|

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकबाटै वैदेशिक रोजगारीको जानेको संख्या अत्यधिक धेरै छ। आम्दानीको गतिलो आधार नपाएपछि सिन्धुपाल्चोकबाट वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भएको छ। वैदेशिक रोजगारीमा जानेको संख्यामा वर्षेनी बढ्दै गएको तथ्यांक छ। 

सिन्धुपाल्चोकमा वैदेशिक रोजगारीभित्र लुकेको एक रोचक तथ्य छ। अशिक्षा अज्ञानता र आर्थिक अवस्था कमजोर भएकै कारणले सिन्धुपाल्चोक जिल्लाबाट वैदेशिक रोजगारीमा जानको संख्यामा वृद्धि भएको हो। सिन्धुपाल्चोकको दुर्गम गाउँपालिका भनेर चिनिने जुगल, इन्द्रावति, भोटेकोशी, हेलम्बु लगायतका गाउँ पालिकामा विवाह गर्दै श्रीमतीलाई वैदेशिक रोजगारीमा पठाउने क्रम बढेको पाइएको छ। 

सानै उमेरमा विद्यालय छोडेर विवाह गरेपछि एउटा श्रीमतीलाई विवाह गरेर विदेश पठाउने, अनि फेरि अर्को विवाह गर्ने पालैपालो श्रीमती विदेश पठाउने र स्वदेश झिकाउने प्रचलन बढेको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन्। दुर्गम गाउँका दलित र जनजाति समुदायमा यस्तो प्रवृत्ति धेरै भएको बञ्जाडेको भनाइ छ। यस्तो प्रवृत्ति बढ्दै गएपछि नागरिकता र राहदानी सिफारिसमा कडाइ गरेको उनले जनाइन्। 

जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आउनेहरूले त्यही दिन राहदानीको सिफारिस लैजाने गरेका पाइन्छ। नागरिकता बनाएकै दिनमा रहदानी सिफारिस गर्नको संख्यामा पनि अत्याधिक वृद्धि भएको छ। राहदानी बनाउनेमा महिलाहरू र त्यसमा पनि किशोरीहरू बढी रहेका छन्। चालु आर्थिक वर्षको असार २५ गतेसम्मको तथ्यांक हेर्दा सिन्धुपाल्चोकबाट यो वर्ष २ हजारले राहादानी बनाएका छन्। जिल्लाबाट साढे आठहजार र जिल्लाबाट सिफारिस लिएर काठमाडौंमा ४२०० ले राहादानी बनाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएकोे छ। 

एउटै परिवारका चार जनासम्म 

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका-५ मार्मिङका एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ। नेपाल सरकारले खुला नगरे पनि भारतको बाटो भएर यहाँका २४७ जना इराक गएको माइती नेपालको जिल्ला संयोजक पवित्रा धिमिरेले जानकारी दिइन्। इराक जानेमा १०६ महिला रहेको उनको भनाई छ। माइती नेपालले प्रत्येक घरमा गएर हालै सर्वेक्षणले एकै घरको चारजनासम्म वैदेशिक रोजगारीमा गएको तथ्य पत्ता लागेको हो।

गाउँपालिकाको सो वडामध्ये साविक मार्मिङ गाविस ४ का छ्यादी, पाखेरे र गोल्ची गाउँबाट ५२ महिला र ३० पुरुष इराक गएका छन्। यहाँ तामाङ र शेर्पा समुदायको बसोवास रहेको छ। सो गाउँमा बालबालिका र वृद्धवृद्धा मात्र घरमा छन्। एउटै घरबाट नन्द, भाउजु, देवरलगायत चारजनासम्म वैदेशिक रोजगारीमा गएका छन्। 

इराकपछि मर्मिङका स्थानीयको दोस्रो रोजाई दुबई रहेको छ। सो वडाबाट दुबइमा रोजगारीका लागि ४८ जना गएका छन्। उनीहरू मध्ये २५ जना महिला छ्न्। कुबेतमा ३२ र मलेशियामा ३५ जना रोजगारीका लागि गएको तथ्यांकबाट देखिएको छ। तथ्यांकअनुसार सिन्धुपाल्चोकबाट २ हजार भन्दा बढी रोजगारीका लागि विदेशिएका छन्। जिल्लाका लिस्ती, भोताङ, गोल्चे, गुम्बा, हेलम्बु लगायतका स्थानबाट इराकमा जानेको संख्या बढी छ। चरम आर्थिक समस्यापछि जोखिम मोलेरै भए पनि पैसा धेरै कमाउने देशमा युवा गइरहेका छन्। 

बुबा आमा वैदेशिक रोजगारीमा जाँदा बालबालिका खिन्न भएका पाइएको संयोजक घिमिरेले बताइन्। उक्त वडाबाट गतआवमा महिला र पुरुष गरी कुल ६९१ जना वैदेशिक रोजगारीमा गएका छन्। माइती नेपालका अनुसार वैदेशिक रोजगारीमा गएका आठजना समस्यामा परेका छन्। उनीहरू इराक, कुवेत, जापान, अष्ट्रेलिया र अमेरिकामा समस्यामा परेका हुन्। 

नाका बन्दको प्रभाव

विसं २०७२ मा भुकम्पका कारण तातोपानी नाका बन्द हुनुअघि त्यहाँका महिलाको प्रमुख गन्तब्य खासा रहेको थियो। आव २०७४/०७५ मा जिल्लाबाट चार हजार ३१७ तथा जिल्लाको सिफारिसमा परराष्ट्र मन्त्रालयबाट चार हजार ७४७ जनाले राहदानी पाएका थिए। राहदानी पाउनेमध्ये वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी मेलम्ची नगरपालिकाका एक हजार २३५ तथा सबैभन्दा कम त्रिपुरा सुन्दरी गाउँपालिकाका ४०५ जना रहेका छन्। जिल्लामा सबैभन्दा बढी भोटेकोशी गाउँपालिकाबाट ५०३ महिला वैदेशिक रोजगारीमा गएको तथ्यांक छ।

विगत वर्षदेखि देशका विभिन्न भागबाट खासामा मानव तस्करी हुनथालेपछि रोकथामका लागि तोतोपानी नाकामा माइती नेपालले कार्यालय स्थापना गरेको हो।तर सिन्धुपाल्चोक जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आउन सकेको छैन। खासामा मानव तस्करी हुने गरेको भए पनि पछिल्लो समयमा आधिकारिक रुपमा वैधानिक तवरले मावन बेचविखन हुने गरेको पाइन्छ। वैधानिक ढंगबाट मानव तस्करी हुने भएकाले बेचविखनको एउटै मुद्दा नपरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.