्णय तथा घोषणा गरी नयाँ शक्ति पार्टी, नेपालमा विचार र अभिव्यक्तिको स्वतन्त्रताको रक्षा साथै विचार, सिदान्त र दर्शनको सम्मान गर्ने संस्कृति विकास होस्', उनीहरूको जवाफमा उल्लेख छ।

'बाबुरामले हाम्रो हैसियत बुझेनन्'

संयोजक भट्टराईलाई दिएको जवाफमा उनीहरूले 'स्पष्टीकरण माग गरिएको पत्र हतासमा तयार गरिएको र कैयौँ महत्वपूर्ण विषयबारे पत्रमा उल्लेखित ब्यहोरा त्रुटिपूर्ण' रहेको आरोप लगाएका छन्। भट्टराईले आफ्नो हैसियत नबुझेको उनीहरूको भनाइ छ।

'हामी सवै संघीय परिषदको सदस्य मात्र हैन। हामी अधिकांश महाधिवेशन आयोजक समितिका सदस्यहरू हौँ। स्पष्टीकरण माग गरिएका व्यक्तिहरूको हैसियत के हो? पार्टीमा रहेको रेकर्ड समेत नहेरी हामीलाई जारी गरेको पत्र स्वभाविक नभएको मात्र हैन, फेहरिस्त हेर्दा धेरै त्रुटिहरू विद्यमान भएको प्रतिक्रिया व्यक्त गर्न चाहन्छौं', जवाफमा भनिएको छ।

नयाँ शक्तिको सैद्धान्तिक, वैचारिक, राजनीतिक कार्यदिशा र कार्ययोजना स्पष्ट गर्न जोड दिँदै पटक पटक संयोजक भट्टराईसँग मौखिक रुपमा माग गरिएको उनीहरूले उल्लेख गरेका छन्। साउन ९ गते बामदेव क्षेत्रीले संयोजक भट्टराईलाई लिखित सुझाव बुझाएको, मुक्ति प्रधानले पार्टीको राजनीतिक कार्यदिशा र नेतृत्वको भूमिकाबारे सुझाव सहितको पत्र असार २० गते भट्टराईलाई बुझाएको उनीहरूले स्मरण गराएका छन्।

साउनमा भएको केन्द्रीय बैठक र संघीय परिषद् बैठकका सहभागीहरूले दिएको सुझाव मतलब नगरी एकपक्षीय रुपमा प्रतिवेदन तयार पारिएको उनीहरूले आरोप लगाएका छन्। 'यथास्थितिमा राजनीतिक प्रतिवेदन पारित भएको किमार्थ होइन। संघीय परिषद् भेलामा उठेका विषयवस्तु समावेश नगरी एकपक्षीय प्रतिवेदन तयार गरेको हामी महाधिवेशन आयोजक समितिका सदस्यहरूलाई वितरित प्रतिवेदनबाट देखियो। यसबाट विषयवस्तु झन् जटिल बन्दै गयो', जवाफमा भनिएको छ, '….थुप्रै आशंका सिर्जना भएको पृष्ठभूमिमा….पार्टीकै हितमा खुल्ला छलफल होस् भन्ने उद्देश्यले सार्वजनिक गरेको कार्यलाई अनुशासन उल्लंघन गरेको भन्ने परिभाषा गर्न र निश्कर्षमा पुग्न कुनै कोणबाट समेत नमिल्ने भएकोले संयोजक लगायत पार्टीका सार्वभौम सदस्यहरूलाई दिग्भ्रमित नहुन अनुरोध गर्दछौँ।'

नयाँ शक्तिको विधानमा राजनीतिक विषयमा खुला बहस गर्ने, अभिमत राख्ने, विचार व्यक्त गर्ने, लेख्ने/बोल्ने स्वतन्त्रतालाई अनुशासनको दायरामा ल्याइने छैन भन्ने व्यवस्था रहेको उल्लेख गर्दै उनीहरूले भनेका छन् 'हामीले सकारात्मक सोच साथ नयाँ शक्ति पार्टीलाई विचारसहित जनतामा स्थापित गर्नुपर्ने अनिवार्यतालाई जोड दिएको विषयवस्तुलाई ठीक विपरीत दिशाबाट सोच बनाई अनुशासन उल्लंघन गरेको भन्ने नामाकारण गरी हामीलाई सोधिएको स्पष्टीकरणपत्र विधानको भावना विपरीत भएको र हामीप्रति पूर्वाग्रह राख्ने केही समकक्षी मित्रहरूको हतास मानसिकताको परिणाम भएको निश्कर्षमा पुग्न बाध्य भएका छौँ।'

'पत्रकार सम्मेलन होइन'

जवाफको तेस्रो बुँदामा 'केही पत्रकारको बीचमा अनौपचारिक छलफल गरेको' भन्दै उनीहरूले भटटराईले स्पष्टीकरणमा सोधेजस्तो पत्रकार सम्मेलन नगरेको जनाएका छन्। 'पत्रकार सम्मेलन गरे भन्ने सूचनाको स्रोत नै पूर्वाग्रहपूर्ण रहेको छ, पत्रकार सम्मेलन भएको पुष्टि गर्ने आधार र कारणहरू पनि हुनुपर्छ।'

उनीहरूले स्पष्टीकरण पत्रको भाषाका विषयमा पनि आपत्ति जनाएका छन्। 'सामान्य विषयलाई गम्भीर घटनाको संज्ञा दिई राजनीतिक अन्तरसम्वादको आधारमा विषयवस्तुको समाधान गर्न यथार्थता बुझ्नुपर्नेमा सुनेको भरमा अप्रत्यासित रुपमा स्पष्टीकरण माग गर्ने निर्णयमा पुग्नु आफैमा गम्भीर विषय बनेको छ', जवाफमा उल्लेख छ, 'हामी विरुद्ध कारबाही किन नगर्ने भनी स्पष्टीकरणमा प्रयोग भएको भाषा आफैमा कठोर र त्यसको प्रभाव एकाधिकारवादी प्रकृतिको देखिन्छ।'

प्रतिगमनकारी र यथास्थितिवादी शक्तिहरू अग्रगामी रुपान्तरणलाई अवरोध सिर्जना गर्न तल्लिन रहेको जिकिर गर्दै उनीहरूले जटिल अवस्थाबाट मुलुकलाई निकास दिन अग्रगामी शक्तिहरूको वृहद ध्रुवीकरण बाहेक अन्य राजनीतिक निकास तत्काल नदेखिने जवाफमा उल्लेख गरेका छन्।

विवेकले काम लिन बाबुरामलाई सुझाव

डा. भट्टराईको नामै किटेर मोर्चाबन्दी, ध्रुवीकरण र एकताको नेतृत्व गर्न आह्वान गरेको स्मरण गर्दै उनीहरूले स्पष्टीकरण पत्रमा उदृत गरिएजस्तो पार्टीको कुनै निकायको निर्णयलाई नतोडेको जिकिर गरेका छन्। नकारात्मक सोचबाट विश्लेषण नगर्न र आवेगले नभई विवेकले काम लिन उनीहरूले नयाँ शक्तिका संयोजक डा. भट्टराईलाई अनुरोध गरेका छन्।

'पार्टीलाई ठीक ढंगले परिचालन र विकासको पक्षमा राखेका धारणाहरूलाई पार्टीको विचार, नेतृत्व र कार्यदिशाको बारेमा भ्रामक धारणा सार्वजनिक गरेको भन्ने बुझ्न र निश्कर्षमा पुग्न मिल्दैन', जवाफमा भनिएको छ, 'हामी विरुद्ध घोर अन्याय हुन्छ।'

आफूहरूप्रति हुन सक्ने सम्भावित कारबाहीप्रति संकेत गर्दै पौडेलसहितका १५ नेताले जवाफमा त्यसो नगर्न भट्टराईलाई चेतावनी दिएका छन्। दण्डको सिद्धान्त अलोकप्रिय भइसकेको तर्क गर्दै उनीहरूले भनेका छन्- वस्तुमा अन्तरनिहीत अत्यन्तै नरम गुणमा विपरीत प्रकृतिको कठोर प्रवृत्ति अन्तरनिहीत हुन्छ भन्ने द्वन्द्ववादको आधारभूत नियमप्रति पनि हामी उत्तिकै सचेत भएको संयोजकलाई स्मरण गराउन चाहन्छौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.