|

काठमाडौं : भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमार्फत ठूलो दल बनेको एमालेभित्र सातवटै प्रदेशमा प्रदेश संसदको संसदीय दलको नेता बन्न दौड सुरु भएको छ।

मुख्यमन्त्री एमालेकै भागमा परेको प्रदेश १ मा एमाले प्रदेश १ संगठन कमिटीले संसदीय दलको नेता चयन गर्न माघ २६ मा संसदीय दलको बैठक बोलाएको छ। प्रदेशसभामा सहमति हुन नसकेपछि प्रदेश संसदीय दलको नेता छान्न एमालेले बैठक बोलाएको हो। 

एमाले प्रदेश- १ को संसदीय दलको नेताका लागि एमाले सचिव तथा प्रदेश संयोजक भीम आचार्य, पोलिटब्युरो सदस्य एवं प्रदेश सहसंयोजक शेरधन राई र केन्द्रीय सदस्य जीवन घिमिरेले आकांक्षा राखेका छन्। दलको नेता चुनिने व्यक्ति नै प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार हुने संसदीय व्यवस्था छ। प्रदेशको मुख्यमन्त्रीका आकांक्षी नेताहरू यसका लागि उम्मेदवार छन्। उनीहरू कुनै पनि व्यक्तिका नाममा सहमति हुन नसकेपछि एमालेले नेता चुन्न बैठक बोलाएको हो। यसअनुसार दलको नेता चयन गर्न अधिवक्ता चूडामणि आचार्य, टीकाराम पुरी र प्रेम पोखरेल रहेको तीन सदस्यीय निर्वाचन कमिटीसमेत गठन गरेको छ।

प्रदेश २ मा वाम गठबन्धनको बहुमत छैन। त्यसकारण यस प्रदेशमा वाम गठन्धनको मुख्यमन्त्रीका लागि प्रतिस्पर्धा गर्नुपर्ने छैन। तर एमाले संसदीय दलको नेता बन्न भने दुई एमाले नेताबीच हानथाप नै छ। एमाले स्थायी समिति सदस्य तथा प्रदेश संयोजक सत्यनारायण मण्डल र पोलिटब्युरो सदस्य शत्रुघ्न महतोबीच प्रतिस्पर्धा छ। दलको नेता बन्न यी दुई नेताहरू आआफ्नो तर्फबाट लागिरहेका छन्। नेता मण्डल एमाले अध्यक्ष ओली समूहका हुन् भने नेता महतो वरिष्ठ नेता नेपाल समूहका मानिन्छन्। उनीहरू दुवै जना एमालेलाई दिइएको २० मिनेटको समूहलाई आधा आधा बाँडेर १०/१० मिनेट बोलेका थिए। यस प्रदेशमा प्रदेशसभाको निर्वाचनमा एमाले तेस्रो दल बनेको छ।

यता, प्रदेश  ३ को मुख्यमन्त्री नेकपा एमालेको भागमा परेको छ। यसअनुसार एमालेका धेरै नेताहरू संसदीय दलको नेताका लागि आकांक्षी छन्। यस प्रदेशबाट खासगरी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नै एमाले संसदीय दलको नेताका लागि प्रमुख आकांक्षी हुन्। मुख्यमन्त्रीका मुख्य दाबेदार मानिने नेता शाक्य अहिले दलको नेताका लागि प्रतिस्पर्धा गरिरहेकी छन्। नेता शाक्यसँगै पोलिटब्युरो सदस्यहरू राजेन्द्र पाण्डे र पशुपति चौलागाईं पनि संसदीय दलको नेताका आकांक्षी हुन्। यी नेताबीचमा सहमति जुटाउने प्रयास सफल नभए चुनाव हुने बताइएको छ।

प्रदेश- ४ मा मुख्यमन्त्री एमालेको भागमा परेको छ, जसअनुसार अहिले एमालेका सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य तथा प्रदेश कमिटीका संयोजक किरण गुरुङ संसदीय दलको नेताका लागि प्रतिस्पर्धामा छन्। यस प्रदेशमा सहमतिमा दलको नेता छनाेट हुन नसकेपछि माघ २४ गते चुनाव हुने भएको छ। एमालेको आन्तरिक चुनावबाट विजयी हुने नेता दलको नेता हुनेछन्।

प्रदेश ५ मा भने युवानेता शंकर पोखरेल चुनिइसकेका छन्। उनी नै उक्त प्रदेशका मुख्यमन्त्री हुने लगभग निश्चित छ।

प्रदेश- ६ मा मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेको छ, जसअनुसार मुख्यमन्त्रीका लागि एमालेभित्र प्रतिस्पर्धा छैन। तर दलको नेता छनाेट कार्य पनि संसदीय कार्य नै भएकाले दलको नेता बन्न यस प्रदेशमा एमालेका दुई नेताहरू प्रतिस्पर्धामा छन्। एमाले पोलिटब्युरो सदस्य तथा प्रदेशका सहसंयोजक यामलाल कँडेल र पोलिटब्युरो सदस्य प्रकाश ज्वालाबीच प्रतिस्पर्धा छ। यी नेताहरू दलको नेता बन्न आआफ्नातर्फबाट लागिपरेका छन्। दुई नेताबीच सहमतिका लागि प्रयास भए पनि अहिलेसम्म नटुंगिएको एक नेताले बताए।

यसैगरी प्रदेश- ७ मा पनि एमालेले मुख्यमन्त्री पाउनेछैन। तर दलको नेता बन्न भने एमालेका नेताहरू आकांक्षी छन्। खासगरी एमालेका वैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह दलको नेताका लागि मुख्य दाबेदार हुन्। यससँगै एमाले कैलालीका अध्यक्ष दिर्घ सोडारी र एमाले कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङले पनि मनसाय व्यक्त गरेका छन्। यस प्रदेशमा सहमतिबाटै नेता छनाेट गर्ने प्रयास भइरहेको बताइएको छ।

अबको केही दिनभित्र प्रदेशसभाको मुख्यमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने भएकाले दलको नेता छनाेट कार्य पनि समयमै गर्नुपर्ने एमाले महासचिव ईश्वर पोखरेल बताउँछन्। नेता छनाेट गर्दा सकभर सहमतिमै वा सहमति नभएमा आन्तरिक निर्वाचनमार्फत नै गरिने उनले बताए। महासचिव पोखरेलले भने, 'यो प्रदेशसभाको कुरा हो। सहमतिमा दलको नेता छनाेट हुन सकेमा राम्रो भइहाल्यो। भएन भने प्रदेशसभामा रहेका दलका सदस्यहरूले आन्तरिक चुनावमार्फत नेता छनाेट गर्नुहुन्छ।'

यी सामग्री पनि पढ्नुहोस् : 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.