|

कृषि विकास बैंकले समय सापेक्ष सेवा बिस्तार नगरे अस्तित्व नै गुमाउने सरोकारवालाहरुले औंल्याएका छन्। कृषि विकास बैंकको स्वर्णजयन्तीको अवसरमा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकले जनताको चाहना र अपेक्षा अनुसार काम गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा गरिबी निवारण तथा सहकारीमन्त्री हृदयराम थानीले सरकारले गरिबी निवारणका लागि कृषि विकास बैंकमार्फत थुप्रै काम गरेको बताए। उनले सरकारको नीति अनुसार ग्रामिण क्षेत्रका आम जनताको आर्थिक अवस्था सुधार गर्न बैंकले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राखे। 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्लेले कृषि क्षेत्रमा संलग्‍नता देखाएर बैंकले मानव सुचकांकलाई उकास्‍न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले निजी क्षेत्र सरह सुविधा दिनसके कृषि विकास बैंकप्रति अझै पनि आम जनताको विश्वास बढ्ने बताए। 

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले निजी बैंक सहर सेवा सुविधा दिएर बैंक अघि बढेको बताए। उनले कृषि विकास बैंकले कृषि क्षेत्रको सुधार र आर्थिक उन्नतीमा ध्यान दिएको बताए। उनले बैंकहरु सरह सेवा सुविधा बिस्तार गरेको दाबी गरे। 

नेपाल वित्तिय कर्मचारी संघका अध्यक्ष गणेश केसीले ट्रेड युनियनहरु विकासको बाधकको रुपमा रहेको आम मानिसको बुझाइ रहेको बताए। उनले ट्रेड युनियनलाई दलहरुले राजनीतिक आन्दोलनमा प्रयोग गरेपनि सत्तामा पुगेपछि बाधकको रुपमा देख्‍ने गरेकाले आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने बताए। 

पूर्व गर्भनर डा. तिलक रावलले जन्मदै कमजोेर रहेका सरकारी स्वामित्वका बैंकहरुलाई निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धी बनाउन आफूले नै पहल गरेको दाबी गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.