|

रुकुम : देशकै नमूना तरकारी बीउ उत्पादन केन्द्रको रुपमा रहेको रुकुम पश्चिम चाँफास्थित समशितोष्ण तरकारी बीउ उत्पादन केन्द्र वर्षेनी खर्च भन्दा कम मात्र बीउ बिक्रीबाट राजश्व उठ्ने गरेको छ। प्रत्येक वर्ष बीउ उत्पादनका लागि सरकारबाट खर्च हुने बजेटको आधा मात्र राजश्व उठ्ने गरेको हो।

आर्थिक वर्ष २०७४/०७५ मा तरकारी मूल बीउ उत्पादनका लागि आएको ३४ लाख ८ हजार रुपैयाँ खर्च भए पनि उक्त आर्थिक वर्षमा १६ लाख २९ हजार रुपैयाँ मात्र राजश्व संकलन भएको तरकारी बीउ उत्पादन केन्द्र चाँफाका प्रमुख डा. रबिन्द्रनाथ चौबेले बताए। सरकारबाट आएको बार्षिक बजेट मुल बीउ उत्पादनको लागि मल, बीउ र अन्य कामको लागि खर्च हुने गरेको छ भने आम्दानी उक्त उत्पादित मुल बीउ कृषकलाई बिक्री वितरण गरेर हुने गरेको छ। उनका अनुसार यसआर्थिक वर्षमा अघिल्लो वर्षको भन्दा करिब ४ लाख बजेट घटेर आएको छ। जसले गर्दा उत्पादन र राजश्वमा पनि यस वर्ष केही घट्न सक्ने अनुमान गरिएको छ।

कार्यालयले केही दिन अघि कार्यालयमा आयोजना गरेको सार्बजनिक सुनुवाई तथा कार्यक्रम सार्बजनिकिकरण कार्यक्रमका खर्चको करिब आधा मात्र आम्दानी भइरहेको भन्दै सरोकारवाला ब्यक्तिहरूले अब यस तरकारी बीउ उत्पादन केन्द्रलाई फरक तरिकाले संचालन गर्नुपर्ने धारणा राखेका छन्।

जिल्ला सहकारी संघका अध्यक्ष नरबहादुर खड्काले तरकारी बीउ उत्पादनका लागेको लागतको करिब आधा पनि आम्दानी हुनु दुखत कुरो भएको भन्दै यस केन्द्रलाई सरकारी निकाय भन्दा पनि निजी क्षेत्रलाई ठेक्कामा दिनुपर्ने धारणा राखे। ‘अघिल्लो वर्ष तरकारी बीउ उत्पादनको लागि करिब ३४ लाख खर्च भएको रहेछ। आम्दानी भने करिब १६ लाख’ उनले भने, ‘वर्षेनी खर्च र आम्दानीको रेसियो यस्तै हो भन्ने कुरा पनि आयो। यसरी घाटामा त कति दिन चल्न सक्छ।’

कार्यालयले निजी बीउ उत्पादन कम्पनीलाई वा समूहलाई ठेक्कामा दिदा उत्पादन पनि राम्रो हुने र कार्यालयको बीउ उत्पादन प्रणाली पनि पुरानै भन्दा हाइटेक प्रबिधि अपनाउनु पर्ने उनको भनाई थियो। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले तरकारी बीउ उत्पादन केन्द्रले सरकारी खर्च अनुसारको आम्दानी बनाउन अधिकतम पहल गर्नुपर्ने बताए। ‘यसो हेर्दा खर्च वार्षिक बजेटको भन्दा करिब आधा जस्तो मात्र आम्दानी हुँदो रहेछ। यसलाई सुधार गर्नुपर्छ’ प्रजिअ रेग्मीले भने, ‘तर खर्च अनुसारको आम्दानी नभए पनि खासै चिन्ता भने नगरौं। किनकि यो बीउ उत्पादन केन्द्रबाट मुल बीउ लिएका कृषकको आम्दानी कस्तो छ। त्यसको पनि समीक्षा गरौं।’

मुल बीउ उत्पादन गर्दै आएको तरकारी बीउ उत्पादन केन्द्रले कमै आम्दानी गरे पनि जिल्लामै मुल बीउ उत्पादन हुदा यहाँका कृषकलाई फाइदा हुने भन्दै कार्यालयको आम्दानी कम भएपनि कृषकको आम्दानी धेरै भए कृषि क्षेत्रको विकासको लागि रामै हुने उनको भनाई थियो। कार्यालय प्रमुख चौबेले कृषकलाई सहुलियतमा बीउ वितरण गर्दा र बेला बेला बीउ उत्पादनका हुने कमीले पनि खर्च भन्दा आम्दानी थोरै हुने गरेको बताए।

‘होयस केन्द्रमा वार्षिक खर्च भन्दा आम्दानी करिब आधा जस्तो छ। जसको पछाडि बजार र उत्पादन कम बढी दुबै समस्याका कारण छन्’ उनले भने, ‘हामीले केन्द्रले तोके भन्दा बढी मूल्यमा आफू खुसी बीउ बेच्न पाइँदैन। अझ कृषकलाई सहुलियतमा दिनुपर्छ। अर्को कुरा कहिलेकाहिँ असिनापानी र रोग किराले उत्पादन नै कम गराइन्छ अनी उत्पादन र आम्दानी पनि कम हुन्छ।’

केन्द्र नाफा घाटामा हुने भन्दा पनि गुणस्तरीय मुल बीउ उत्पादन गर्ने र कृषकलाई बीउ उपलब्ध गराएर तरकारी बीउ उत्पादनका अग्रसर बनाउने काम नै मुख्य रहेको उनको भनाई थियो। ‘यो अवस्थालाई ध्यानमा राखेर केही सोच्नु त पर्ने बेला आएको छ। तर केन्द्र घाटामा भए पनि कृषकलाई नाफा हुनुपर्छ। यस केन्द्रबाट मुल बीउ लिएर कुन कृषकले कति आम्दानी गरे त्यो मुख्य कुरा हो। त्यसको पनि पनि हामी विश्लेषण गर्ने सोचमा छौं’ उनले भने। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.