रेणुले जित्लिन देवीको विश्वास?

|

काठमाडौं : स्थानीय तह निर्वाचन २०७४ मा भरतपुर महानगरपालिका सर्वाधिक चर्चामा रह्‍यो। मिडियाहरूमा सुरुदेखि नै 'भरतपुर महाभिडन्त' नाम पाएको भरतपुर महानगरको निर्वाचनको विवाद सर्वोच्च अदालतसम्म पुग्यो। पहिलो चरणअन्तर्गत ३१ वैशाख ०७४ मा निर्वाचन सम्पन्न भएको यो महानगरको पूरा नतिजा आउन ८४ दिन लाग्यो। यो ८४ दिनमा के के भयो? हामी तपाईंलाई मुख्य घटनाक्रमबारे थाहा दिँदै छौं। 

१) महानगर प्रमुखमा ‘प्रचण्डपुत्री’ को उम्मेदवारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी भएकै कारण पनि रेणु दाहालको उम्मेदवारी चर्चाको विषय बन्यो। प्रचण्डपुत्री भएकै कारण टिकट पाएको आरोप पनि उनीमाथि लाग्यो। रेणुले आफूलाई प्रचण्डको छोरीका रुपमा मात्रै नहेर्न अपिल नै गरिन्। उनको भनाइ थियो- ‘रेणु दाहाल प्रचण्डपुत्री मात्रै होइन, आफैंमा रेणु दाहाल हो।' माओवादीभित्र पनि रेणुको उम्मेदवारी विवादित बन्यो। कतिपयले प्रचण्डले वंशको राजनीति गरेको आरोप लगाए भने कतिपयले उनले आफ्नो सम्भावित राजनीतिक भविष्यलाई हेरेर रेणुलाई भरतपुर पठाएको भने। 

२) केन्द्रमा गठबन्धन, भरतपुरमा तरंग

सुरुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भरतपुर महानगरमा प्रमुख र उपप्रमुखसहित सबै पदमा छुट्टाछुट्टै उम्मेदवारी दिएका थिए। माओवादी केन्द्रले रेणुलाई प्रमुखमा अघि सारेको थियो भने कांग्रेसले दिनेश कोइरालाई प्रमुखको उम्मेदवार बनाएको थियो। उता, नेकपा एमालेले भने देवी ज्ञवालीलाई उम्मेदवार बनाएको थियो।

तर, जब काठमाडौंमा सत्तारुढ कांग्रेस र माओवादीका शीर्ष नेताहरू (खासगरी देउवा र प्रचण्ड) बीच भरतपुर महानगरमा माओवादीलाई कांग्रेसले सघाउने र पोखरा महानगरमा कांग्रेसलाई माओवादीले सघाउने गरी चुनावी तालमेलको सहमति बन्यो, त्यसले भरतपुर कांग्रेसमा भुइँचालो ल्यायो। भरतपुर महानगर प्रमुखका उम्मेदवार दिनेश कोइरालाले कांग्रेस नेतृत्वको निर्णयबमोजिम उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेपछि केन्द्रबाटै उनको नाम फिर्ता लिइयो।

केन्द्रको निर्णयलाई भरतपुर कांग्रेसका नेता कार्यकर्ताले अस्वीकार मात्र गरेनन्, त्यसविरुद्ध सडकमै उत्रे। तालमेलविरुद्ध उनीहरूले सभापति शेरबहादुर देउवाको पुतला दहनसमेत गरे। धेरै कांग्रेसीजन पनि यो तालमेलबाट खुसी भएनन्। कतिपयले शेरबहादुर देउवामाथि भरतपुरसँग प्रधानमन्त्रीको कुर्सी साटेकोसम्म भने। माओवादीभित्र पनि वाम तालमेलका पक्षमा रहेकाहरू खुसी देखिएनन्। पढ्नुस्ः काठमाडौंमा हार्नुको कारण सर्वोत्तमले भरतपुरसँग किन जोडे?

३) कांग्रेस माओवादीको संयुक्त सभा र ओलीको 'काउन्टर' 

  २९ वैशाखमा भरतपुरमा मुख्य तीन दलको अन्तिम चुनावीसभा थियो। कांग्रेसभित्र विरोधको स्वर मत्थर नभए पनि केन्द्रको निर्णयले त्यो स्वर मलीन बनाइसकेको थियो। तत्कालीन प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष र अहिलेका प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा दुवै एउटै मञ्चमा उभिएर मत मागे। देउवाले माओवादीलाई र प्रचण्डले कांग्रेसलाई मत मागेको यो दुर्लभ क्षण थियो। प्रचण्डले कांग्रेस-माओवादी गठबन्धन ‘नयाँ राजनीतिक प्रयोग’ भएको बताए।देउवाले पनि कांग्रेस-माओवादी गठबन्धन केन्द्रीय चुनावसम्म मात्र नभई त्यसपछि पनि जारी रहने बताए।

त्यही दिन भरतपुरमा भएको चुनावी सभामा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस-माओवादी गठबन्धनबारे टिप्पणी गर्दै भने, कहिले टाउकाको मोल तोक्छन्, कहिले छोरीलाई टाउकामा बोक्छन्। माओवादी सशस्त्र युद्धको बाँदरमुढे घटनाको प्रसंग उठाउँदै ओलीले ‘कांग्रेसका कार्यकर्ताहरूको मन रोएको’ बताए। ‘अर्काका छोरा छोरी मारे पनि माया नलाग्ने आफ्ना छोरा-छोरी उम्मेदवार बनाउने' भन्दै उनले आक्रोश पोखे। उता, देउवाले भने रेणु दाहाललाई भोट हाल्न अप्ठेरो नमान्दिन कार्यकर्ताहरूलाई आग्रह गरे।

४) मतदानको दिन- वैशाख ३१

 ३१ वैशाखमा भरतपुर महानगरसँगै नेपालका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भयो। भरतपुरमा पनि उत्साहका साथ मतदान सम्पन्न भयो।निर्वाचनको अघिल्लो दिन भरतपुर आइपुगेका प्रधानमन्त्री प्रचण्डले पनि भरतपुर महानगर ४ स्थित लंकुको लक्ष्मी उच्च माविको मतदान केन्द्रमा पुगेर मतदान गरे। हेर्नुस् फोटोहरू

५) कछुवा गतिमा मतगणना

भरतपुर महानगरपालिकामा मतगणना सुरु हुनुअघिदेखि नै विवाद सुरु भएको थियो। मतपेटिकाको संख्या मुचुल्काबमोजिम नभएको अवस्थामा के गर्ने भन्‍ने विषयमा विवाद हुँदा भरतपुर महानगरपालिकाको मतगणना ढिला भएको थियो। छलफलका क्रममा दलहरूले ५/६ वटा मतसम्म तलमाथि भएमा मान्य हुने जानकारी गराउँदासमेत मुख्य निर्वाचन अधिकृत न्यौपानेले नमानेको एमालेका प्रमुखका उम्मेदवार देवी ज्ञवालीले बताएका थिए। यी त स-साना विवाद थिए। क्लाइमेक्स आउनै बाँकी थियो। 

चितवन जिल्ला विकास समिति अगाडिको कभर्ड हलमा सुरु भएको मतगणना निकै सुस्त गतिमा अघि बढेको थियो। अन्यत्र नतिजा आइसक्दा पनि भरतपुरमा भने मतगणना जारी थियो। भरतपुरको महानगरको प्रमुखमा एमालेका देवी ज्ञवाली र उपप्रमुखमा कांग्रेसकी पार्वती शाहले सुरुदेखि नै अग्रता लिएका थिए।

सुरुमा मुचुल्का विवाद सुल्झिएर मतगणना सुरु भए पनि विवाद सकिएन। प्रमुखका उम्मेदवार रेणु र देवीले पाएको मत फरक-फरक देखिन थालेपछि ५ जेठमा मतगणना स्थगित भयो। पढ्नुस् : भरतपुर महानगरमा कसरी आयो फरक–फरक मत सहितको प्रिन्टआउट?

मतगणनाका क्रममा निर्वाचन अधिकृतहरूकै मिलेमतोमा वडा नम्बर ९ को दुई सय  मत गायव गरिएको कांग्रेस-माओवादीको आरोपपछि मतगणना स्थगित भयो। मत गणना पुनः सुचारु भएपछि ८ जेठमा देवी ज्ञवाली रेणुभन्दा झण्डै २५ सयले अगाडि थिए। तर, भोलिपल्ट देवीको अग्रता ३७ सय पुगिसकेको थियो।

६) मतपत्र च्यातियो अर्थात् 'मपच्या'

 १४ जेठको मतगणनामा पुग्दा रेणुको मतान्तर घट्दै थियो। २९ मध्ये अब ३ वटा वडा (१९, २० र २१) को मत गन्न बाँकी छँदा रेणुले देवी ज्ञवालीसँगको मतान्तर ११ सय ४५ मा झारेकी थिइन्। कांग्रेस बलियो रहेको भनिएका यी वडामा ६५ प्रतिशतको हाराहारीमा मत रेणुलाई नआएको खण्डमा देवीको विजय पक्का थियो।  

वडा नम्बर २१ को मतगणना हुँदा रेणुले मतान्तर ७ सय ८४ मा झारिन्। १९ नम्बर वडाको १८ सय ९ मत गनिसकिएको थियो। एमालेका देवी ज्ञवालीले ४१ हजार ६ सय ४१ र माओवादी-कांग्रेस गठबन्धनकी रेणु दाहालले ४० हजार ९ सय ८ मत प्राप्त गरेका थिए। अर्थात् मतान्तर ७ सय ३३ थियो।  

तर, अचानक आइतबार मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना स्थगित भयो। मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आफू पिसाब फेर्न शौचालय गएको बेला मतपत्र च्यातिएको बताए। प्रहरीले दुईजना माओवादी केन्द्रका कार्यकर्ता र एकजना एमाले कार्यकर्तालाई पक्राउ गर्‍यो। सामाजिक सञ्जालमा मतपत्र च्यातिएको विषय छोटकरीमा 'मपच्या' का रुपमा चर्चामा रह्‍यो। घटनाक्रमहरूले माओवादी-कांग्रेस गठबन्धनले जसरी पनि चुनाव जित्ने योजनाअनुसार मतपत्र च्यातेको देखिए पनि यसको पुष्टि भने कतैबाट भएन। 

७) आ-आफ्ना माग

मतपत्र च्यातिएको विषयमा एमाले र माओवादी दुवै आरोप प्रत्यारोपमा उत्रिए। महानगर प्रमुखका एमाले उम्मेदवार देवी ज्ञवालीले कांग्रेस-माओवादी गठबन्धनले हार स्वीकार्न नसकेर मतपत्र च्यातेको बताए। माओवादीले भने मुख्य निर्वाचन अधिकृत बाहिर निस्किएको मौका छोपेर आफूहरुको पक्षमा परेको मत मसी लगाएर बदर गर्न थालेपछि तनाव उत्पन्न भएको दाबी गर्‍यो। पढ्नुस् : भरतपुरमा कांग्रेस र माओवादीले माग्यो पुन मतदान, एमालेको माग मतगणना

८) निर्वाचन आयोगको निर्णय

भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विषयमा अनुसन्धान गर्न बनेको निर्वाचन आयोगको छानबिन समितिले अनुसन्धान सुरु गर्‍यो।  आयोगले सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायव महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको समिति गठन गरेको थियो। 

यता, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानलका प्रमुख र उपप्रमुखका उम्मेदवारहरूले भने भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्न माग गरे। उनीहरुले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन पेस गरी मतपत्रको सुरक्षा गरी पुनः मतदानको माग गरे। उता, मतपत्र च्यातिएको विषयमा अनुसन्धान गर्न आयोगले गठन गरेको छानबिन टोलीले भने दुई दिन लगाएर १६ जेठका दिन जिल्लामा स्थलगत अध्ययन तथा अनुसन्धानको काम सकेको थियो। च्यातिएका मतपत्र जेठ १८ गते गणना हुँदा ९९ वटा मतपत्र च्यातिएको खुल्यो।

यता, त्यही दिन मतपत्र च्यातेको आरोपमा पक्राउ परेका माओवादी कार्यकर्ता धरौटीमा रिहा भए। यसैबीच, २० जेठमा निर्वाचन आयोगले भरतपुरमा पुनः मतदान गर्ने निर्णय गर्‍यो। निर्वाचन आयोगको निर्णयबाट असन्तुष्ट एमालेले आयोग माओवादीको मतियार बनेको आरोप लगायो।

आयोगको निर्णविरुद्ध एमालेसहित चितवनमा क्रियाशील ४ राजनीतिक दल सडकमा उत्रिए। भरतपुरमा भएको विरोध प्रदर्शनमा महानगर प्रमुखमा एमालेका उम्मेदवार देवी ज्ञवालीले ‘निर्वाचन आयोग सत्ताको प्रभावमा परेको’ आरोप लगाए। यसैबीच जिल्ला सुरक्षा समितिले चितवनका विभिन्न स्थान निषेधित क्षेत्र घोषणा गर्‍यो।

निर्वाचन आयोगको निर्णयपछि माओवादी केन्द्र र कांग्रेस गठबन्धन मतदाताकहाँ मत माग्न पुगिसकेको थियो भने एमाले सडकमै थियो। उसले मतगणनाकै माग गरिरहेको थियो।

९) सर्वोच्चमा मुद्दा र भरतपुरको छटपटी

वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध भरतपुर १९ का एमाले वडा सदस्य उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले २१ जेठमा मुद्दा दायर गरेपछि भरतपुर 'ड्रामा' झन् लम्बियो। २२ जेठदेखि १२ साउनसम्म उक्त मुद्दा पटक-पटक ‘हेर्दाहेर्दै’ मा पर्‍यो। ६ असारमा सर्वोच्चले सक्कल फाइल झिकाउन आदेश दिएको थियो। त्यसपछि भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्च अदालत पठाइयो। सर्वोच्चमा मुद्दा लम्बिँदा भरतपुरमा भने छटपटी थियो।

सम्बन्धित समाचारहरू 

१०. पुनः मतदान गर्ने सर्वोच्चको फैसला 

साउन १५ मा सर्वोच्च अदालतले पुनः मतदान गर्ने निर्वाचन आयोगकै निर्णयलाई सदर गरिदियो। सर्वोच्चको फैसला कांग्रेस-माओवादी गठबन्धनको मागअनुकूल थियो भने एमालेको माग प्रतिकूल। कतिपयले सर्वोच्चको फैसलालाई समेत निष्पक्ष नभएको बताए। यता, सर्वोच्चको फैसलालाई 'दुर्भाग्यपूर्ण' भनेको एमालेका लागि पुनः मतदानमा जानुबाहेक अर्को विकल्प थिएन। यो पनि पढ्नुस् : सर्वोच्चको फैसलाबारे के भन्छन् देवी–रेणु? ‘जनअदालतको फैसलाले न्याय दिने’ एमालेको विश्वास पनि त्यतिबेला चकनाचुर भयो जब झिनो मतान्तरले देवी ज्ञवाली प्रमुखमा पराजित भए।

११) देवीका छोरा पक्राउ

यसैबीच, भरतपुर महानगर प्रमुखका उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ज्ञवालीलाई १८साउनमा प्रहरीले पक्राउ गर्‍यो। प्रमुखकी उम्मेदवार रेणु दाहाललाई फेसबुकमा अश्लील गाली गरेको भन्दै उनका पति अनिलले ३ असारमा दिएको किटानी जाहेरीका आधारमा उनी पक्राउ परेका थिए। उनीविरुद्ध १ साउनमै साइबर क्राइमअन्तर्गत मुद्दा दायर भएको थियो। उनी भरतपुर महानगरपालिकामा पुनः मतदान हुनु अघिल्लो दिन धरौटीमा रिहा भए।

१२) पुनः मतदान र 'जनअदालत' को फैसला

 १७ साउनमा बसेको सर्वदलीय बैठकले २० गते महानगरको १९ नम्बर वडामा निर्वाचन गर्ने निर्णय गर्‍यो। र, वडा नम्बर १९ मा पुनः मतदान भयो। यो वडामा २ हजार ८ सय ७० मत खस्यो। अघिल्लोपटक रिसाएका कांग्रेसका नेता कार्यकर्ता र मतदाता ठन्डा भइसकेका थिए। त्यसको प्रभाव परिणाममा देखियो।

१९ र २० को मतगणना हुनुअघि २७ वटा वडाको परिणामअनुसार देवी ज्ञवालीलको ४० हजार ९ सय ८० र रेणु दाहालको ४० हजार १ सय ९४ मत थियो। वडा नम्बर १९ को मतगणना सुरु हुँदा रेणु र देवी बीचको मतान्तर ७ सय ८६ थियो। जब मतगणना सुरु भयो, अघिल्लोपटक भन्दा यसपटक रेणुलाई मत दिनेहरू बढेको स्पष्ट देखियो। उनले १९ नम्बर वडाको मतगणना सकिँदा मतान्तर २ सय २१ मा पुर्‍याइन्  २० को मतगणना हुँदा रेणुले २ सय ३ को झिनो मतान्तरले देवी ज्ञवालीलाई पराजित गरिन्।

१३) पहिलो महिला महानगर प्रमुख

पहिलो संविधानसभामा समानुपातिकतर्फबाट सभासद् बनेकी तर, दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा पराजित रेणु नयाँ संरचना अन्तर्गतको स्थानीय तहमा महानगर प्रमुखमा विजयी हुने पहिलो महिला भएकी छन्। भरतपुरले प्रमुखसँगै उपप्रमुख पनि महिला (पार्वती शाह) नै पाएको छ। उनीहरूको जोडीले भरतपुर महानगरवासीका लागि के कस्तो काम गर्नेछ, आउँदा दिनहरूमा देखिनेछ। प्रमुखमा निर्वाचित भएपछि उनले 'विकास निर्माणमा केन्द्रित हुने' भन्दै निरन्तर खबरदारी गर्न एमालेलाई आग्रह गरेकी छन्। 

अन्त्यमा

मतपत्र नच्यातिएको भए वा पुनः मतदान नभएको भए के हुन्थ्यो?  यो एउटा काल्पनिक प्रश्न हुन सक्छ तर, यो प्रश्नको जवाफ रेणुले महानगर प्रमुखका रुपमा पनि सधैं झेलिरहनुपर्ने छ। त्यसो नभएको भए सायद उनी महानगर प्रमुख नहुन सक्थिन्। वा, उनी अहिले देवी ज्ञवालीसँग पराजित भएर महानगरको प्रतिपक्षमा हुन सक्थिन्,यो काल्पनिक कुरा भयो। 

महानगर प्रमुख विजयी भएपछि उनले आफूलाई खबरदारी गर्न एमालेलाई आग्रह त गरेकी छन् तर, त्यो खबरदारीका लागि पनि एमालेले उनलाई जननिर्वाचित प्रमुखका रुपमा व्यवाहार गर्नुपर्ने हुन्छ। तर, रेणुको जितबारे उनका निकटतम प्रतिद्वन्द्वी देवी ज्ञवालीको प्रारम्भिक प्रतिक्रिया उनका लागि त्यति सुखद छैन। जितका लागि मतपत्र च्यातेको (मपच्या) दाग मेट्न पनि उनले एमालेको विश्वास जित्नुपर्ने हुन्छ। तर, यो काम सजिलो छैन। 

महानगर प्रमुखका रुपमा एमालेलाई 'कुल डाउन' बनाउन उनले कस्तो भूमिका खेल्छिन् र एमालेले उनलाई कसरी 'रेस्पोन्ड' गर्छ भन्ने हेर्न बाँकी छ। तर, जननिर्वाचित महानगर प्रमुखलाई शुभकामना दिनु देवी ज्ञवाली र एमालेजनहरूका लागि पनि उचित ठहर्छ। सायद देवी ज्ञवालीका लागि पनि यो सजिलो छैन। तर, यसबाहेक उनीसँग अर्को विकल्प पनि त छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.