|

जाजरकोट : जाजरकोटमा समयमै काम सम्पन्न नगर्दा आव ०७३। ०७४ मा जिल्लाको झन्डै ५ करोड बजेट  फ्रिज भएको छ। योजनाहरुका काम सम्पन्न नभएपछि  जाजरकोटमा ४ करोड ९२ लाख ७२ हजार  ७ सय  ४९  रुपैयाँ फ्रिज भएको  छ।  उपभोक्ताहरुले  काम नगरिदिने  गरेका कारण जिल्लाको ठूलो विकास बजेट फ्रिज हुन पुगेको हो। 

झोलुंगे पुल र सडक योजनाको धेरै रकम फ्रिज भएको  जाजरकोटका स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताए। झोलुंगे पुलमा  १ करोड ४८ लाख फ्रिज भएको बताए। कृषि सडकमा ७४ लाख ३० हजार, आर्थिक केन्द्र जोड्ने सडकमा  २० लाख ३६ हजार, सडक पुलमा  ५ लाख  तथा  साना सिँचाइमा ७० लाख रकम फ्रिज भएको  छ। 

त्यस्तै चालु तर्फ सवै भन्दा वढी सामाजिक सुरक्षामा ६७ लाख ८१ हजार रकम फ्रिज  भएको  छ भने  निर्वाचन क्षेत्र विकासको  ५३ लाख १६ हजार रकम फ्रिज भएको  स्थानीय विकास अधिकारी पण्डितले वताए।  पर्यटन तर्फ २५ लाख ७७ हजार,जलवायु परिवर्तन सहयोग कार्यक्रमको  १३ लाख ६३ हजार र वहुक्षेत्रीय पोषण कार्यक्रमको  २ लाख ३४ हजार रकम फ्रिज भएको  पण्डितको भनाई छ।

“उपभोक्ताहरुले  जति छिटो सम्झौता गरेपनि  समयमा काम  नगर्ने , असारमा आएर सम्झौता गर्ने , अनि गुणस्तरीय काम नगर्ने चलन  कारण जिल्लाको ठुलो विकास वजेट फ्रिज हुन पुगेको हो’ उनले भने।  कर्मचारी, दलका नेता कार्यकर्ता र  उपभोक्ताहरुले  आफनो जिम्मेवारीको ख्याल नगरेका कारण विकास वजेट खर्च हुन नसकेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले वताए। जनप्रतिनिधिहरुको आगमन भए पनि जनताले परिवर्तनको अनुभूति गर्न  नसकेको बताए।

 जिल्ला  ठूलो विकास बजेट फिर्ता गए पनि  विभिन्न योजनाहरुको  रकम लेनदेन गरेर  गुणस्तरहीन काम  हुने गरेको पाइएको छ। उपभोक्ताहरुले  गतिलो काम नगर्ने  र प्राविधिक कर्मचारीहरुले रकम माग्ने  गरेका कारण सकिएको   योजना पनि   गुणस्तरीय नभएको  असल शासन कलव जाजरकोटका अध्यक्ष वालकुमार शर्माले वताए। काम सकिएपछि पनि  रकम लेनदेन हुने गरेका धेरै प्रमाणहरु भेटिएको  तर सरोकारवाला निकाय वेखवर रहेको शर्माको भनाइ छ।

 प्राविधिक कार्यालयका कर्मचारीहरुले  प्रति योजनामा   ३ देखि १० प्रतिसत रकम  छुटटै आफूहरुलाई बुझाउनै पर्ने उर्दी लगाएको  उपभोक्ताहरुले   बताएका छन।  मागेको रकम नदिए कामै रोकिदिने र रकम दिए कामै नभए पनि चेक काटने गरेको उपभोक्ताहरुको  गुनासो  छ।

योजनाको सवै काम पुरा भइ वीलभर्पाइ aनिसके पनि इन्जिनियरले  दस्तखत गर्न नमानेका कारण  भुक्तानीमा  ढिलाइ भएको गोपी खोला धुलाकोट सिचाइ आयोजना उपभोकता समितिका अध्यक्ष धनवहादुर शाहीले वताए।  जिल्ला प्राविधिक कार्यालयमा  मागिएको  रकम नबुझाएका उपभोक्ताहरुले दुख पाउने गरेका छन। मागेको रकम नदिए  भुक्तानीका फाइलहरु  कार्यालयका  दराजमा  थन्काइदिने  गरेका पाइएको छ।

 उपभोक्तासँग आर्थिक लेनदेनका आधारमा जिल्ला प्राविधिक कार्यालयका प्रमुख तथा इन्जिनियर सूर्यबहादुर शाहीको निर्देशनमा काम नभएका सडकको मूल्यांकन गरी नक्कली बिल भरपाई वनाई चेक काटीएको छ। जिल्लाको त्रिवेणीनलगाड नगरपालिका ११ चौखादेखी १० रजिकसम्म जोड्ने चौखा(रजिक सडकको कामै नगरी २३ लाख रुपैयाँ गरेको पाइएको छ।

काम नभएको सडकमा भुक्तानी दिए पछि स्थानीयको ब्यापक जनगुनासो आएपछि भुक्तानी दिएको चेकलाई  थुतिएको छ। सडकको एक चौथाई पनि काम नगरेका  उपभोक्तालाई कार्यलयले भुक्तानी दिएको हो। २ हजार ३ सय मिटर सडकको ट्रयाक खोल्नु पर्नेमा १ सय मिटर सडक पनि खनिएको छैन।

प्राविधिकले बिल भरपाई पेश गरेपछि मात्र भुक्तानी गएको स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिएका छन्। मिलोमतोमा काम नगरि बिल भरपाई बनेको जानकारी आएपछि  चेक थुतेको उनले बताए। अब वास्तिविकता छानबिन गरेर मात्र प्रक्रिया अगाडी बढाइने पण्डितले बताए।   उता जिल्ला प्राविधिक कार्यालयका  प्रमुख  इन्जिनियर  सुर्यवहादुर शाही लाई सम्पर्क गरी यसबारे बुझ्न  खोज्दा सम्पर्कमा आउन चाहेनन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.