यी काम गरिँदै छन्

|

काठमाडौं: ६ सय विदेशी, सय बढी गैरआवसीय नेपाली (एनआरए), दुई सय बढी नेपाली व्यवसायीसहित नेपाल सरकार उच्च पदस्थ अधिकारी चैत १५ र १६ गते बन्द कोठामा भेट हुँदै छन्। ६ सय  विदेशीमध्ये ६ जनालाई ‘हाई प्रोफाइल’  देखिन्छन्।

विदेशी लगानी आउने अपेक्षा राखिएका ७७ परियोजना सम्मेलनमा केन्द्रित गरिएको छ। लगानी गर्ने क्षेत्रमा कृषि, पर्यटन, जलविद्युत्, उद्योग, यातायात, सहरी पूर्वाधार र शिक्षा तथा स्वास्थ्यका परियोजना रहेका छन्। १२ वटा परियोजनामा सम्झौता गर्न विदेशी तयार रहेको लगानी बोर्डले जनाएको छ।

कृषि पूर्वाधारदेखि रेल वे बनाउने सम्मका परियोजना शोकेसमा राखिए पनि निजी क्षेत्रका बढी परियोजना जलवुतमा केन्द्रित रहेका छन्। भने सरकारका बढी परियोजनामा पर्यटन क्षेत्र केन्द्रित रहेका छन्।

सम्मेलनको दुई दिनअगावै अर्थमन्त्री युवराज खतिवडाले सूचना, सञ्‍चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटा, निजी क्षेत्रका छाता संगठनका अध्यक्ष राखेर  सम्मेलनबारे ब्रिफ गरे। ‘लगानी सम्मेलनमा आउनेले झोलामा पैसा बोकेर आउने हैन लगानीका लागि बनेको वातावरणका विषयमा जानकारी दिन सहयोग पुग्ने हो’ पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले भने। अहिले लगानीको लागि वातावरण बनेको र लगानी ल्याउने उपयुक्त समय भएको विषयमा निजी क्षेत्रका प्रतिनिधि नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले ‘हो’मा ‘हो’ गरे।

मुस्कान सहितको स्वागत

सरकारले लगानी सम्मेलनमा आउने विदेशीलाई मुस्कान सहितको स्वागत गर्नको लागि सम्पूर्ण निकायलाई आह्वान गरेको छ।  ‘सबैले विदेशी लगानीकर्तालाई मुस्कानसहित स्वागत गरौँ’ अर्थमन्त्री खतिवडाले भने, ‘यसमा सबैको साथ सहयोग हुनेछ भन्ने अपेक्षा छ।’ उनले मुस्कान सहितको स्वागतका लागि मिडिया प्रतिनिधि र निजी क्षेत्रलाई पनि आग्रह गरेका छन्।

सकारात्मक प्रतिक्रिया दिने निजी क्षेत्रको प्रतिबद्धता

विदेशी लगानीकर्तालाई केन्द्रित गरी संसदबाट पारित भएको वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण विधयेकमा असन्तुष्टि जनाएका निजी क्षेत्रका लगानी सम्मेलनको अवधिमा नकरात्मक टिप्पणी नगर्ने प्रतिबद्धता जनाएका छन्।

विदेशी लगानीलाई झन्झटरहित बनाउन धेरै सुधारको प्रयास भएको दाबी गर्दै शर्माले नकारात्मक समाचार लेख्दा विदेशी लगानीकर्ताहरूको मनोबल घट्न सक्ने भन्दै सचेत हुनुपर्ने बताए

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सम्मेलन अवधिभर नकारात्मक समाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई आग्रह गरे। विदेशी लगानीलाई झन्झटरहित बनाउन धेरै सुधारको प्रयास भएको दाबी गर्दै शर्माले नकारात्मक समाचार लेख्दा विदेशी लगानीकर्ताहरूको मनोबल घट्न सक्ने भन्दै सचेत हुनुपर्ने बताए। ‘लामो समयपछि यति ठूलो संख्यामा विदेशी लगानीकर्ता आउनु सुखद पक्ष हो, यसलाई हामीले सकारात्मक ढंगबाट हेर्नुपर्छ’ शर्माले भने।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पनि लगानीको लागि उपयुक्त वातावरण रहेको बताइन्। उनले निजी क्षेत्रले विदेशी लगानीकर्तालाई प्रोत्साहन दिन सहयोग गर्ने प्रतिक्रिया दिइन्। सम्मेलन सफल बनाउन र लगानी बढाउन सबै एकजुट हुनुपर्ने राणाको भनाइ छ। ‘तपाईंको देशमा स्थिरता छैन, ऊर्जाको समस्या छ, लगानीको वातावरण छैन भन्थे’ राणाले भनिन्, ‘अब त्यो अवस्था छैन लगानीको वातावरण बनेको छ, प्रोत्साहन गर्न सकिन्छ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ विदेशी नै उत्साहित भएको बताउँछन्। ‘६ सय विदेशी आउनु नै उपलब्धि हो, केही लगानी बोर्डले निम्तो गरेको कारण पनि होला धेरै भने लगानीको वातावरण बनेकोले हो' श्रेष्ठले भने। उनले पनि लगानी सम्मेलनलाई भरपुर उपयोग गर्नुपर्ने बताए।

लगानी बढ्ने अनुमान

सम्मेलनलाई लक्षित गरी नेपाल सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संशोधनसमेत गरी सकेको छ नीतिगत सुधारमा उल्लेख्य काम भएको अर्थमन्त्री खतिवडा बताउँछन्। उनले औद्योगिक व्यवसाय ऐन संसदमा गइसकेको छ भने बौद्धि सम्पत्तिको अधिकारसम्बन्धी ऐन र कम्पनी ऐनमा संशोधनको तयारी पनि अघि बढाइएको कारण पनि यसको प्रभाव देखिने बताए।

‘हामी पारित भएका ऐनको नियमावली र कार्यविधि पनि छिटै बनाउँछौँ,’ खतिवडाले भने,’ विगतमा जस्तो ढिलाइ गरेर बस्दौनौँ' खतिवडाले भने। लगानीको अधिकतम प्रतिफल लैजाने गरी नीतिहरू सुधार गरेका कारण पनि सहज हुने अर्थमन्त्री खतिवडाको बुझाइ छ।

एकद्वार प्रणाली केन्द्र

लामो समयदेखि बहसमा रहेको वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न एकद्वार प्रणाली केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको उद्योग मन्त्रालयले जनाएको छ। एकद्वार प्रणाली स्थापनाका लागि उद्योग विभाग अन्तर्गतको भवनको ९० प्रतिशत पूर्वाधार निर्माण सकिएको जनाएको छ।

उद्योग विभाग परिसरमा निर्माण भइरहेको एकद्वार प्रणाली केन्द्रमा झण्डै १२ वटा युनिट रहने बताइएको छ। परियोजनाको अनुमति, समझदारी पत्र, लगानी अनुमति, वा सम्झौतालगायत कार्य गर्ने तथा परियोजनालाई सहयोग एवं सहजीकरणका लागि कार्यालयमा एक एकल बिन्दु सेवा केन्द्र स्थापना गर्ने व्यवस्था ऐनमा गरिएको छ।

यस्ता गरिँदै छन् काम

डुइङ बिजनेस

डुइङ बिजनेसमा अघिल्लो वर्षको तुलनामा नेपालको अवस्था खस्किएको छ। व्यावसायिक गर्न सहज मुलुकमा अघिल्लो वर्ष १०५ मा रहेको नेपाल यो वर्ष ११० मा पुगेको छ। अर्थमन्त्री खतिवडाले सुरुवातमा यो प्रतिवेदनमाबट असन्तुष्ट रहेको प्रतिक्रिया दिँदै सच्याउन माग गरेका थिए।

अहिले भने खतिवडाले सामान्य कुरा सुधार हुँदा झर्नसक्ने आधार देखिएको बताउँदै त्यसको सुरधारमा लागेको बताए। ‘डुइङ बिजनेस इन्डेक्स’मा सुधार गर्न सकिन्छ भनेर विश्व बैंकले स-साना सुझावसहितको रिपोर्ट दिएको भन्दै उनले यसलाई कार्यान्वयन गर्न सरकारले काम गरिरहेको बताए। यसका लागि निजी क्षेत्रले समेत सहयोग गर्नुपर्ने अर्थमन्त्रीको भनाइ थियो ।

क्रेडिट रेटिङ

अर्थमन्त्री खतिवडाले लगानीकर्ताहरूलाई विश्वस्त बनाउन क्रेडिट रेटिङ गर्ने तयारी भइरहेको बताए। उनले विदेशी लगानी कर्तालाई ऋण दिने संस्थाले क्रेडिट रेटिङ हेर्न खोज्ने भएको कारण यस्तो तयारी गरिएको बताएका हुन्। उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा थोरै मात्र विदेशी लगानी रहेको र उच्च प्रतिफल लगेको कारण पनि क्रेडिट रेटिङमा नेपाल सिमित संख्यामा पर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.